३० जेठ २०८३, शनिबार
जीवनदर्शन

मानवपुर्खाको खोजी : हिन्दूपुराण र भूविज्ञानको समन्वयात्मक प्रयास

मंसिर १३, २०८२
काठमाडौं
मानवपुर्खाको खोजी : हिन्दूपुराण र भूविज्ञानको समन्वयात्मक प्रयास

भूवैज्ञानिक इतिहास, षडवेदाङ्गको एउटा अङ्ग तथा समय मापनको लामो एकाइलगायत कल्पका धेरै अर्थ छन् तर यहाँ समय मापनको लामो एकाइको अर्थमा लिइएको छ, जसमा भूगर्भको इतिहासदेखि मानवपुर्खाको इतिहाससमेत निहित छ ।

हिन्दूपुराणहरूमा उल्लेख भएअनुसार हालको समय श्वेतवाराहकल्पअन्तर्गत पर्दछ । एक कल्पलाई ब्रह्माजीको एक दिनको समय मानिन्छ, जसमा चार अर्व ३२ करोड वर्ष हुन्छ । ब्रह्माजीको रात्रिमान पनि त्यति नै लामो रहेको छ । यसअनुसार एक कल्प व्यतीत हुन वा ब्रह्माजीको एक अहोरात्र बित्न आठ अर्ब ६४ करोड वर्षको समय लाग्दछ, जसलाई १४ मन्वन्तरमा बाँडेर अध्ययन गर्ने गरिएको छ ।  

सत्य, त्रेता, द्वापर, कलि चारयुग मिलेर एक महायुग बन्दछ । यसमा सत्ययुगको आयु १७ लाख ९६ हजार वर्ष हुन्छ भने त्रेतायुगको आयु १२ लाख २८ हजार मानिएको छ । त्यस्तै द्वापरयुगको आयु आठ लाख ६४ हजार वर्ष र कलियुगको आयु चार लाख ३२ हजार वर्ष हुने गर्दछ । यी सबैलाई जोड्दा हुने  ४३ लाख २० वर्ष नै महायुगको युगमान हो । यसअनुसार हाल वर्तमान कल्पको २८औँ चतुर्युगी अर्थात् महायुगको समय चलिरहेको छ । एवंरीतले जब ७१ महायुग बित्छ तब वर्तमान सातौँ मन्वन्तरको समय सकिएर आठौँ मन्वन्तरको समय शुरू हुन्छ, जसलाई सावर्णि मन्वन्तरको समय भनिनेछ तर, हाल सातौँ मन्वन्तरकै २८औँ महायुगको समय चलिरहेकाले कल्पावसान हुन अझै ४३ महायुग व्यतीत हुन बाँकी देखिन्छ ।

यस कल्पको प्रथम मनुको नाम स्वायम्भू थियो । उनको शतरूपा रानीको तर्फबाट आकूति, प्रसूति, देवहूति तीन पुत्री तथा प्रियव्रत र उत्तानपाद दुई छोरा भएका थिए । आकूतिको विवाह रुचिऋषिको साथमा भएको थियो, जसबाट भगवान्ले यज्ञावतार लिएका थिए । माइली देवहूतिको विवाह कर्दम प्रजातिको साथमा भएको थियो, जसबाट भगवान्ले कपिलअवतार लिएका थिए । कान्छी प्रसूतिको विवाह ब्रह्मपुत्र दक्षप्रजापतिको साथमा भएको थियो । उनका १६ छोरी थिए, जसका सन्तानहरूले यस मन्वरतरका सृष्टिप्रक्रियालाई अघि बढाएका थिए । उनीपछि अग्निपुत्र स्वारोचिष नामका मनु भएका थिए । उनको समयमा भगवान्ले वेदशिरा ऋषिपत्नी तुषिताको गर्भबाट विभु अवतार लिएर ऋषिहरूलाई ब्रह्मचर्यव्रतको शिक्षा दिएका थिए ।

त्यस्तै तेस्रा मनु प्रियव्रतपुत्र उत्तम नामका थिए । उनको समयमा भगवान्ले धर्मपत्नी सूनृताको गर्भबाट सत्यसेन अवतार लिएर सत्यधर्मको प्रचार गरेका थिए । चौथो मनुको नाम तामस थियो, जो तेस्रा मनु उत्तमको सहोदर भाइ थिए । उनको पालामा भगवान्ले हरिमेधा ऋषिपत्नी हरिणीको गर्भबाट हरि अवतार लिएर गजेन्द्र मोक्षको लीला गरेका थिए । पाँचौँ रैवत नामका मनु भएका थिए, जो चौथा मनु तामसको सहोदर भाइमा पर्दथे । उनको पालामा भगवान्ले शुभ्र ऋषिपत्नी विकुण्ठाको गर्भबाट वैकुण्ठ अवतार लिएर वैकुण्ठलोकको रचना गरेका थिए । छैटौँ मनुको नाम चक्षुपुत्र चाक्षुष थियो । उनको समयमा भगवान्ले वैराजपत्नी सम्भूतिको गर्भबाट अजित अवतार लिएर समुन्द्र मन्थनको कार्यमा सघाएका थिए ।

छैटौँ मन्वन्तरको समय आध्यात्मिक दृष्टिले मात्र नभई भौगर्भिक र सांस्कृतिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । किनभने यति बेला यस्ता घटना भएका थिए कि जो वैदिक धर्मसंस्कृतिको  इतिहासमा अहिलेसम्म पनि कोशेढुङ्गा बनेर रहेको देखिन्छ । यिनका पहिलो कुरा त सृष्टिको विस्तार नै हो । यस अन्वन्तरका आदिम पुरुष वा मानव दक्षप्रजापति हुन्, जो प्राचीनबर्हीपुत्र प्रचेताहरूका पुत्र थिए । उनका ६० बहिनी छोरीहरू भएका थिए । दक्षप्रजापतिले उनीहरूको विवाह धर्म आदि विभिन्न व्यक्तिको साथमा गरिदिएका थिए । यीमध्ये १३ कन्याको विवाह कश्यपप्रजापतिको साथमा भएको थियो, जो मरीचिपुत्रको नामले चिनिन्थे । उल्लिखित १३ मध्ये जेठी दितीबाट हिरण्याक्ष, हिरण्यकशिपु, बज्राङ्ग, अन्धक आदि पुत्र भएका थिए । उनीहरू दितीपुत्र भएकाले उनीहरूका सन्तान दैत्यजाति कहलाए ।

माइली अदितीको गर्भबाट विवस्वान्, अर्यमा, पूषा, त्वष्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, इन्द्र आदि १२ पुत्र भएका थिए । उनीहरू अदितीका पुत्र भएकाले आदित्य कहलाए, जो अहिलेसम्म पनि द्वादशादित्यको नामले चिनिने गरेका छन् ।

त्यसैगरी दनुबाट शम्बर, नमुचि, पुलोमा, विप्रचिति, वृषपर्वा आदि पुत्र भएका थिए । उनीहरू दनुका पुत्र भएकाले तिनका सन्तान दानवजाति कहलाए । त्यसैगरी विनताबाट अरुण र गरुड आदि (पक्षिजाति) उत्पन्न भएका थिए भने कद्रुबाट तक्षकादि नागजातिको जन्म भएको थियो । एवंरीतले उनका काष्टा, घोराआदि अन्यपत्नीहरूबाट विभिन्न प्रजातिका पशुहरूजाति तथा वनस्पतिहरू उत्पन्न भएका थिए ।   

हालका मनु सूर्यपुत्र वैवस्वत हुन् । यस मन्वन्तरमा भगवान्ले कश्यप र अदितीबाट वामन अवतार लिएर बलिबाट त्रिलोकीको राज्य छिनी इन्द्रलाई फिर्ता गराएका थिए । त्यस्तै, आगामी आठौँ मनुको नाम सावर्णि हुनेछ । उनको समयमा भगवान्ले देवगुह्यपत्नी सरस्वतीको गर्भबाट सार्वभौम अवतार लिएर छैटौँ मन्वन्तरमा भएका इन्द्र पुरन्दरको हातबाट स्वर्गको राज्य छिनेर बलिलाई दिनेछन् । एवंरीतले बाँकी मनुहरूका समयमा पनि भगवान्ले एकएक अवतार लिएर त्यतिबेलाको स्थिति व्यवस्थापन गर्ने छन् । जब यसरी १४ मन्वन्तरको समय सकिन्छ तब वर्तमान श्वेतवाराहकल्पको समय सकिन्छ । त्यसपछिमात्र ब्रह्माजीको एक दिनको समय सकिन्छ र उनको रात्रि शुरू हुन्छ ।  जब रात्रि पनि व्यतीत हुन्छ तबमात्र अर्को कल्प वा ब्रह्माजीको दिन शुरू हुन्छ ।

एवंरीतले जब ब्रह्माजीको  १०० वर्षको आयु सकिन्छ तब महाप्रलय हुन्छ । यतिबेला स्वयं परब्रह्म परमात्मासमेत कालशक्तिलाई लिएर चिरनिद्रामा गएका हुन्छन् । जब उनको जागा हुने समय आउँछ तब सोही कालशक्तिले उनलाई जगाउँछ र पुन: अर्को सृष्टिको क्रम आउँछ । उनको शरीरबाट (विस्फोट भएर) पुन: अर्को ब्रह्माजी उत्पन्न हुन्छन् र अर्को ब्रह्माण्ड सृष्टि हुन्छ तर भरखर ब्रह्माजीको आयुको ५१औँ वर्षको पहिलो दिन शुरू भएकाले त्यो समय आउन अझै कति वर्ष बाँकी छ अनुमानै गर्न सकिन्न ।

तथापि सत्य के हो भने यो विशुद्ध पौराणिक भनाइ भएकाले श्रद्धा र विश्वाससम्म गर्न त सकिन्छ सत्यसम्म पुग्न भने सकिन्न । न मानवपुर्खाको इतिहास नै भेटिन्छ । यसका लागि त अझै धेरै भूवैज्ञानिक इतिहासको अध्ययन र अन्वेषणको आवश्यकता देखिन्छ । बाँकी आगामी अङ्कमा । अस्तु ।  

salt training

कमेन्ट गर्नुहोस्