
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि प्रतिद्वन्द्वी मलेसिया अत्यन्तै न्यून स्कोरमा समेटिएको छ ।
५० ओभरको उक्त खेलमा मलेसियाले नेपाललाई जितका लागि केवल ५२ रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको मलेसिया १७.२ ओभरमा केवल ५१ रन बनाउँदै अलआउट भयो ।
नेपाली टोलीका बलरसामु निरीह बनेको मलेसियाले तीन रनमै दुई विकेट गुमाएको थियो । त्यसपछि मलेसियाले पाँच रनमा तेस्रो, सात रनमा चौथो र आठ रनमा पाँचौं विकेट गुमायो ।
यसैगरी, मलेसिया १३ रनमा छैटौँ, १३ रनमै सातौँ, ३३ रनमा आठौँ, ३८ रनमा नवौँ विकेट र ५१ रनमा अन्तिम विकेट गुमायो ।
नेपाली टोलीका बलर नितेशकुमार पटेलले चार विकेट लिए । उनले आठ ओभरमा दुई मेडन राख्दै केवल २४ रन खर्चिए ।
चन्दन रामले पनि तीन विकेट हात पारे । उनले पाँच ओभरमा एक मेडन राख्दै १७ रन खर्चिए । अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले पनि एक/एक विकेट लिए ।
मलेसियाका लागि महजाह पानगी (१३ रन) मुहम्मद फाथुल मुइन (११ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके । यो खेल जितेमा नेपाल सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछ ।
नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । अर्को सेमिफाइनल आयोजक यूएई र ओमानबीच खेलिने छ ।
समूह चरणमा नेपालले लगातार दुई जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको थियो ।
नेपाली टोलीले आफ्नो दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो । यो प्रतियोगिता ५० ओभरको हो ।
१४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने प्रावधान रहेको छ ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।
तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ । यू–१९ एसिया कपको १२औं संस्करण आगामी डिसेम्बर १२ देखि २१ तारिखसम्म यूएईमै आयोजना हुँदैछ ।
यू–१९ एसिया कपमा सहभागी हुने आठमध्ये पाँच टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान यसअघि नै छनोट भएका हुन् ।