
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको दोस्रो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले साबिक उपविजेता सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी ईटनले ३९ रनको योगदान गरे ।
बलिङमा सुदूरपश्चिमका अविनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।
तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जित निकाल्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।
अङ्क तालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते ‘प्लेअफ’ दौडबाट बाहिरिने सम्भावना छ । यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ ।
आजको खेल जितेर सुदूरपश्चिम ‘प्लेअफ’मा स्थान सुरक्षित गर्न चाहन्छ ।
यसका साथै सुदूरपश्चिम गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदलासमेत लिने दाउमा छ । आजै भएको पहिलो खेलमा लुम्बिनीसँग पोखरा पराजित भएको थियो।