११ असार २०८३, बिहीबार
व्यवसायीको वीभत्स हत्या

जागिरबाट निकालेको रिसइबीमा व्यवसायीको हत्या, विदेश भाग्ने तरखरमा रहेका २ जना पर्साबाट पक्राउ

मंसिर १४, २०८२
काठमाडौं
जागिरबाट निकालेको रिसइबीमा व्यवसायीको हत्या, विदेश भाग्ने तरखरमा रहेका २ जना पर्साबाट पक्राउ

बाराको प्रसौनी गाउँपालिका- ६ स्थित भलुही चोकमा सञ्चालित किरण बेभरेज नेपाल प्रालिका म्यानेजर रामकिशोर सिंहको हत्यामा पुरानो रिसइबी मुख्य कारण रहको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले पर्सा प्रहरीको सहयोगमा सिंहको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । सिंहको शव घाँटी रेटेको अवस्थामा मंसिर १२ गते फेला परेको थियो ।

बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार सिंहको पानी कम्पनीमा पर्सा वीरगञ्जका राजनकुमार रामले सवारी चालकको काम गर्दै आएका थिए ।

गढीमाई मेलाका बेला रामले हाँकेको गाडीको क्लज प्लेट गएपछि सिंह र रामबीच झगडा भएको थियो ।

तत्कालीन समयमा रामले जागिर छाडेर गए पनि गत कात्तिक १ गतेदेखि मंसिर १० गतेसम्म पुन: कम्पनीमा चालककै रूपमा काम गरेका थिए ।

कम्पनीले पानीको बिक्री मूल्य एक सय १० रुपैयाँ तोके पनि रामले भने व्यक्तिगत मुनाफाका लागि पानीको मूल्य बढाएर एक सय १५ र एक सय २० रुपैयाँमा बजारमा बिक्री गर्दै आएका थिए । पानीको मूल्यमा हेरफेर गरेर बिक्री गरेको थाहा पाएपछि सिंहले रामलाई जागिरबाट निकालिदिएका थिए ।

सिंहले रामले काम गरेको समयको तलब समेत हिसाबकिताब गरेर पठाएका थिए । तर, आफूलाई जागिरबाट निकालेको भन्दै रामले रिसइबी साँध्ने मनसाय स्वरूप आफ्ना साथी वीरगञ्जकै प्रमोद साह तुरहासँग मिलेर सिंहको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एसपी कुँवरका अनुसार वीरगञ्जमा बसेर मदिरा सेवन गरी राम र तुरहाले सिंहको हत्या गर्ने योजना बनाएका थिए ।

यही मंसिर ११ गते राति साढे ८ बजे उनीहरू सिंहको हत्या गर्ने योजनाअनुसार धारिलो हतियार चक्कु लिएर पानी कम्पनी भित्र प्रवेश गरेका थिए । घर भित्र बसिरहेका सिंहलाई उनीहरूले चक्कु र इँटा प्रहार गरेर वीभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले राम र तुरहालाई पर्सा प्रहरीको सहयोगमा छिपहरमाई गाउँपालिका–५ भिस्वाको नाकाबाट भारततर्फ जाने क्रममा पक्राउ गरेको एसपी कुँवरले बताए ।

‘सिंहको वीभत्स हत्यापछि हाम्रो टिम निरन्तर अनुसन्धानमा जुट्यो, १६ घण्टामै हत्या आरोपी पक्राउ गर्न सफल भयौं,’ एसपी कुँवरले लोकान्तरसँग भने, ‘व्यक्तिगत दुस्मनीले हत्यासम्मको रूप लिएको अनुसन्धानबाट पुष्टि भएको छ ।’

पक्राउ परेका राम र तुरहाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको कुँवरले जानकारी दिए ।

प्रहरीले सिंहको हत्यामा प्रयोग भएको फलामको छुरी र रगत लागेको इँटा समेत बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्