२८ जेठ २०८३, बिहीबार
कांग्रेसमा सहमतिको भित्री कथा

देउवाले फेरि कलंक बोक्न तयार छैन भनेपछि जुट्यो सहमति, अनि बन्यो महाधिवेशन तालिका

मंसिर १६, २०८२
काठमाडौं
देउवाले फेरि कलंक बोक्न तयार छैन भनेपछि जुट्यो सहमति, अनि बन्यो महाधिवेशन तालिका

करिब डेढ महिना लामो रस्साकस्सीपछि सोमबार कांग्रेसले महाधिवेशनको मिति टुङ्ग्यायो । यसबीचमा  पटक-पटक बैठक सर्दै, बस्दै गर्‍यो । पार्टीभित्रका दुई समूहले विभिन्न बैठक, छलफल र भेला गरे । एकअर्कामाथि दबाब बढाइराखे । 

कतिपयले कांग्रेस विभाजनको बाटोमा अघि बढेको भनेर समेत टिप्पणी गरे । कतिसम्म भने उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि सिंगापुर गएका देउवा आफ्नो निर्धारित समयअघि नै फर्किनुपर्ने अवस्था बन्यो । र, फर्किएलगत्तै पार्टीभित्रको विवाद मिलाउन क्रियाशील बने । 

फलतः सोमबार कांग्रेसले आउँदो पुस २६-२८ सम्म गर्नेगरि १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुटायो । जसको भित्री कथा रोचक छ । 

कार्यवाहक सभापति खड्काले महामन्त्री विश्वप्रकाश शर्मासँग बसेर आइतबार पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका बनाएका थिए । 

पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाउँदा सभापति शेरबहादुर देउवाका विश्वासपात्र रमेश लेखक र पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि सँगै थिए । 

महाधिवेशनको मिति र कार्यतालिका निर्माण गर्ने समयमा नेता शेखर कोइराला तथा अर्का महामन्त्री गगन थापा मात्र होइन नेताहरू विमलेन्द्र निधि‚ कृष्णप्रसाद सिटौला भने थिएनन् । बिहीबारदेखि शुक्रबारसम्म सभापति देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा यी सबै नेता सहभागी थिए ।

पुस मसान्तमा नियमित महाधिवेशन हुने सहमति भयो भन्ने सूचना बाहिरिएकै समयमा मध्यबानेश्वरमा अर्को भेला चलिरहेको थियो । सभापति देउवा पक्षका ७० बढी केन्द्रीय सदस्य उक्त भेलामा सहभागी थिए । देउवा पक्षको बटमलाइन आउँदो वैशाखमा मात्रै पार्टीको नियमित महाधिवेशन गर्नु रहेको थियो । तर‚ आफ्नै समूहमा छु भन्ने आश्वासन दिएर कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले सभापति देउवा र आफूहरूलाई झुक्याएको भेलाले निष्कर्ष निकाल्यो । भेलाले पुसमा महाधिवेशन गर्ने कार्यतालिका आए भोटिङ प्रक्रियामा लैजाने र निर्णयार्थ प्रस्तुत गर्दा कार्यतालिका फेल गराइदिने निर्णय गर्‍यो । 

बहुमत सदस्य रहेको संस्थापन पक्षले उक्त निर्णय गर्नेबित्तिकै कार्यवाहक सभापति खड्का हच्किए । महिना दिन बढी बैठक बसेर जसोतसो महाधिवेशन मिति र कार्यतालिकामा सहमति गराएको भन्दै आफ्नो समूहलाई मनाउने दबाबमा परे । आइतबार टेलिफोन सम्पर्क र एक/दुई नेता भेटेर संवाद गर्दै दिन बित्यो । 

सोमबार बिहानैबाट बैठक अघि बढे । कार्यवाहक सभापति खड्काले आफ्नै समूहका नेताहरूलाई अप्रिय निर्णयबाट पार्टी बचाउन भन्दै अनुरोध गरे । दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्नुअघि खड्काले बिहान वैशाखमा महाधिवेशन गर्नुपर्छ भन्ने पक्षसँग केही बेर संवाद गरे । त्यसपश्चात् देउवा समूहका पदाधिकारीसहित कार्यवाहक सभापति खड्का पार्टी कार्यालयमै छलफलमा बसे । उक्त बैठकमा खड्काले आफ्नो बाध्यता सुनाए । साथै, उनले उक्त कार्यतालिका आफूले सभापति देउवाकै निर्देशन र परामर्शमा ल्याएको पनि बताए ।

उक्त बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार छलफलमा कार्यवाहक सभापति खड्काले महाधिवेशनका लागि आवश्यक सबै काम सभापति देउवाको निर्देशन र अन्य पदाधिकारीहरूको सल्लाहमा आफूले गर्नेगरि सहमति गराएको बताएका थिए । साथै, उनले उक्त छलफलमा महाधिवेशनको प्रस्ताव आफैंले टेबल गराउने‚ क्रियाशील सदस्यता समिति मात्र होइन विधान परिमार्जन समिति लगायत महाधिवेशनका लागि आवश्यक सम्पूर्ण समितिको निर्णय सर्वसम्मत हुनुपर्ने गरी लिखित रूपमा सहमति गराउने वचन दिए । 

‘एक जनाले मात्रै आपत्ति र विमति जनाए कुनै पनि समितिको निर्णय मान्य नहुने गरी सहमति गराउँछु भन्नुभयो‚’ ती नेताले भने । 

बैठकमा खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता गराउनेगरि आफूले प्रयास गरिरहेको पनि बताएका थिए । ‘सभापतिज्यूले पनि अब धेरै यसरी नजानु यसलाई मिलाउनुपर्छ भन्नुभएको छ । तपाईंहरूले मलाई अविश्वास नगर्नुहोस् भनेर उहाँले भन्नुभयो‚’  ती नेताले थपे । 

त्यसपश्चात् वैशाखमा महाधिवेशन गर्नेगरि सहमहामन्त्री महेन्द्र यादवले राखेको प्रस्ताव के हुन्छ भन्ने प्रश्न उठ्यो । जवाफमा कार्यवाहक सभापति खड्काले महामन्त्रीले पनि प्रस्ताव राखेको भन्दै दुवै प्रस्ताव फिर्ता नलिने गरी आफूले वातावरण बनाउने बताएका थिए । 

‘उहाँहरूलाई पनि प्रस्ताव राख्न दिन्न तपाईंहरू पनि नबोल्नुहोस् । म महाधिवेशनको प्रस्ताव आफैं पढ्छु भनेर उहाँले भनेपश्चात् हामी तयार भयौं‚’ ती नेताले थपे 

जब देउवाले भावुक हुँदै कलंक बोक्न चाहन्नँ भने.. 

कार्यवाहक सभापति खड्काले त्यति वचन दिएपश्चात् नेताहरूले सभापति शेरबहादुर देउवाको ‘कन्फरमेसन’ खोजेका थिए । खड्कासँग संवाद गरेर उनीहरू देउवा निवास गएको अर्का एक नेता बताउँछन् ।  कृष्ण सिटौला, विमलेन्द्र निधि‚ गुरू बराल‚ कुन्दन काफ्लेसहितका नेताहरू केन्द्रीय समिति बैठक बस्नुअघि देउवा निवास पुगेका थिए ।

निवासमा पुगेका नेताहरूलाई सभापति देउवाले सबैको सहमतिमा कार्यतालिका आएको भन्दै त्यसलाई असफल बनाउने काममा नलाग्न निर्देशन दिए । देउवाले पार्टी विभाजनको अवस्थाबाट महाधिवेशनको विषयमा सहमतिको मध्यमार्गी बाटोमा अघि बढेको भन्दै कार्यतालिका नमान्ने र परिस्थितिलाई बिग्रन नदिन अनुरोध गरेका थिए । देउवासँग केही समय संवाद भएपश्चात् नेताहरू कार्यवाहक सभापति खड्काले ल्याएको तालिका पास गर्न तयार भएका थिए ।

‘तपाईंकै विश्वास र भरोसामा हामी समर्थन गर्छौं भनेर हिड्यौं‚’ बैठकमा पुगेका निधिले भने । 

बैठकमा सहभागी अर्का एक नेताका अनुसार सभापति देउवासमक्ष नेताहरूले पुसमा तालिका ल्याए पनि विशेष महाधिवेशन पक्षधरले जुनसुकै हर्कत गरेर भएपनि विशेष महाधिवेशन गरिछाड्ने बताएका थिए । तुरुन्तै देउवाले झर्किएर जवाफ फर्काउँदै कसरी गर्छन् भन्दै प्रश्न गरेका थिए । 

‘हामीले बेलिविस्तार सुनाएपश्चात् देउवा फेरि झसङ्ग हुनुभयो’, देउवाको भनाइ उदृत गर्दै ती नेताले भने‚ ‘अहिलेलाई एउटा म्यासेज दिनुपर्छ । तालिका ल्याएर अघि बढौं । विशेष महाधिवेशन गरेछन् र निहुँ खोजेछन् भने जे आउँछ त्यसलाई फेस गरौँला ।’

त्यसपछि देउवाले अलि भावुक हुँदै आफू जीवनको उत्तरार्धमा आइपुगेको र पार्टी मिलेर अघि बढोस् भन्ने चाहेको बताए । देउवाले पुनः पार्टी विभाजनमा जाने र कसैले पार्टी छाडेर जाने कुराको आरोप आफूलाई नलागोस् भन्ने चाहेको पनि सुनाएका थिए ।  

‘म रिटायर्डमेन्ट लिँदैछु । यही बेलामा पार्टी विभाजन भयो भन्ने म्यासेज नजाओस् भन्ने चाहेको हो भन्दै उहाँ भावुक हुनुभयो‚’ ती नेताले थपे । 

देउवाले आफू यसरी लचक भएर अघि बढ्दा पनि कोही कसैले विशेष भन्दै पार्टीमा विभाजन गर्न आउँछ भने फेस गरेर जाने पनि बताएका ती नेताले जानकारी दिए ।

‘एकपटक कांग्रेस विभाजन भयो । त्यसको दोष सधैँ मैले बोक्नुपरेको छ । दुई पटक पुनः पार्टी विभाजनमा लैजानु हुँदैन । त्यसको कलंक म बोक्न सक्दिनँ भन्ने आशय उहाँले प्रस्तुत गरेपश्चात् हामीले बाध्य भएर सबै कुरा मान्न तयार भयौं‚’ ती नेताले भने‚ ‘हामी जति उफ्रिए पनि उहाँ (देउवा)ले नै नचाहेपश्चात् त कसको के लाग्यो र ! मान्नुको विकल्पनै रहेन नि ।’

त्यसपछि देउवासँग संवाद गर्न पुगेका नेताहरू धुम्बाराहीबाट निस्केर पार्टी कार्यालय सानेपा लागेका थिए । सानेपामा पटक-पटक स्थगन हुँदै आएको बैठक सोमबार भने आधा घण्टा जति चलेको थियो । कार्यवाहक सभापति खड्काले लिखित भाषण पढ्दै महाधिवेशन कार्यतालिका निर्णयार्थ प्रस्तुत गरे । 

सधैँ महामन्त्रीले बैठकमा प्रस्ताव प्रस्तुत गर्ने भए पनि सोमबारको बैठकमा भने कार्यवाहक सभापति खड्का आफैंले प्रस्ताव प्रस्तुत गर्दै पुस २६ देखि २८ सम्मको महाधिवेशन कार्यतालिका गरे, जुन बैठकले पास गर्‍यो  । 

जसमा विशेष महाधिवेशन पक्षधरहरूले भने ‘कन्डिसनल’ स्वीकारोक्ति भनेका छन् । पुसमा भए नियमित नभए विशेष महाधिवेशन गर्नुपर्छ भन्दै आएका नेता मधु आचार्यले बाहिर शंका गरिएजस्तै नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन स्वतः सक्रिय हुने बताए । त्यसैले आफूहरूले हस्ताक्षर फिर्ता नलिएको उनको भनाइ छ । 

‘यसलाई कन्डिसनल स्वीकारोक्ति भने पनि हुन्छ । कार्यतालिका अनुसार महाधिवेशन गर्न हामी दिलोज्यान लगाएर काम गर्छौं‚’ आचार्यले भने‚ ‘तर‚ यदि बदनियत राखेर पुस मसान्तमा नगरेर महाधिवेशन सार्ने, भाँड्ने काम भयो भने स्वतः विशेष महाधिवेशनको बाटोमा पार्टी अघि बढ्छ।’

salt training

कमेन्ट गर्नुहोस्