०६ साउन २०८३, बुधबार

दक्षिण कोरियामा लगातार मूल्यवृद्धि

मंसिर १६, २०८२
काठमाडौं
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि

दक्षिण कोरियामा नोभेम्बर महिनामा उपभोक्ता मूल्य वृद्धि दर २.४ प्रतिशत पुगेको छ, जसले लगातार तेस्रो महिनासम्म दुई प्रतिशतभन्दा माथिको स्तर कायम गरेको छ । तथ्याङ्क मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा स्थानीय मुद्रा अमेरिकी डलरसमक्ष कमजोर बन्दै गएपछि मूल्यवृद्धिमा थप चाप परेको उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.४ प्रतिशतले बढेको छ । यसअघि जुलाईमा २.१ प्रतिशत र अगस्तमा २.४ प्रतिशत वृद्धि दर्ता भएपछि हालको वृद्धिले केन्द्रीय बैङ्कले निर्धारण गरेको दुई प्रतिशत लक्ष्यभन्दा माथिको अवस्था निरन्तर कायम गरिरहेको छ ।

मूल्यवृद्धि उच्च हुनुको प्रमुख कारण दक्षिण कोरियाली वोनको तीव्र अवमूल्यन रहेको बताइन्छ । यसका कारण तेलजन्य वस्तु तथा केही आयातित खाद्यवस्तुको मूल्य उल्लेख्य रूपले वृद्धि भएको छ । अक्टोबर अन्त्यमा विनिमय दर एक डलर बराबर एक हजार ४२४.४ वोन पुगेको थियो, र नोभेम्बर २१ मा दिनको कारोबारका क्रममा एक हजार ४७६.० वोनसम्म पुग्दै अप्रिल ९ पछि अहिलेसम्मकै उच्च स्तरमा पुगेको थियो ।

तेलजन्य वस्तुको मूल्य ५.९ प्रतिशत वृद्धि भएको छ, पेट्रोल ५.३ प्रतिशत र डिजेल १०.४ प्रतिशतले महँगिएको पाइएको छ ।

प्रशोधित खाद्यवस्तुको मूल्य ३.३ प्रतिशतले बढ्दा समग्र मूल्यवृद्धिमा ०.२८ प्रतिशत अंकले थप प्रभाव परेको मन्त्रालयले जनाएको छ ।

कृषि, पशुपालन तथा मत्स्यजन्य वस्तुको मूल्य वृद्धि दर ५.६ प्रतिशत दर्ता भएको छ, जुन अघिल्लो महिनाको ३.१ प्रतिशतभन्दा उल्लेख्य रूपमा उच्च हो ।

दैनिक उपभोग्य सामग्री मूल्य सूचकाङ्क नोभेम्बरमा २.९ प्रतिशतले उकालो लागेको छ भने माछा,फलफूल तथा तरकारीजस्ता ताजा खाद्यवस्तुको मूल्य ४.१ प्रतिशतले बढेको देखिएको छ ।

कमेन्ट गर्नुहोस्