
अष्ट्रेलियाली सरकारले उद्योग, अनुसन्धानकर्ता, सरकारी निकाय तथा सर्वसाधारणलाई कृत्रिम बुद्धिमत्ता (एआई) सुरक्षित र लाभदायक रूपमा प्रयोग गर्न मार्गदर्शन प्रदान गर्ने उद्देश्यले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता योजना सार्वजनिक गरेको छ ।
यस योजनाअनुसार सरकारले कृत्रिम बुद्धिमत्ताको प्रभावमा पर्ने कामदारलाई पुनःसीप विकासका अवसर उपलब्ध गराउने, तथ्य–केन्द्रमा लगानी बढाउने र प्रविधिबाट प्राप्त हुने उत्पादकत्वका फाइदाहरू अर्थतन्त्रका सबै क्षेत्रमा समान रूपमा वितरण गर्ने बताएको छ ।
उद्योग, नवप्रवर्तन तथा विज्ञानमन्त्री टिम एयर्सले नैसर्गिक रूपमा तीव्र गतिमा विकसित हुँदै गएको कृत्रिम बुद्धिमत्ता प्रविधिका बीचमा अष्ट्रेलियाली जनताको सुरक्षालाई सबैभन्दा ठूलो प्राथमिकता दिन यो योजना तयार गरिएको बताए ।
उनका अनुसार सन् २०२६ देखि सरकारद्वारा स्थापित गरिन लागिरहेको कृत्रिम बुद्धिमत्ता सुरक्षा संस्थानले नयाँ प्रविधिगत क्षमताको मूल्यांकन गर्ने र जोखिम देखापरेमा समयमै आवश्यक कदम चाल्न सहयोग पु-याउनेछ ।
एयर्सले,“राष्ट्रिय कृत्रिम बुद्धिमत्ता योजनाको उद्देश्य प्राविधिक प्रणालीले मानिसलाई होइन, मानिसले प्राविधिलाई मार्गनिर्देशन गर्न सक्ने वातावरण तयार गर्नु हो,” भन्दै योजनाको मूल भावना स्पष्ट पारे ।