०९ साउन २०८३, शनिबार
नयाँ शक्तिको पुरानै खेल

एउटै ‘भोट बैंक’मा दुई दलको लुछाचुँडी : हर्कले खनेको बाटोमा कुलमानको कर्के नजर

मंसिर १७, २०८२
विराटनगर
एउटै ‘भोट बैंक’मा दुई दलको लुछाचुँडी : हर्कले खनेको बाटोमा कुलमानको कर्के नजर
पृष्ठभूमिमा हर्क साम्पाङको सभामा जम्मा भएको भीड । तस्वीर : साम्पाङको फेसबुकबाट ।

पुराना राजनीतिक दलको विकल्प भन्दै उदाउन खोजिरहेका ‘नयाँ शक्ति’हरू आपसमै भिड्न थालेका छन् । पुरानालाई टक्कर दिन भन्दै एकपछि अर्को नयाँ दलहरू दर्ता भैरहेका छन् । अनि चुनावको मिति नजिकिँदै जाँदा उनीहरू आपसमै भिड्न थालेका हुन् ।

सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको नारा दिएर उदाएका दुई शक्ति– धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ र अन्तरिम चुनावी सरकारका मन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ अहिले आपसमै भिड्ने अवस्थामा पुगेका छन् । राजनीतिकरूपमा फरक–फरक झण्डा बोके पनि भित्री रूपमा यी दुवै शक्ति एउटै ‘भोट बैंक’मा लुछाचुँडी गरिरहेका छन् ।

कोशी प्रदेशका मतदातालाई अघि–अघि हर्क साम्पाङ र पछि–पछि घिसिङले फकाइरहेका छन् । हर्क साम्पाङले अघिअघि कार्यक्रम गरेका स्थानमा पछि कुलमान पुग्ने गरेका छन् । दुवैको कार्यक्रममा भने सहभागी एउटै अनुहारका छन् ।

हर्क साम्पाङले आफ्नो आक्रामक शैली र श्रम संस्कृतिको नाराले जुन जनमत आकर्षित गरेका थिए, कुलमानको पार्टी तिनै अनुहारहरूलाई आफ्नो कित्तामा पार्न तल्लीन देखिएको हो ।

इलाम–२ को गत उपनिर्वाचनको तुष अहिले छताछुल्ल भएको छ । हर्क साम्पाङले सामाजिक सञ्जालमा ‘म इलाम नगएको भए डकेन्द्र सिंह थेगिमको २०० भोट पनि कट्दैन थियो’ भन्दै १२ हजार मतको जस आफूले लिन खोजेका थिए । थेगिमले साम्पाङको यो दाबीलाई ‘राजनीतिक अपरिपक्वता र चरम दम्भ’को संज्ञा दिएका छन् ।

नेता थेगिमले साम्पाङको दाबीलाई ठाडै अस्वीकार गर्दै भनेका छन्, ‘झन्डै १२ हजार मत मेरो कारणले आयो भन्नु उहाँको दम्भ मात्रै हो । मसँग ४१ वटा घटकको समर्थन थियो, डा. बाबुराम भट्टराईदेखि स्वागत नेपालसम्मको साथ थियो । दुई–चार ठाउँमा भाषण गर्दैमा सबै भोट आफ्नै कारणले आएको ठान्नु हर्कजीको ठूलो भूल हो ।’ 

इलामको उपनिर्वाचनमा थेगिमले उम्मेदार थिए । उप र्निाचनमा एमालेका सुहाङ नेम्बाङले २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए भने थेगिमले ११ हजार ४५७ मत मात्रै ल्याएका थिए ।

उनले साम्पाङको सामाजिक सञ्जाल मोह र बोलीमा लगाम नभएको भन्दै कडा टिप्पणीसमेत गरेका छन्  । सानो कुरालाई पनि बढाइचढाइ गर्ने, जे पनि फेसबुकमा लेखिहाल्ने र आफूलाई नै केन्द्रमा राख्ने साम्पाङको बानीले आम मानिस र शुभेच्छुकहरू उनीसँग ‘वाक्क–दिक्क’ भइसकेको थेगिमको विश्लेषण छ ।

null

स्वतन्त्र मेयरको रूपमा कोशी खानेपानी आयोजनामा सहयोग पुर्‍याएको भन्दै आफूले सम्मान गरेर इलाम बोलाएको भए पनि साम्पाङले त्यसलाई आफ्नो लोकप्रियताको मापन बनाएर दम्भ देखाएकोमा थेगिमले असन्तुष्टि पोखेका छन् ।

थेगिमले एमाले, कांग्रेस र माओवादीबाट वाक्क मतदाता र पहिचानवादी शक्ति नै आफूहरूको मुख्य आधार भएको बुझेका छन् । ‘अरू पार्टीहरू त ठीकठिकै छन्, तर पूर्वमा हर्कजीको श्रम शक्ति र कुलमानजीको उज्यालो नेपाल पार्टीबीच सहकार्य हुनु अनिवार्य छ,’ थेगिमले भने

मैदानमा हेर्दा पनि अवस्था त्यस्तै छ । श्रम संस्कृति पार्टीका नेताहरू आफूहरूले खनजोत गरेको जमिनमा उज्यालो नेपाल पार्टीले आँखा लगाएको आरोप लगाउँछन् । श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य शान्ति पाख्रिन लामाका अनुसार, उज्यालो नेपाल पार्टीले तिनै आदिवासी जनजाति कार्यकर्तालाई तारो बनाएको छ, जसलाई हर्क साम्पाङले संगठित गरेका थिए । ‘कुलमानजीलाई यहाँका केही पहिचानवादी नेताले प्रयोग मात्र गरिरहेका छन्, हाम्रो जनाधार चोर्ने प्रयास भइरहेको छ,’ लामाले भनिन् ।

कोशीमा नयाँ शक्तिहरू जनताको एजेन्डाभन्दा पनि कार्यकर्ता तानातानको पुरानै संसदीय खेलमा फसेका छन् । ‘सिस्टम’ बसाल्ने र सुशासन ल्याउने भन्दै राजनीतिमा होमिएका कुलमानको नैतिकतामाथि पनि संवैधानिक र नैतिक प्रश्न उठेको छ । अन्तरिम चुनावी सरकारको बहालवाला मन्त्री रहेकै अवस्थामा दल खोल्ने र उम्मेदवारी दिने घिसिङको तयारीलाई संविधानविद्हरूले ‘सुशासन र सु–निर्वाचन’को धज्जी उडाउने खेल भनेका छन् ।

संविधानविद् भीमार्जुन आचार्यले यो प्रवृत्तिलाई कडा शब्दमा आलोचना गरेका छन् । ‘जो आफैंमा निर्वाचन सरकार हो, त्यस्तो सरकारका मन्त्री वा प्रधानमन्त्री नै झन्डा हल्लाउँदै पदसहित निर्वाचनमा उठ्ने हो भने सरकारले भन्ने गरेको सुशासन र सु–निर्वाचन कहाँ जान्छ ?’ आचार्यले प्रश्न गरेका छन्, ‘संकट मोचनको रूपमा जेनजी आन्दोलनको जनादेशलाई वैधताको स्रोत मानेर गठन भएको सरकारका मन्त्रीले मन्त्रिमण्डललाई आफ्नो धन्दा चलाउने प्लेटफर्मको रूपमा प्रयोग गर्न मिल्छ ? यदि यस्तै हो भने यो सरकारले हिजोका सत्ताधारी दललाई प्रश्न गर्ने नैतिक र राजनीतिक शक्ति कहाँबाट पाउँछ ?’

जेनजी आन्दोलनको बलमा बनेको सरकारका मन्त्रीले पदको दुरुपयोग गर्दै दल खोल्नुले उनीहरू पुराना दलभन्दा फरक नदेखिएको विश्लेषण भैरहेको छ ।

null

सोमबार मात्रै मन्त्री मुलमान घिसिङले मोरङको बेलबारीमा मन्त्री पद नत्यागी चुनावी मैदानमा उत्रिने बताएका थिए । थेगिमले भने घिसिङको बचाउ गरेका छन् । उनले विगतमा पनि अन्तरिम सरकारका प्रधानमन्त्रीहरूले चुनाव लडेको नजिर पेस गर्दै घिसिङले ‘नोमिनेसन’पछि मात्र राजीनामा दिने बताए ।

उदाउँदै गरेका यी दुई शक्ति हर्क र कुलमान जनताको एजेन्डा स्थापित गर्नुभन्दा पनि एकले अर्कालाई सिध्याउने, जस लिने र पदको शक्ति देखाउने होडबाजीमा लाग्दा दुवैको राजनीतिक भविष्य र विश्वसनीयतामाथि प्रश्न खडा भएको छ । हर्क पनि पछिल्लो समय कुलमानतिर खनिन थालेका छन् । साम्पाङले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङको बोली र व्यवहारमा विरोधाभास देखिएको भन्दै कडा आलोचना गरेका छन् ।

आफूले जनतालाई ढाँटेर राजनीति नगर्ने जवाफ दिएको बताउँदै साम्पाङले घिसिङलाई केही अवसरवादी समूहले प्रयोग गरिरहेको आरोपसमेत लगाएका छन् । घिसिङलाई अगाडि सारेर स्वार्थ समूहले राजनीतिक फाइदा लिन खोजेको उनको टिप्पणी छ ।

salt training

कमेन्ट गर्नुहोस्