०९ साउन २०८३, शनिबार

प्रेम राई, रमेश लेखक र आरजुसहित १० जनालाई विशेष सुरक्षा दिन प्रहरीको परिपत्र

मंसिर १८, २०८२
काठमाडौं
प्रेम राई, रमेश लेखक र आरजुसहित १० जनालाई विशेष सुरक्षा दिन प्रहरीको परिपत्र

प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना विशिष्ट व्यक्तिलाई विशेष सुरक्षा दिन मातहत निकायलाई परिपत्र गरेको छ ।

आयोगका प्रमुख आयुक्त राई, आयोगकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल आयल निगमका पूर्वप्रमुख गोपालबहादुर खड्का, पूर्वगृहमन्त्रीहरू रमेश लेखक र बालकृष्ण खाँणलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीले सतर्कता बढाउन मातहत निकायलाई परिपत्र गरेको हो ।

प्रहरी प्रधान कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, पूर्वपरराष्ट्र मन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवालाई पनि विशेष सुरक्षा दिन भनेको छ ।

उनीहरूको निवासस्थान, भ्रमणमार्ग तथा कार्यक्रमस्थलमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन तथा कथित उग्रवादी समूहको गतिविधिका बारेमा खबर संकलन गर्न समेत भनिएको छ । 

साथै, काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गतका विभिन्न प्रहरी युनिटको क्षेत्रभित्र पर्ने अन्य विशिष्ट व्यक्तिको समेत प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन भनिएको छ । 

केही दिनअघि मिति उल्लेख नगरी दुई पृष्ठ लामो पत्र सार्वजनिक भएको थियो । निकै शंकास्पद र गम्भीर विषय उल्लेख गरिएको पत्र सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय चनाखो भएको हो । 

धम्कीसहितको उक्त पत्र आएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको एक उच्च प्रहरी अधिकारीले बताए ।  अवाञ्छित व्यक्ति/समूहले आतंक सिर्जना गर्न यस्तो गरेको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

यद्यपि, अहिले सबै विषय अनुसन्धानमा रहेकाले धेरै भन्न नमिल्ने ती प्रहरी अधिकारीले बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्