
गतिशील लोकतान्त्रिक पार्टीले आगामी चुनावमा देशभरका सबै १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा गरेको छ। पार्टीले ११० समानुपातिक सीटतर्फ पनि उम्मेदवार चयन गर्ने तयारी थालिएको जनाएको छ ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्राध्यापक समेत रहेका पार्टी अध्यक्ष दिनेश प्रसाईंले युवा र दक्ष व्यक्तिलाई प्राथमिकता दिएर उम्मेदवार उठाउने बताए ।

‘हामी १६५ वटै क्षेत्रमा सक्षम र प्रतिबद्ध उम्मेदवार प्रस्तुत गर्दैछौं। समानुपातिकतर्फ पनि ११० जनालाई स्थान दिनेछौं,’ प्रसाईंले भने, ‘लोकप्रियतामात्र होइन, क्षेत्रगत आवश्यकता र काम गर्न सक्ने क्षमता मुख्य आधार हुनेछ ।’
पार्टीले सुदूरपश्चिम प्रदेशको जलस्रोत, पूर्वाधार र पर्यटनको समग्र विकासका लागि आफ्नो अवधारणा पनि सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार यस क्षेत्रमा जलस्रोतको अपार सम्भावना रहेकाले यसको उचित सदुपयोग, पूर्वाधार विस्तार र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिनेछ ।
‘हामीले ठूला ठूला कार्यक्रममा जानुभन्दा विषयगत र एजेन्डामा फोकस भएर कार्यक्रम गरिरहेका छौं । प्रत्येक प्रदेश तथा क्षेत्रमै गएर कार्यक्रम गरिरहेका छौं’, अध्यक्ष प्रसाईंले भने, ‘हाम्रो फोकस जनता र जनतासँग जोडिएको जीवनस्तरमा सुधार हो । त्यसैले हामी हरेक क्षेत्रमा गएर कार्यक्रम गरिरहेका छौं ।’
सुदूरपश्चिमले दशकौंदेखि पश्चिम सेती जलविद्युत आयोजनाबाट निरासा मात्रै पाएको केन्द्रीय सदस्य तथा जलविद्युत क्षेत्रका विज्ञ सतिस जोशीले बताए । ३० वर्षको निरासालाई ३० वर्षको आशामा बदल्नु पर्ने उनको भनाइ छ ।
‘वर्षौंदेखि हाम्रो निर्यात सीमाले निर्धारण गर्दथ्यो, अहिले डिजिटल युगमा हाम्रो दायरा बढाउनुपर्छ । हाम्रो समस्या उत्पादन होइन, वितरणमा हो । त्यसैले हामीले त्यसमा पनि फोकस गरेका छौं ।’
यसअघि पार्टीले भैरहवाबाट पर्यटन सम्बन्धी निति ‘नेपाल पर्यटन दृष्टि २०३५’ सार्वजनिक गरिसकेको छ । यसका साथै पार्टीले आगामी १० वर्षमा ३० लाख नेपालीलाई रोजगारी सिर्जना गर्ने कृषि योजनाको अवधारणा पनि सार्वजनिक गरिसकेको छ ।
हरेक प्रदेशबाट घोषणापत्रका लागि कार्यक्रम गर्दै सुझाव/सल्लाह संकलन गरिरहेको छ । पर्टीले आफूलाई नौलो र गतिशील लोकतान्त्रिक बनाउनका लागि हरसम्भव प्रयत्न गरिरहेको जनाएको छ ।
हवाई क्षेत्रका लागि विशेष एजेन्डा तथा कार्यक्रम भैरहवामा, पर्यटन क्षेत्रका लागि योजना पोखरामा र काठमाडौंमा कृषिको एजेन्डा तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।