१० साउन २०८३, आइतबार
जीवनदर्शन

भौगर्भिक इतिहासमा मानवपुर्खाको खोजी

मंसिर २०, २०८२
काठमाडौं
भौगर्भिक इतिहासमा मानवपुर्खाको खोजी

भूवैज्ञानिक तथा भूगर्भशास्त्रीहरूका अनुसार करिब १३.८ अर्ब वर्षअघि एउटा ठूलो विस्फोट (बिगव्याङ) भएको थियो, जसबाट ब्रह्माण्डको उत्पत्ति र बिस्तार हुन पुगेको थियो । निहारिका–आकाशगङ्गा तथा तारा र ग्रहहरूका निर्माण त्यसपछि नै भएका हुन् ।

ब्रह्माण्ड अस्तित्वमा आएपछि पनि लामो समयसम्म त्यसमा खासै परिवर्तन देखिएको थिएन । देखिएको थिएन भन्नुको अर्थ बाहिरमात्र नदेखिएको हो । भित्रभित्रै भने निकै हलचल भइरहेको थियो । जब बिस्तारै ग्यास तथा धूलकण र बादलहरू जम्मा हुँदै गए तब त्यसैबाट करिब ४.६ अर्ब वर्ष अघितिर सौरमण्डल अस्तित्वमा आएको हो ।

जब सौरमण्ड अस्त्विमा आयो तब बिस्तारै त्यसमा भएको हलचलका कारण करिब ४.५ अर्ब वर्ष अघितिर सौरमण्डलकै हिस्सा भएर पृथ्वी अस्तित्वमा आएको हो तर, शुरूमा पृथ्वी प्रदीप्त अग्निपिण्डको रूपमा थियो । त्यसमाथि निरन्तर हुने ज्वालामुखी विस्फोट र उल्कापातका कारण त्यहाँको तापक्रम कति थियो होला अनुमानै गर्न सकिन्न । थियो त केवल पृथ्वी जल्दै गरेको दलदले हिलो तर सँधै ऊ त्यस्तै अवस्थामा भने रहेन ।

बिस्तारै त्यसमा पनि केही हलचल र परिवर्तन देखिन थाले, जसलाई भूवैज्ञानिकहरूले इओन, महाकल्प, कल्प र युग आदि विभिन्न चरणमा राखेर अध्ययन गरेका छन् । इओनमा सर्वाधिक पुरानो इओन प्री–क्याब्रियन इओन हो, जसलाई महाइओन भन्ने गरिएको पनि पाइन्छ । किनभने भूवैज्ञानिक इतिहासको करिब ८७ प्रतिशत भाग यसैभित्र पर्दछ, जसमा पृथ्वीको उत्पत्तिदेखि अर्थात् ४.५ अर्ब वर्षपूर्वदेखि ५७ करोड वर्ष पूर्वसम्मको इतिहास र त्यतिबेला भएका गतिविधिहरू उल्लेख भएका छन् ।

महाइओनको समयलाई विभिन्न इओनमा बाँडेर अध्ययन गर्ने गरिएकाले इओनहरूको सङ्ख्या धेरै छन् र प्रत्येक इओनमा पृथ्वीमा केही न केही महत्वपूर्ण घटना भएका छन् । कहिले अमोनिया ग्यास, हाइड्रोजन, हिलियम, अक्सीजन आदि बनेका छन् कहिले वर्षाबादलको काम भएका छन् ।

त्यस्तै कहिले महासागरहरू बनेका छन् कहिले पानीमा बस्ने एककोशीय जीवहरू अस्तित्वमा आएका छन् । स्थानाभावले ती सबैको उल्लेख सम्भव भएन । तथापि सत्य के हो भने सबैभन्दा पछिल्लो इओन दृष्यजीवी इओन हो । दृष्यमान जीवन नै यस अवधिको विशेषता हो, जसमा करिब ५७ करोड वर्षपूर्वदेखि हालसम्मको पृथ्वीको इतिहास र त्यहाँ भएका गतिविधि उल्लेख  भएका छन् ।

यसलाई पनि पुराजीवी, मध्यजीवी र नूतनजीवी महाकल्पमा विभाजन गरेर अध्ययन गर्ने गरिएको छ, जसलाई प्राचीन जीवनको उद्भवको समय पनि भनिन्छ । यसअन्तर्गत क्याम्ब्रियनकल्प, अर्डोविशियनकल्प, सिल्यूरियनकल्प आदि पर्दछन् । सोअनुसार ५४ करोड वर्षपूर्वदेखि ४८.५ करोड वर्षसम्मको अवधिलाई क्याम्ब्रियन कल्प भनिन्छ ।

यतिबेला विभिन्न समुद्रहरू तथा ज्वालामुखी निर्माण भएका थिए । एककोशीयबाट बहुकोशीय जीवनहरू देखा परेका पनि यसै समयबाट हो । ४४.३ करोड वर्षपूर्वदेखि ४१. ९ करोड वर्षसम्मको अवधिलाई सिल्यूरियनकल्प भनिन्छ । त्यसपछि डेवोनियनकल्पको समय आउँछ, जसको समय ४१.९ करोड वर्षपूर्वदेखि ३५.८ करोड वर्षपूर्वको समय मानिएको छ । यतिबेला मत्स्यजाति तथा पर्वतको विकास भएकाले मत्स्ययुग तथा पर्वतहरू निर्माणको युग पनि भनिन्छ । यस अवधिमा विशाल वन, पर्वत तथा कोइलाहरू निर्माण भएका थिए । 

त्यसैगरी २५.६ करोड वर्ष पूर्वदेखि ६.६ करोड वर्षपूर्वको समयलाई मध्यजीवी महाकल्प भनिन्छ । यस अवधिमा सरीसृपहरूको उत्पत्ति भएकाले यसलाई सरीसृपको यृुग पनि भनिन्छ ।  डाइनोसोरहरूको उत्पत्ति पनि यसै समयमा भएको हो । त्यस्तै नूतनजीवी महाकल्पअन्तर्गत ६.६ करोड वर्षपूर्वदेखि हालसम्मको अवधि पर्दछ, जसलाई स्तनधारीजीवको युग पनि भनिन्छ । यसरी पृथिवीमा बिस्तारै विकास हुँदै गएको अक्सिजनलगायतको यौगिकहरूका कारण जीवनविकासको वातावरणीय अनुकुलन बढ्दै गयो र बहुकोषीय जीवबाट रीड नभएका जीव हुँदै रीड भएका, उभयचर, स्थलचर, अण्डज तथा स्तनधारी आदि विभिन्न प्रजातिका जीवहरू देखिन थालेका थिए ।

यिनै स्तनधारीहरूमध्येबाट सर्वप्रथम सोच्न र सोअनुसारको गतिविधि गर्न सक्ने एक किसिमको छुट्टै प्राणी देखा परेको थियो ।

करिब ५६ लाख वर्षपूर्वतिर हालको अफ्रिकातिर देखिएको सो प्राणीमा केही मानवीय गुणका विशेषताहरू थिए, जसमा कुप्रो परेर दुई खुट्टाले हिँड्ने, पत्थरको मोटो हतियार प्रयोग गर्ने, साङ्केतिक भाषामा इसारा गर्नेजस्ता गुणहरू थिए तर आधुनिक मानवको विकासक्रम भने आजभन्दा करिब दुई लाख वर्षपूर्वतिरबाट मात्र शुरू भएको मानिन्छ, जसलाई आधुनिक मानवको पूर्वपुस्ता मान्ने गरिएको पाइन्छ । तथापि उनीहरूलाई आधुनिक मानवको अवस्थामा आइपुग्न भने विभिन्न पाँचवटा चरणबाट गुज्रिनुपरेको देखिन्छ । यसअनुसार पहिलो चरणमा प्रारम्भिक पूर्वमानवको चरण पर्दछ ।

अफ्रिकातिर पाइएको यस चरणको अवशेषलाई किनियापीथिकस र भारतीय उपमहाद्वपतिर पाइएको अवशेषलाई रामापीथिकस भन्ने गरिएको छ, जुन निकै प्रारम्भिक अवस्था हो । त्यसपछि पूर्वमानवको चरण आउँछ, जसको प्रतिनिधित्व अफ्रिकातिरै पाइएका अष्ट्रेलोपीथेकसले गरेको छ । त्यसपछि प्रारम्भिक मानवको चरण पर्दछ । यो पनि अफ्रिकातिरै पाइएको मानव हो, जसलाई होमोइहविलिस भन्ने गरिएको छ । त्यस्तै चौथो चरणलाई उत्तरभावी मानवको चरण भनिएको छ । होमोइरेक्स भन्ने गरिएको यस चरणको मानवको अवशेष हालको जावा तथा चिनियाँ भूभागतिर पाइएको थियो । त्यसपछि मात्र पाँचौँ चरणमा पुगेर होमोसेपियन्स अर्थात् आधुनिक मानवको अवस्थामा पुगेको हो ।

यसमा थप विचारणीय के छ भने होमोइरेक्स अर्थात् चौथो चरणमा पुगेर विकासक्रमको हाँगो फाटिएको देखिन्छ, जसको पहिलो हाँगो नियण्डरस्थल मानवमा पुगेर समाप्त भएको छ भने दोस्रो हाँगो क्रोमेग्नन् मानवको अवस्था हुँदै आधुनिक मानव अर्थात् होमोसेपियन्सका अवस्थामा पुगेको हो तर उनीहरूले घर तथा गाउँ निर्माण गरी स्थायीरूले बस्ने र कृषि तथा पशुपालन गर्ने काम भने आजभन्दा १२ हजार वर्षपूर्वतिरबाट मात्र शुरू गरेका हुन् ।

उनीहरूले अन्नपात तथा जीवजन्तुहरूको संसर्गमा आएपछि बिस्तारै खनिजतर्फ आकर्षित भई सर्वप्रथम ई. पू. चार हजार वर्षतिर तामाको भाँडा प्रयोगमा ल्याउन थालेका देखिन्छ भने ई. पू. तीनहजार वर्षतिरबाट काँस्य र ई. पू. १२ सय वर्षतिरबाट फलामको सामान प्रयोगमा ल्याउन थालेको पाइन्छ । यही नै भूवैज्ञानिक र मानवजातिको प्राचीन इतिहास हो ।

salt training

कमेन्ट गर्नुहोस्