
न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । तीन टेस्टको शृंखलाको दोस्रो खेल आगामी बुधबार वेलिङ्टनमा शुरू हुनेछ ।
क्राइस्टचर्चमा सम्पन्न पहिलो टेस्टको पाँचौं तथा अन्तिम दिन शनिबार वेस्ट इन्डिजले आफ्नो दोस्रो पालीमा ६ विकेट गुमाएर चार सय ५७ रनमात्र बनाउन सक्यो ।
भ्रमणकारी टोली वेस्ट इन्डिज पाँच सय ३१ रनको विशाल लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको थियो । दोस्रो पालीमा वेस्ट इन्डिजका लागि जस्टिन ग्रेभ्सले दोहोरो शतक बनाए ।
छैटौं नम्बरमा क्रिज समाल्न आएको ग्रेभ्सले अविजित दुई सय दुई रन बनाए । यसक्रममा उनले तीन सय ८८ बलको सामना गरी १९ वटा चौका हिर्काए ।
अनुभवी ब्याट्सम्यान साई होपले पनि उत्कृष्ट शतकीय पाली खेले । चौथो नम्बरका ब्याट्सम्यान होपले एक सय ४० रन बनाए । उनले दुई सय ३४ बलमा दुई छक्का र १५ चौका प्रहार गरे ।
केमर रोचले पनि टोलीको खातमा अविजित ५८ रन थपे । उनले दुई सय ३३ बलमा आठ चौका प्रहार गरे । घरेलु टोली न्युजिल्यान्डका बलर ज्याकब डफीले तीन विकेट लिए ।
त्यसअघि, न्युजिल्यान्डले आठ विकेटको नोक्सानीमा चार सय ६६ रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । दोस्रो पालीमा न्युजिल्यान्डका लागि रचिन रवीन्द्रले एक सय ७६ रन बनाए ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान टम लाथमले पनि एक सय ४५ रन बनाएका थिए । वेस्ट इन्डिजका बलर केमर रोचले पाँच विकेट लिएका थिए ।
त्यसअघि, क्यारेबियन टोलीले आफ्नो पहिलो पालीमा एक सय ६७ रनमात्र बनाउन सकेको थियो । पहिलो पालीमा वेस्ट इन्डिजका लागि टगेनरिन चन्द्रपौलले ५२ र साई होपले ५६ रन बनाएका थिए ।
न्युजिल्यान्डका बलर ज्याक डफीले पाँच र म्याट हेनरीले तीन विकेट लिए । त्यसअघि, टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पहिलो पालीमा दुई सय ३१ रन बनाएको थियो ।
पहिलो पालीमा न्युजिल्यान्डका लागि केन विलियम्सनले ५२ रनको योगदान गरेका थिए । क्यारेबियन टोलीका बलर केमर रोच, जाडेन सिल्स, ओजय सिल्ड्स र जस्टिन ग्रेभ्सले दुई/दुई विकेट लिए । पहिलो टेस्टमा वेस्ट इन्डिजका जस्टिन ग्रेभ्स प्लेयर अफ दि म्याच घोषित भए ।