
राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको मिसन–२०२६ मा रहेका पारा तेक्वान्दो खेलाडी अमिर भ्लोनले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघ एकेडेमी हलमा भएको पारा तेक्वान्दोको के ४४ विद्याको पुरुष ६३ केजीमुनिको तौल समूहमा संखुवासभाका पासाङ शेर्पालाई हराउँदै उनले स्वर्ण पदक हात पारेका हुन् । उक्त स्पर्धामा बाजुराका लोकराज शाही ठकुरीले कास्य पदक जिते ।
यसैगरी, पुरुष ५४ केजीमुनि चितवनका विवेक श्रेष्ठले पहिलो स्थान हात पारे । उनले फाइनलमा भुटानका टासी रिग्देन दोर्जीलाई पराजित गरे । उक्त स्पर्धामा झापाका निश्चल प्रसाई तेस्रो भए ।
पुरुष ५८ केजीमुनि पारालिम्पियन भरतसिंह महताले स्वर्ण पदक जिते । उनले फाइनलमा पाकिस्तानका जोन सलिमलाई पराजित गरे । पारा तेक्वान्दोको के ४१ विधाको पुरुष ५८ केजीमुनि दीपेश महतले स्वर्ण पदक जिते । उनले फाइनलमा भारतका प्रमोद प्रसादलाई पराजित गरे ।
यसैगरी, महिला के ४४ विधाको ४७ केजीमुनि नुवाकोटकी रेनु तामाङ पहिलो भइन् । उनले फाइनलमा इलामकी कामना प्रसाईंलाई हराइन् । पुम्सेतर्फ पी ३० विधामा चितवनका विक्रम श्रेष्ठले सुनसरीका सुवासचन्द्र राईलाई हराउँदै स्वर्ण पदक हात पारे ।
पारा तेक्वान्दोमा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेका प्रतियोगिताका संयोजक भानबहादुर चन्दले जानकारी दिए ।