
भारतले विशाखापत्तनममा सम्पन्न तेस्रो एकदिवसीय क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ।
टस जितेर भारतले पहिलो बलिङ गर्ने निर्णय गरेको थियो। दक्षिण अफ्रिकाले ४७.५ ओभरमा २७० रनमा सबै विकेट गुमायो। क्विन्टन डिककले ८० बलमा शतक पूरा गर्दै १०६ रन बनाए भने कप्तान टेम्बा बभुमाले ४८ रन जोडे। भारतका तर्फबाट प्रसिद्ध कृष्णा र कुलदीप यादवले ४–४ विकेट लिए।
२७१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको भारतले उत्कृष्ट सुरुवात गर्यो। सलामी जोडी यशस्वी जायसवाल र रोहित शर्माले १५५ रनको साझेदारी गर्दै खेलको आधार बलियो बनाए। जायसवालले अविजित ११६ रन बनाए, जो उनको पहिलो वनडे शतक पनि हो। रोहित शर्माले ७५ रनको योगदान दिए।
रोहित आउट भएपछि क्रिजमा आएका विराट कोहलीले पनि अविजित ६५ रन बनाए। भारतले ३९.५ ओभरमै लक्ष्य पूरा गर्दै एक नाम मात्र विकेटको क्षतिमा सहज जीत हात पार्यो।
यसअघि पहिलो वनडे भारतले १७ रनले जितेको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकाले ४ विकेटले विजय हासिल गरेको थियो।
दुई टेस्टको सिरिज भने दक्षिण अफ्रिकाले २–० ले जितेको छ।
अब दुवै टिमबीच पाँच खेलको टी–२० सिरिज ९ डिसेम्बरदेखि कटकमा सुरु हुनेछ।