
नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको ‘पार्ट अफ करप्सन’ रहेकाले यसलाई राष्ट्र बैंकले क्षमा नगर्ने बताएका छन् ।
आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औं वार्षिक साधारणसभामा बोल्दै गभर्नर पौडेलले यस्ता गतिविधिलाई कठोर रूपमा लिने बताएका हुन् ।
‘सरकारी बैंकबाट यो मिलाइदिन्छु भनेर पैसा माग्यो भने सरकारले रिस्क लिन्छ । तर निजी बैंकबाट त्यस्तो भएमा हामी गम्भीर रूपमा लिनेछौं’, गभर्नर पौडेलले भने, ‘कुनै पनि व्यक्तिले जबर्जस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो । यसलाई नेपाल राष्ट्र बैंकले क्षम्य रूपमा लिँदैन ।’
गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउनका लागि राष्ट्र बैंकले विभिन्न नीति परिमार्जन गरेको जनाए । उनले भने, ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाहरूको नाफा बढाउनका लागि सहज बनाएका छौं । महानगरमा रहेका धेरै बैंकहरूका शाखा बन्द गर्ने बाटो खोलिदिएका छौं ।’
बैंकहरूको हकमा राम्रो नाफा र लगानी गरेर डिजिटल कारोबारमा ध्यान दिँदै अर्थतन्त्रको गतिमा सहयोग पुगोस् भनेर नै नेपाल राष्ट्र बैंकले काम गरिरहेको गभर्नर पौडेलले बताए ।
‘बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ध्यान दिइरहेका छौं । तर, यसमा सही के हो र गलत के हो भनेर पोलिसी तयार पार्छौं । सबैको गुनासो हेरे हामी अगाडी बढ्ने गरेका छौं’, गभर्नर पौडेलले भने ।
श्रीलंका अप्ठ्यारो अवस्थामा पुगेर पनि सुधारको गति समातेकाले नेपालले पनि गति समात्ने गभर्नर पौडेलले बताए । उनले राम्रो काममा केन्द्रित हुनुपर्ने बताए । अहिले मनोबल कमजोर रहेकाले यसलाई उकास्नका लागि आवश्यकता रहेको गभर्नर पौडेलले बताए ।
उनले भने, ‘हामी आर्थिक नीतिहरूमा बलियो छौं । तर, मनोबल कमजोर छ । कमजोर मनोबललाई उकास्न राम्रो विषयमा केन्द्रित रहनु पर्छ । जस्तै, निर्यातमा राम्रो गरिरहेका अलैँची जस्तालाई बढवा दिनुपर्छ । जे चाहिन्छ त्यसका लागि हामी राम्रा लाइनमा जान सकिन्छ ।’
सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरूले समेत नेपालमा केही नहुने भन्दै आफ्ना सन्तान विदेश पलायन गराएको गभर्नर पौडेलको आरोप छ ।
उनले भने, ‘एक दशकभन्दा बढी यो देशमा केही हुँदैन भनेर छोराछोरी सबैलाई विदेश पठाइयो । उनीहरू सबैलाई फर्काएर ल्याउनु पर्छ । तर, उनीहरूलाई ल्याएर मन्त्री बनाउने र राजनीतिक रेसमा लैजान हुँदैन ।’