१२ असार २०८३, शुक्रबार
बेलबारीमा त्रासदीपूर्ण घटना

बुहारीले खानामा विष मिसाउँदा सासूको मृत्यु; ससुरा आईसीयूमा, तीनवटा कुखुरा पनि मरे

मंसिर २२, २०८२
विराटनगर
बुहारीले खानामा विष मिसाउँदा सासूको मृत्यु; ससुरा आईसीयूमा, तीनवटा कुखुरा पनि मरे

जीवनको उत्तरार्धमा मानिसलाई धनसम्पत्ति वा ठूलो महलभन्दा पनि आत्मीयता र सहाराको खाँचो हुन्छ । मोरङको बेलबारी नगरपालिका–२, सिंहदेवी टोलका ७७ वर्षीया इन्द्रमाया राई र ७० वर्षीय भक्तबहादुर राईको दम्पतीको चाहना पनि सायद यही नै थियो होला । आफ्नै कोखबाट सन्तान नजन्मिए पनि भतिजो र बुहारीलाई नै ‘छोरा–बुहारी’ मानेर उनीहरूले बुढेसकालको सहारा ठानेका थिए । तर, जसलाई बुढेसकालको सहारा ठाने, तिनै बुहारीको हातबाट पस्किएको खानामा ‘मृत्यु’ घोलिएर आउँदा यो वृद्ध दम्पतीको जीवन नै दर्दनाक बनेको प्रहरीले जनाएको छ ।

शनिबार बेलबारीको सिंहदेवी टोल सधैंजस्तो सामान्य रहेन । एउटा शान्त घरभित्र नसोचिएको आँधी चल्यो, जसले मानवीय विश्वासलाई नै छियाछिया पारिदियो । ३२ वर्षीया बुहारी सुनिता कार्कीले आफ्नै सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको घटना सार्वजनिक भएपछि अहिले उक्त टोल स्तब्ध बनेको छ ।

शनिबार दिउँसो स्थानीय बासिन्दाले देखेको दृश्य निकै कहालीलाग्दो थियो । ७० वर्षीय वृद्ध भक्तबहादुर राई घर नजिकैको खेतमा अचेत अवस्थामा लडिरहेका थिए । छिमेकीले ‘के भयो ?’ भन्दै आत्तिएर उद्धार गरी उनलाई घरमा ल्याए । तर, घर पुग्दा अर्को बज्रपात भयो । घरभित्र उनकी अर्धाङ्गिनी ७७ वर्षीया इन्द्रमाया राई पनि बेहोस् अवस्थामा ढलिरहेकी थिइन् ।

त्यो घरको आँगनमा अनौठो सन्नाटा छाएको थियो । घरको पिँढी र खोर वरपर हेर्दा ३ वटा कुखुरासमेत मरेको अवस्थामा भेटिए । पछि खुल्यो– वृद्ध दम्पतीले खाएर उब्रिएको त्यही विषालु खाना ती अबोध पक्षीले खाएका रहेछन् । मान्छे मात्र होइन, त्यो विषले अबोध प्राणीहरूको समेत प्राण लियो ।

स्थानीय र प्रहरीको सहयोगमा बेहोस वृद्ध दम्पतीलाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याइयो । चिकित्सकहरूले बचाउने हरसम्भव प्रयास गरे । तर, विषको प्रभाव यति गहिरो थियो कि ७७ वर्षीया आमा इन्द्रमाया राईले कहिल्यै नब्युँझिने गरी संसारबाट बिदा लिइन् । राति १०:४० बजे आईसीयू कक्षमा उनको प्राण उड्यो ।

जीवनभर श्रीमानको सुख–दु:खमा साथ दिएकी इन्द्रमायाले अन्तिम समयमा श्रीमानको अनुहारसमेत हेर्न पाइनन्, न त श्रीमानले नै आफ्नी जीवनसंगीनी गुमाएको थाहा पाए । अहिले भक्तबहादुर राई गम्भीर अवस्थामा आईसीयूको चिसो शय्यामा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका छन् ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको टोली घटनास्थल पुग्यो । प्रहरीका अनुसार भक्तबहादुर र इन्द्रमायाका आफ्नै सन्तान थिएनन् । उनीहरूले भतिजो प्रशान राई र बुहारी सुनितालाई साथमा राखेका थिए । प्रशान घर बाहिर भएको मौका छोपेर सुनिताले सासू–ससुराको खानामा विष मिसाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुनिताले दालमा विषादी घोलिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । ‘बुढा बुढीले कमाएको सम्पति नदिएपछि बुहारीले बेलुका पकाएर राखेको दालमा विषादी हालिदिएकी रहिछिन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘बुढाबुढी र छोरा बुहारी छुट्टाछुटै खाना खाँदा रहेछन् । बेलुका पकाएको दाल बिहानलाई पनि राखेका रहेछन् । राति बुढाबुढी सुतेपछि बुहारीले विष घोलिदिएकी रहेछिन् ।’ बिहाको खाना खाएपछि उनीहरू बेहोस् भएका थिए ।’ सम्पत्तिको लोभमा बुहारीले जघन्य अपराध गरेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाहरू घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले घटनाबारे अनुसन्धान भैरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्