
मुलुककै जेठो उद्योग वाणिज्य संघका रूपमा परिचित मोरङ व्यापार संघले विराटनगरमा ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गर्दै जारी गरेको प्रेस विज्ञप्ति अनुसार शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य उद्देश्यसहित आगामी पुस ९ गतेदेखि १९ गतेसम्म यो एक्स्पो सञ्चालन हुनेछ ।
विराटनगरको शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालयसँगैको निजी जग्गामा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा जर्मन प्रविधिको ह्याङ्गर र अक्टानर्मसहित करिब २३० वटा स्टल रहने आयोजकले जनाएको छ ।
मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै छिमेकी मुलुक भारत, बंगलादेश र पाकिस्तानका उत्पादन समेत प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।
विगतका आन्दोलन र अस्थिरतापछि उत्पन्न विद्यमान आर्थिक शिथिलतालाई चिर्दै बजारमा चहलपहल ल्याउन, नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान भएका स्वदेशी वस्तुको प्रवर्द्धन गर्न र कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचार गर्दै ‘कोशी पर्यटन वर्ष २०८२’लाई टेवा पुर्याउन एक्स्पो केन्द्रित रहनेछ । यसले स्वदेशी तथा विदेशी लगानीकर्ता, उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गराउने विश्वास संघले लिएको छ ।
यस पटकको मेलामा वस्तु तथा सेवाको प्रदर्शनी मात्र नभई ज्ञान आदान–प्रदानलाई पनि प्राथमिकता दिइएको छ । एक्स्पो अवधिभर स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा र महिला उद्यमशीलता सम्बन्धी विभिन्न विषयगत गोष्ठी तथा छलफल सञ्चालन गरिनेछन् । नयाँ उद्यमीका लागि व्यवसाय विस्तारका उपाय, डिजिटल ज्ञान र साइबर सुरक्षाजस्ता विषयमा जानकारीमूलक कार्यक्रम समावेश हुनेछन् ।
दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्न आयोजकले विशेष तयारी गरेको छ । मेलामा कुमा सागर, रकेहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन, उज्जेन शाक्य लगायतका चर्चित राष्ट्रिय ब्याण्ड तथा कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । साथै, कलाकृतिमा आधारित भव्य प्रवेशद्वार, बालबालिकाका लागि किड्स जोन, सेल्फी जोन तथा फिस र जलपरी टनेल मेलाका विशेष आकर्षणका रूपमा रहने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए ।
मुख्य प्रायोजकका रूपमा रमपम तयारी चाउचाउ र मारुती सिमेन्ट रहेको यस एक्स्पोमा स्वदेश तथा छिमेकी मुलुकबाट गरी करिब दुई लाख दर्शकको आगमन हुने अपेक्षा गरिएको छ ।
संघका अध्यक्ष राठी र एक्स्पो संयोजक अमित कुमार शारदाले स्थानीय सरकार, निजी क्षेत्र, सुरक्षा निकाय र सञ्चारकर्मीको समन्वयमा मेला भव्यतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै विगतमा जस्तै यसपटक पनि सबैको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।