
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनाएको हो ।
सुदूरपश्चिम रोयल्सका लागि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले उत्कृष्ट अर्धशतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान विनोदले ६३ रन बनाए । यसक्रममा उनले ५२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए ।
विनोदले जारी सिजनको एनपीएलमा बनाएको यो दोस्रो अर्धशतक हो । उनी एनपीएलको दोस्रो संस्करणमा सबैभन्दा बढी रन बनाउने नेपाली ब्याट्सम्यान पनि हुन् । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पनि दोस्रो स्थानमा उक्लिएका छन् ।
सुदूरपश्चिमका लागि सिल्डन ज्याक्सनले पनि २० रन बनाए । उनले ११ बलमा एक छक्का र दुई चौका प्रहार गरे । इशान पाण्डे १७ बलमा एक चौकाको मद्दतले १३ रन बनाउँदै पेभेलियन फर्किए ।
हरमित सिंह पनि १४ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ११ बलमा दुई चौका हिर्काए । ओपनर मुख्तार अहमद १० बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी तीन बलमा तीन रन बनाउँदै पेभेलियन फर्किए ।
सातौं नम्बरमा क्रिज सम्हाल्न आएका आसिफ शेखले आक्रामक पाली खेल्दै केवल १३ बलमा एक छक्का र दुई चौकाको मद्दतले २० रन बटुले । स्कट कुग्गेलियन एक र मिलन बोहरा पाँच रनमा अविजित रहे । सुदूरपश्चिमले अतिरिक्त रूपमा ६ रन पायो ।
विराटनगर किङ्सका बलर प्रतिश जीसी र मर्चेन्ट डे लाङ्गेले दुई–दुई विकेट लिए । सूर्य तामाङ र साम हिजलेटले पनि एक–एक विकेट हात पारे ।