३२ असार २०८३, बिहीबार
नेपाल प्रिमियर लिग

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

मंसिर २३, २०८२
काठमाडौं
विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । 

मंगलबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । 

जितका लागि १५५ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । 

विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रनको सर्वाधिक योगदान दिए । फाफले २९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दा हेमन्त धामीको बलमा क्याच आउट भए । 

मार्चेन्ट डे लाङगे १५ रन बनाउँदा बनाउँदै पेभेलियन फर्किए । बसिर अहमदले १२ रन थपे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि हरमित सिंह, अविनास बोहरा र स्कट कुग्लेजिनले समान दुई/दुई विकेट लिए । हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनाएको थियो । 

सुदूरपश्चिम रोयल्सका लागि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले उत्कृष्ट अर्धशतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान विनोदले ६३ रन बनाए । यसक्रममा उनले ५२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए ।

विनोदले जारी सिजनको एनपीएलमा बनाएको यो दोस्रो अर्धशतक हो । उनी एनपीएलको दोस्रो संस्करणमा सबैभन्दा बढी रन बनाउने नेपाली ब्याट्सम्यान पनि हुन् । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पनि दोस्रो स्थानमा उक्लिएका छन् ।

सुदूरपश्चिमका लागि सिल्डन ज्याक्सनले पनि २० रन बनाए । उनले ११ बलमा एक छक्का र दुई चौका प्रहार गरे । इशान पाण्डे १७ बलमा एक चौकाको मद्दतले १३ रन बनाउँदै पेभेलियन फर्किए ।

हरमित सिंह पनि १४ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ११ बलमा दुई चौका हिर्काए । ओपनर मुख्तार अहमद १० बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी तीन बलमा तीन रन बनाउँदै पेभेलियन फर्किए ।

सातौं नम्बरमा क्रिज सम्हाल्न आएका आसिफ शेखले आक्रामक पाली खेल्दै केवल १३ बलमा एक छक्का र दुई चौकाको मद्दतले २० रन बटुले । स्कट कुग्गेलियन एक र मिलन बोहरा पाँच रनमा अविजित रहे  । सुदूरपश्चिमले अतिरिक्त रूपमा ६ रन पायो ।

विराटनगर किङ्सका बलर प्रतिश जीसी र मर्चेन्ट डे लाङ्गेले दुई–दुई विकेट लिए । सूर्य तामाङ र साम हिजलेटले पनि एक–एक विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्