
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा शनिबार नेपालले श्रीलंकालाई जितका लागि केवल ८३ रनको झिनो लक्ष्य दिएको छ ।
यू–१९ एसिया कपको यो १२औं संस्करण हो ।
दुबईस्थित द सेभेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० मध्ये २८.५ ओभरमै अलआउट हुनुअघि ८२ रनमात्र बनाउन सक्यो । नेपाली टोलीका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् ।
ओपनर साहिल पटेल १२ रन बनाउँदै आउट भए । अर्का ओपनर निरज कुमार यादव पनि १० रनमै पेभेलियन फर्किए । टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै नेपालले चार प्रभावशाली विकेट गुमाइसकेको थियो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका वंश क्षेत्रीले खातासम्म खोल्न सकेनन् । चौथो नम्बरका ब्याट्सम्यान सिबरिन श्रेष्ठले ४३ बलमा एक चौकाको मद्दतले १८ रन जोडे । दिलसाद अली शून्य रनमै पेभेलियन फर्किए ।
कप्तान अशोक धामी पनि नौ रनभन्दा अगाडि बढ्न सकेनन् । अभिषेक तिवारीले टोलीको खातामा अविजित सात रन थपे । रोसन विश्वकर्मा केवल एक रन बनाउँदै आउट भए । युवराज खत्री पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् ।
विपिन शर्मा पनि एक रनमै आउट भए । दयानन्द मण्डल खाता खोल्नुअघि नै पेभेलियन फर्किए । नेपाली टोलीले अतिरिक्त रूपमा १९ रन पायो ।
श्रीलंकाली टोलीका बलर सेथमिका सेनेविरत्ने एक्लैले पाँच विकेट लिए ।