०६ साउन २०८३, बुधबार
महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष

ओलीको सम्बोधनका ७ ‘हाइलाइट्स’ : भदौ २३-२४ को प्रसंगदेखि निकासको विकल्पसम्म

मंसिर २७, २०८२
काठमाडौं
ओलीको सम्बोधनका ७ ‘हाइलाइट्स’ : भदौ २३-२४ को प्रसंगदेखि निकासको विकल्पसम्म

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना दलहरू सकिए भनेर निर्माण गरिएको भाष्यलाई आफूहरूले चिरेको दाबी गरेका छन् ।

एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै ओलीले पुराना दलको सान्दर्भिकता अझै समाप्त नभएको जिकिर गरे ।

ओलीले भने,​

सम्झिरहेको छु, ३ महिना अगाडिका ती कहालीलाग्दा दिनहरू– जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो ।

एउटा भाष्य निर्माण गर्ने कोशिश भइरहेको थियो, पुराना पार्टीहरू सकिए, नेताहरूका दिन गए । एमालेको सान्दर्भिकता समाप्त भयो ।

धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ ।

शनिबारको उपस्थितिलाई उनले सागरको एउटा थोपाको रूपमा व्याख्या गरे ।

‘नेपालका प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौं,’ ओलीले भने, ‘तर, यिनै थोपाभित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो ।’

null

'भूराजनीतिक प्रभावदेखि एमालेमाथिको प्रहार'सम्म

ओलीले भूराजनीतिक प्रभावको आशय व्यक्त गर्दै आफूहरूमाथि चौतर्फी प्रहार भएको बताए । ‘हामी भन्छौं– देशहरू भूगोलमा साना या ठूला होलान्, तर सार्वभौम सत्ता बराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ?’ ओलीले भने, ‘(अनि हामीमाथि) प्रहार हुन्छ ।’

उनले संविधान निर्माणको प्रसंग समेत उल्लेख गरे ।

‘हामी सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो, भन्छौं । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ,’ ओलीले थपे ।

उनले एमालेमाथिको प्रभावको कारण भन्दै अन्य केही तर्क पनि अगाडि सारे–

एकपटक सम्झनुस् त !

हामीले संविधान जारी गर्‍यौं । त्यसपछिको तीव्र प्रतिक्रियाले भन्छ, हामीले लिएको अडान कतिलाई मन परेको थिएन ।

भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैं हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन ।

सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन । यही कारणले, बारम्बार हाम्रो पार्टी प्रहारको निशानामा परेको छ ।

ओलीले एमाले रहँदासम्म नेपालको स्वाभिमान कहिल्यै नझुक्ने दाबी गरे ।

‘हामी कमजोर भयौँ भने मात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन्,’ ओलीले भने, ‘हामी नढलुञ्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सीधा नै रहन्छ । त्यसैले हामीमाथि आक्रमण भइरहेको छ  ।’

उनले जतिसुकै आक्रमण भएपनि एमाले कमजोर नहुने जिकिर गरे ।

‘आखिर खयरको बोटमा कसले ढुङ्गा हान्छ र ? ढुङ्गाको चोट खाने त बाटो छेउको आँपको बोटले त हो नि,’ ओलीले भने, ‘यति धेरै प्रहार सहेपछि पनि यो पार्टी सतिसालझैँ ठिङ्ग कसरी उभिरहन्छ ? यति धेरै शक्ति कहाँबाट आउँछ ? त्यसैले हामीमाथि आक्रमण हुन्छ ।’

भदौ २३ को सम्झना र श्रद्धाञ्जली

ओलीले भदौ २३ को शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर दु:खद परिस्थिति निर्माण गरिएको दाबी गरे ।

ओलीले भने–

सामाजिक सञ्जाल बन्द गर्ने होइन, कानूनी दायराभित्र, देश र नागरिकको सुरक्षाको हिसाबले नियमन गर्ने मात्रै हाम्रो चाहना थियो ।

नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने बचन दिएका थिए । प्रशासनले अनुमति पनि दिएकै थियो ।

तर दु:खको कुरा— त्यो कार्यक्रममा घुसपैठ भयो । विभिन्न स्वार्थ समूह प्रवेश गरे । अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद् भवनमा आगजनी र तोडफोड गर्न दुरुत्साहन गर्ने र  त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा–विद्यार्थीहरूको ज्यान जाने दु:खद् एवं अकल्पनीय परिस्थिति सिर्जना भयो ।

तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीले भदौ २३ र २४ गते मारिएका सबैप्रति श्रद्धाञ्जली अर्पण गरे ।

‘भदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु’, ओलीले भने, ‘घाइते युवाहरू, परिवारका सदस्यहरू, पीडित बुवाआमा, दिदीबहिनी, दाजुभाइ, सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछु । शरीर र मन दुवैको चोट चाँडै निको होस् भन्ने कामना गर्दछु ।’

null

भदौ २४– राज्यमाथिको योजनाबद्ध आक्रमण !

उनले भदौ २४ मा योजनाबद्ध रूपमा राज्यमाथि आक्रमण भएको जिकिर गरे । सोही कारण देशले भयानक दिन भोगेको उनको विश्लेषण छ ।

‘भदौ २३ गते शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक हुँदा सिर्जित दु:खद् परिणामप्रति गम्भीर हुँदै तत्कालीन गृहमन्त्रीले राजीनामा गरिसक्नुभएको थियो । त्यसै दिनको मन्त्रिपरिषद्को बैठकबाट घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय पनि भइसकेको थियो’, ओलीले भने, ‘असामान्य परिस्थितिप्रति सरकार गम्भीर र  संवेदनशील थियो । तर, राज्यविरुद्ध आक्रमणको योजना बनाएका तत्वहरूलाई यी कदम पर्याप्त भएनन् । उनीहरूलाई त देश दहन गर्ने अगुल्टो चाहिएको थियो । परिणामत: भदौ २४ को भयानक दिन देशले भोग्नुपर्‍यो ।’

विध्वंशका सबै घटना प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि घटाइएको भन्दै ओलीले त्यसलाई योजनाबद्ध षड्यन्त्रका रूपमा व्याख्या गरे ।

‘सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भए । त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन्; ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खल्बल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए,’ ओलीले भने, ‘जतिबेला राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै आन्दोलन, विद्रोह र क्रान्तिका रूपमा महिमामण्डित गरिँदै थियो, त्यही भीडको फुटेज देखाएर कोही सत्ता, कोही सौदा र कोही सहानुभूति बटुल्दै थिए ।’

तत्कालीन अवस्थामा भदौ २४ लाई देशमाथिको प्रहार भन्ने एउटा मात्र पार्टी एमाले भएको उनले सम्झिए । ‘त्यतिबेला एमाले मात्रै यस्तो पार्टी रह्यो, जसले शुरूदेखि नै स्पष्ट भन्यो– यो हाम्रो व्यवस्थामाथिको आक्रमण हो, यो देशमाथिको प्रहार हो,’ ओलीले थपे ।

पाण्डव र कौरवको प्रसंग

ओलीले आफूलाई ‘हेलिकप्टर चढेर भाग्यो’ भनी व्यंग्य गरिएको विषयलाई महाभारतको प्रसंगसित जोडे ।

ओलीले भने–

कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ— हेलिकप्टर चढेर भागे ।

महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नुपर्‍यो ।

इतिहासले दोष कसलाई दियो— आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ?

प्रश्न त्यत्ति न हो !

त्यो महाविनाश— न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ ।

दोहर्‍याएरै भन्छु, नबिर्सौं !!!

अहिलेलाई यत्ति मात्र—

त्यस दिनको महाविनासको छानबिन होस्,

दोषी पहिचान होस्,

अपराधीले सजाय पाऊन् !

null

'प्रतिनिधिसभा विघटन असंवैधानिक'

उनले असंवैधानिक हिसाबले प्रतिनिधिसभा विघटन गरेर देशलाई उल्टो दिशामा लगिएको जिकिर गरे ।

‘कामचलाऊ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ,’ ओलीले भने, ‘तर, देशलाई उल्टो दिशामा लगियो, संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो ।’

उनले प्रतिनिधिसभा विघटन आफूहरूलाई मान्य नभएको बताए ।

‘हामी भन्छौं– अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ । जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीति बाहिर धकेल्नु हो,’ ओलीले भने, ‘यस्तो कामले लोकतन्त्र बलियो हुँदैन । त्यसैले— प्रतिनिधिसभा विघटन मान्य छैन ।’

उनले प्रतिनिधिसभा पुन:स्थापना गरेर देशलाई संवैधानिक बाटोमा फर्काउनुपर्ने माग अगाडि सारे ।

‘हाम्रो माग स्पष्ट छ— प्रतिनिधिसभा तुरुन्त पुन:स्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस्,’ ओलीले थपे ।

अध्यक्ष ओलीले सरकार चुनाव गराउने दिशामा केन्द्रित नरहेको आरोप लगाए । बरु सरकार आतंक सिर्जना गर्ने दिशामा केन्द्रित रहेको उनको आरोप छ ।

ओलीले भने–

सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ ।

चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ?

अहँ देखिँदैन !

चुनाव चाहने सरकार के गर्थ्यो ?

सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गर्थ्यो ।

दलका गतिविधि प्रोत्साहित गर्थ्यो ।

चुनावको अनिवार्य शर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गर्थ्यो ।

तर, अहिले के भइरहेको छ ?

संवादको सट्टा निषेध,

बहसको सट्टा मुद्दा,

प्रतिस्पर्धाको सट्टा धम्की,

नेताको राहदानी रद्द र स्थान–हद ... निषेधाज्ञा !

यसरी चुनावको वातावरण बन्छ कि डरको ?

मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतंक बढ्छ ?

null

'अबको निकास– प्रतिनिधिसभा पुन:स्थापना र संवैधानिक सरकार'

एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा पुन:स्थापना र सर्वपक्षीय संवैधानिक सरकार गठन निकासको उचित बाटो भएको जिकिर गरे । त्यसैका लागि अगाडि बढ्न समग्र पार्टी पंक्तिलाई उनको आग्रह छ ।

‘यस जटिल परिस्थितिमा अनेक चुनौतीहरूको सामना गर्दै आफ्नो गन्तव्यतर्फ दृढता र सक्रियताका साथ अगाडि बढौँ । अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौँ,’ ओलीले नेता–कार्यकर्तालाई सम्बोधन गर्दै भने ।

उनले सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको जिकिर गर्दै सरकार जेनजी–सम्झौतालाई नाटकको रूपमा व्याख्या समेत गरे ।

‘वर्तमान असंवैधानिक सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको छ । त्यसका लागि एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरूको जालो पनि बुनिरहेको छ । यस स्थितिलाई तोडेर संविधानलाई पुन: लीकमा फर्काउनु छ, जहाँ नेपाल सुरक्षित होओस्,’ सम्बोधनको अन्तिम चरणमा ओलीले भने ।

झण्डै एक घण्टा लिखित भाषण गरेका ओलीले लिखित सकिएपछि अन्तिममा एमालेलाई होच्याउने काम नगर्न सरकारलाई चेतावनी दिए । 

‘सरकारले सुन्नेगरी भन्न चाहन्छु, यो उपस्थिति मानिसहरूको भीड मात्र होइन, देश र लोकतन्त्र जोगाउने अभियान हो । प्रतिगमनविरुद्धको खबरदारी हो,’ ओलीले भने, ‘कसैले अन्डरमाइन्ड नगरोस् । एमालेलाई होच्च्याउने काम कसैले नगरोस् ।’

salt training

कमेन्ट गर्नुहोस्