
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा शनिबार जारी फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको झिनो लक्ष्य दिएको छ ।
दोस्रो सिजनको एनपीएलमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको यो नै सबैभन्दा कम स्कोर हो । यसअघि लुम्बिनी लायन्सविरुद्ध नै पोखरा एभेन्जर्स एक सय ११ रनमै अलआउट भएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै सुदूरपश्चिमले ६ विकेट गुमाइसकेको थियो ।
प्रारम्भदेखि नै सुदूरपश्चिमका ब्याट्सम्यान लुम्बिनीका बलरको दबाबमा परेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा ओपनर इशान पाण्डेले ५१ बलमा एक चौकाको मद्दतले ३३ रन बनाए ।
अर्का ओपनर विनोद भण्डारी शून्य रनमै पेभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सिल्डन ज्याक्सन पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् ।
अनुभवी खेलाडी आरिफ शेख पनि ६ रन बनाउँदै आउट भए । दिपक बोहरा र पुनित मेहराले त खातासम्म खोल्न सकेनन् ।
११औँ ओभरको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए । रोहितले ११औँ ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी (१३ रन) लाई रुवेन ट्रम्पलम्यानद्वारा क्याच गराए ।
सोही ओभरको पाँचौ बलमा रोहितले दीपक बोहरा (शून्य रन) लाई सन्दीप जोराद्वारा क्याच गराए । त्यसलगत्तै छैटौँ बलमा रोहितले पुनित मेहरा (शून्य रन) लाई एलबीडब्लूको धरापमा पारे । छैटौँ विकेट गुमाउँदा सुदूरपश्चिम रोयल्सले केवल ४४ रन बनाउन सकेको थियो ।
हरमित सिंहले ११ बलमा एक छक्काको मद्दतले १० रन बनाए । स्कट कुग्गेलियनले आठ बलमा एक छक्काको मद्दतले १० रन बनाए । हेमन्त धामीले अविजित सात र अविनाष बोहराले एक रन बनाए ।
लुम्बिनी लायन्सका बलर रोहित पौडेलले ह्याट्रिकसहित तीन विकेट लिए । उनले किफायती बलिङ गर्दै केवल १२ रन खर्चिए ।
शेर मल्लले पनि तीन विकेट हात पारे । उनले पनि निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल १८ रन खर्चिए ।
रुवेन ट्रम्पलम्यानले पनि तीन विकेट लिए । उनले २.१ ओभरमा केवल तीन रन खर्चिए । तिलक भण्डारीले पनि एक विकेट कुम्ल्याए । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रुपमा चार रन पायो ।