२८ जेठ २०८३, बिहीबार

जापानमा भालुको आक्रमणमा पर्वतारोहीको मृत्यु, ‘घडी’ले खोल्यो अन्तिम क्षणको कथा

मंसिर २८, २०८२
काठमाडौं
जापानमा भालुको आक्रमणमा पर्वतारोहीको मृत्यु, ‘घडी’ले खोल्यो अन्तिम क्षणको कथा

जापानको होक्काइडो क्षेत्रमा हालै भएको भालु आक्रमणको घटनाले सर्वसाधारणलाई स्तब्ध बनाएको छ । 

उक्त आक्रमणमा ज्यान गुमाएका एक पर्वतारोहीका अन्तिम क्षणहरू उनको जीपीएस घडीले रेकर्ड गरेको पाइएको छ ।

स्याटेलाइटसँग जोडिएको उक्त घडीले उनको यात्रा मार्ग र मुटुको धड्कन रेकर्ड गर्दै आएको थियो । घटनास्थलबाट बरामद गरिएको घडीको डाटाका आधारमा जापानको पुरानो पत्रिका असाही शिम्बुनले ती अन्तिम क्षणको मार्मिक विवरण सार्वजनिक गरेको छ ।

पत्रिकाका अनुसार ती पर्वतारोहीमाथि १४ अगस्टमा भालुले आक्रमण गरी मारेको थियो । डाटाबाट बिहान करिब ११ बजे उनी ट्रेलमा रहेको देखिन्छ । त्यसपछि अचानक ट्रेल छाडेर जंगलतर्फ ओरालो झरेको र झाडीबीच उनका कदम गोल–गोल घुमेको देखिएको छ, जसले डर र संघर्षको अवस्था स्पष्ट झल्काउँछ ।

घडीले त्यही स्थानमा उनको मुटुको धड्कन बन्द भएको रेकर्ड गरेको छ, अर्थात् त्यही ठाउँ उनको मृत्युस्थल बनेको देखिन्छ । केही घण्टापछि घडीले पुनः केही सय मिटरको गतिविधि रेकर्ड गरेको थियो । यसले भालु पुनः फर्किएर मृतकको शव त्यहाँबाट तानेर लगेको संकेत गर्छ ।

१५ अगस्टमा स्थानीय अधिकारीहरूले एक भालु आफ्ना दुई बच्चासहित मृतकको शव मुखमा च्यापेर लैजाँदै गरेको देखेका थिए । पछि उक्त भालु र उसका दुई बच्चालाई पनि मारिएको थियो ।

जापानी अखबारका अनुसार मृतकको शव परिवारलाई बुझाउँदा उनका बाबुआमालाई केवल अनुहार मात्र हेर्न अनुरोध गरिएको थियो, किनकि शरीरका अन्य भागमा अत्यन्त गहिरा चोट थिए ।

जापान टुडेका अनुसार, यस वर्ष जापानमा भालु आक्रमणका घटना रेकर्ड स्तरमा पुगेका छन् । केवल होक्काइडोमै अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने २०० भन्दा बढी घाइते भएका छन् । 

यी घटनाहरू मुख्यतया ग्रामीण क्षेत्रमा भइरहेका छन्, जहाँ भालुको बासस्थान र मानव गतिविधिबीचको टकराव बढ्दै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्