१७ असार २०८३, बुधबार

बोन्डी बीच गोलीकाण्ड: १६ जनाको ज्यान जाने आक्रमणका अभियुक्त पाकिस्तानी बाबु–छोरा !

मंसिर २९, २०८२
काठमाडौं
बोन्डी बीच गोलीकाण्ड: १६ जनाको ज्यान जाने आक्रमणका अभियुक्त पाकिस्तानी बाबु–छोरा !

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको सामूहिक गोलीकाण्डमा संलग्न दुई आक्रमणकारी पाकिस्तानी बाबु–छोरा रहेको पाइएकोफ्री प्रेस जर्नलले लेखेको छ । यहूदी समुदायको कार्यक्रममा लक्षित उक्त आतंककारी आक्रमणमा कम्तीमा १६ जनाको ज्यान गएको छ।

अस्ट्रेलियामा पछिल्ला करिब तीन दशकयताकै सबैभन्दा घातक गोलीकाण्डका रूपमा यस घटनालाई लिइएको छ, जसले देशभर गहिरो शोक र आघात सिर्जना गरेको छ।

न्यु साउथ वेल्सका प्रहरी आयुक्त माल लान्यनका अनुसार आक्रमणकारीहरू ५० वर्षीय साजिद अकरम र उनका २४ वर्षीय छोरा नवीद अकरम हुन्। घटनास्थलमै प्रहरीले साजिद अकरमलाई गोली हानेर मारिदिएको थियो भने नवीद अकरम घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्। प्रहरीका अनुसार नवीद अकरमलाई नियन्त्रणमा राखी कडा निगरानीमा उपचार भइरहेको छ।

अनुसन्धानबारे जानकारी पाएका अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै आएका अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार दुवै जना पाकिस्तानी नागरिक हुन्। साजिद अकरमको न्यु साउथ वेल्स ड्राइभर लाइसेन्सको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। त्यसका आधारमा अनुसन्धानकर्ताहरूले उनीहरूको गतिविधि र पृष्ठभूमि केलाइरहेका छन्। प्रहरीका अनुसार आक्रमणकारीमध्ये एकजना यसअघि नै सुरक्षा निकायको जानकारीमा रहे पनि तत्काल वा योजनाबद्ध आक्रमणबारे कुनै ठोस पूर्वसूचना प्राप्त भएको थिएन।

आइतबार साँझ करिब ६:४५ बजे, गर्मीको मौसमको आनन्द लिन हजारौं मानिसहरू बोन्डी बीचमा भेला भएका बेला गोलीकाण्ड शुरू भएको थियो। सोही समयमा समुद्रकिनार नजिकैको सानो पार्कमा ‘चानुकाह बाइ द सी’ कार्यक्रम आयोजना गरिएको थियो, जसले आठ दिनसम्म चल्ने हनुक्का पर्वको शुरूआत जनाउँथ्यो। प्रहरीका अनुसार उक्त कार्यक्रममा करिब १,००० जना सहभागी थिए।

प्रत्यक्षदर्शीहरूले करिब १० मिनेटसम्म लगातार गोली चलेपछि समुद्रकिनार क्षेत्रमा ठूलो अव्यवस्था मच्चिएको बताएका छन्। मानिसहरू बालुवामै दौडिँदै र नजिकका सडकतर्फ भाग्दै सुरक्षित स्थान खोजिरहेका देखिन्थे। सामाजिक सञ्जालमा फैलिएका केही भिडियोमा कालो लुगा लगाएका दुई व्यक्तिले बीचतर्फ झर्ने पैदल पुलबाट लामो बन्दुक प्रयोग गरी गोली चलाइरहेको दृश्य देखिन्छ।

साहसी सर्वसाधारणको हस्तक्षेप

व्यापक रूपमा भाइरल एक भिडियोमा एक सर्वसाधारणले साहसपूर्वक एक आक्रमणकारीलाई नियन्त्रणमा लिई निशस्त्र बनाएको देखिन्छ। न्यु साउथ वेल्सका मुख्यमन्त्री क्रिस मिन्सले उक्त व्यक्तिको खुलेर प्रशंसा गर्दै उनलाई ‘साँचो नायक’ भनेका छन्। उनका अनुसार ती कदमका कारण थप मानवीय क्षति हुनबाट जोगिएको हुनसक्छ। आफन्तका अनुसार ती व्यक्ति फलफूल पसल सञ्चालन गर्ने अहमद अल अहमद हुन्।

अधिकारीहरूका अनुसार मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको छ। सोमबार बिहानसम्म कम्तीमा ४२ जना घाइते अस्पतालमा उपचाररत थिए, जसमा केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घटनालगत्तै ठूलो संख्यामा एम्बुलेन्स टोली, विशेष प्रहरी इकाइ र अन्य आपतकालीन सेवाहरू परिचालन गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्