
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्यमा वृद्धि गरेको छ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो। यस्तै, पेट्रोलमा भने प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गरिएको छ। यो नयाँ मूल्यसूची पुस १ गते (मंगलबार) बिहान १२:०१ बजेदेखि लागू हुनेछ।
इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलको भाउ घटेर र पेट्रोलको भाउ बढेर आएकाले सोही अनुसार समायोजन गरिएको निगमले जनाएको छ। आईओसीबाट डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा घटेर आएको थियो भने पेट्रोलमा १ रुपैयाँ ९४ पैसा बढेर आएको थियो।
यो समायोजनसँगै अब काठमाडौं उपत्यकासहित पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ। यसअघि यो मूल्य १६१ रुपैयाँ थियो। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य भने घटेर १४२ रुपैयाँ कायम भएको छ।