१२ असार २०८३, शुक्रबार
जेनजी आन्दोलन

प्रहरीबाट लुटेको पेस्तोल लुकाउँदाको गोलचक्कर– साथीको झोला राखिदिँदा कारागारको बास

पुस ४, २०८२
काठमाडौं
प्रहरीबाट लुटेको पेस्तोल लुकाउँदाको गोलचक्कर– साथीको झोला राखिदिँदा कारागारको बास

काठमाडौं बसेर पढिरहेका झापा दमकका सरोज पुरी फुर्सदको समयमा इन्टेरियर डिजाइनसम्बन्धी काम सिक्दै आएका थिए । त्यही क्रममा भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो ।

पुरी २४ गते साँझतिर आन्दोलनकारीले जलाएको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पुगे । पुरीले त्यहाँ केही आन्दोलनकारीहरूले प्रहरीको हतियार लुट्दै गरेको देखे ।

उनी पनि प्रहरीको हतियार लिन जलिरहेको कार्यालयभित्र छिरे । त्यही मौकामा उनी दुईवटा पेस्तोल र २० राउन्ड गोली खल्तीमा राखेर कागेश्वरी मनोहरा नगरपालिका– ७ मा रहेको डेरातर्फ लागे ।

भदौ २५ मा चिया पिउन भन्दै पुरी गणेशमन्दिर गए । त्यहाँ उनले सरोज तिमिल्सिना नाम गरेका व्यक्तिसँग भेटे । पुरीले आफूसँग प्रहरीको दुईवटा पेस्तोल र २० राउन्ड गोली रहेको बताए ।

झापा जान लागेकाले उक्त हतियार राखिदिन आग्रह गरे । तर, तिमल्सिनाले आफू पनि झापा जान लागेको बताए । दुवैजना प्रहरीको लुटिएको हतियार बोकेर भदौ २६ गते झापा जाने रात्रि बस चढे ।

झापा पुगेपछि पनि उनीहरूले आफूलाई प्रहरीले पिछा गरेको हुन सक्छ भन्ने डरमा ग्रेन्डर मशिनले एउटा पेस्तोलको सिरियल नम्बर मेटाए ।

केही दिन बसेर तिमल्सिना पछि हतियार लिन आउँछु भन्दै काठमाडौं फर्किए । पुरीले भने सिरियल नम्बर मेटेको एउटा पेस्तोल र १५ राउण्ड गोली आफ्नै घरमा राखे ।

null

आफू चितवन जानुपर्ने भयो भन्दै पुरीले अर्को एउटा पेस्तोल र पाँच राउन्ड गोली आफ्ना साथी विश्वबन्धु लिङ्देन लिम्बूलाई दिए । एक हप्ताका लागि लिम्बूलाई पेस्तोल दिएका पुरी पुन: झापा पुगेर लिम्बूसँग फोन सम्पर्क गरे ।

लिम्बू सम्पर्कमा आएनन् । उता प्रहरीले पुरीलाई खोजिरहेको थियो । त्यही क्रममा मंसिर ७ गते पुरी नम्बर मेटाइएको पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ परे ।

पुरीले पेस्तोल र गोली राख्न दिएका लिम्बू मंसिर ८ मा पक्राउ परेका थिए । दमकमा चिया पसल सञ्चालन गरी बस्दै आएका लिम्बूको पसलमा पुरी र पवन हाङसुरुम्बा बेलाबखत जाने गरेका थिए ।

बच्चैदेखिका साथी उनीहरूमा खुलेर कुरा हुन्थ्यो । बहिनीको बिहेका लागि कुखुरा खोज्न गाउँ जान लाग्दा लिम्बूले पुरीले दिएको हतियार हाङसुरुम्बालाई दिएका थिए । तर, हाङसुरुम्बाले उक्त हतियार आफू घरमा राख्न नसक्ने जनाउ लिम्बूलाई दिए । प्रहरी लिम्बूको पनि खोजीमा थियो । हतियार व्यवस्थापन गर्न नपाउँदै लिम्बू पनि पक्राउ परे ।

null

इलामका हाङसुरुम्बा गाउँमा खेतीपाती गर्दै बसिरहेका थिए । कुखुरा खोज्न आएका लिम्बूले उनलाई हतियार भिडाइदिए ।

रातो झोलामा पेस्तोल र गोली राख्न दिएका लिम्बू गाउँमा कुखुरा खोज्न गएपछि उनले झोला खोतलेर हेर्दा पेस्तोल र गोली देखेपछि उनी झस्किए ।

तुरुन्तै लिम्बूलाई फोन गरेर हतियार घरमा राख्न नसकिने जनाउ दिएका थिए ।

‘पुरी एक हप्तापछि झापा आउँछ अनि दिउँला, अहिले घरबाहिर कतै गाडेर राखिदेऊ,’ भन्दै लिम्बूले अनुनयविनय गरेपछि हाङसुरुम्बाले बारीमा खाल्डो खनेर हतियार पुरेर राखेका थिए ।

null

कुन बेला लिम्बू आउला र हतियार दिउँला भनेर बसेका हाङसुरुम्बालाई प्रहरीले पक्राउ गर्‍यो । उनले घटनाको बेलिविस्तार लगाउँदै गाडेको पेस्तोल र पाँच राउन्ड गोली प्रहरीलाई बुझाए ।

झापाबाट काठमाडौं ल्याइएका पुरी, लिम्बू र हाङसुरुम्बालाई प्रहरीले हातहतियार तथा खरखजाना र आपराधिक उपद्रव मुद्दा चलायो ।

जिल्ला सरकारी वकिल कार्यालयले यही पुस २ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्‍यो । उक्त मुद्दामा तीनै जना बिहीबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

null

जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले यो टोलीलाई पक्राउ गर्न धेरै मेहनत गर्नुपरेको बताए ।

‘काठमाडौंदेखि प्रहरीको हतियार लुटेर झापा र इलामसम्म पुर्‍याई लुकाइराखेको यो टोलीलाई पक्राउ गर्न प्रहरीले धेरै मेहनत गर्नुपर्‍यो,’ भट्टराईले लोकान्तरसँग भने, ‘अदालतमा मुद्दा दर्ता भइकेकेको छ, उनीहरू पुर्पक्षका लागि कारागार चलान भएका छन् ।’

 

salt training

कमेन्ट गर्नुहोस्