
अमेरिकी गृह सुरक्षा मन्त्रालयले इलेक्ट्रोनिक डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी १) कार्यक्रम अस्थायी रूपमा रोक्न निर्देशन दिएको छ ।
रोयटर्सका अनुसार अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) लाई डीभी १ कार्यक्रम तत्काल लागू नहुने गरी स्थगित गर्न निर्देशन दिएकी हुन् ।
डाइभर्सिटी इमिग्रेन्ट भिसा कार्यक्रमअन्तर्गत हरेक वर्ष करिब ५० हजार आप्रवासी भिसा प्रदान गरिँदै आएको छ ।
विभिन्न मुलुकका नागरिकलाई अमेरिकामा स्थायी बसोबासको अवसर दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुँदै आएको हो ।
कार्यक्रम किन स्थगित गरिएको हो र कति समयसम्म रोकिने भन्नेबारे गृह सुरक्षा मन्त्रालयले हालसम्म कुनै स्पष्ट विवरण सार्वजनिक गरेको छैन ।
कार्यक्रम स्थगित भएपछि डीभीमार्फत अमेरिका जाने तयारीमा रहेका आवेदकहरू अन्योलमा परेका छन् ।
यस विषयमा यूएससीआईएस वा अमेरिकी गृह सुरक्षा मन्त्रालयबाट औपचारिक प्रतिक्रिया आएको छैन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गरी भएको गोलीकाण्डलाई यो निर्णयसँग जोडेर चर्चा गरेका छन् ।
पहिलेदेखि नै डीभी कार्यक्रमको विरोध गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाका अभियुक्त डीभीमार्फत अमेरिका भित्रिएको पुष्टि भएपछि कार्यक्रम नै स्थगित गर्ने निर्णय गरेको दाबी समाचारहरूमा गरिएको छ ।