
राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
आज बजारमा सबैभन्दा महँगो तरकारीका रूपमा कुरिलो देखिएको छ, कुरिलोको अधिकतम थोक मूल्य प्रतिकिलो १ हजार २०० रुपैयाँ पुगेको छ। यसैगरी पार्सले प्रतिकिलो ७०० रुपैयाँ, पुदिना ५०० रुपैयाँ र सेलरी ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, सिताके च्याउ र सुकेको माछाको मूल्य प्रतिकिलो १ हजार रुपैयाँ कायम भएको छ भने महँगो तरकारीमध्ये रातो बन्दा २०० रुपैयाँ र जिरीको साग २५० रुपैयाँसम्म पुगेको छ।
फलफूलतर्फ स्ट्रबेरीको मूल्य सबैभन्दा उच्च देखिएको छ, जसको अधिकतम मूल्य प्रतिकिलो ५०० रुपैयाँ रहेको छ। यस्तै, एभोकाडो ३५० रुपैयाँ र फूजी स्याउ ३२० रुपैयाँमा बिक्री भइरहेको छ। भान्सामा अत्यावश्यक मानिने ठूलो गोलभेडा (भारतीय) को मूल्य १२० रुपैयाँ पुग्दा नेपाली ठूलो गोलभेडा भने १०० रुपैयाँसम्ममा उपलब्ध छ। त्यस्तै, हरियो खुर्सानी (अकबरे) को मूल्य ३२० रुपैयाँ पुगेको छ भने लसुन सुकेको (चाइनिज) ३२० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी सेतो मूला (लोकल) को अधिकतम थोक मूल्य २० रुपैयाँ मात्र तोकिएको छ, जुन आजको बजारकै सबैभन्दा सस्तो तरकारीमध्ये एक हो।
त्यस्तै, भारतीय रातो आलु प्रतिकिलो २८ रुपैयाँ, स्कूस ३० रुपैयाँ र पाकेको फर्सी ४० रुपैयाँमा पाइन्छ। हिउँदे मौसमका कारण स्थानीय सेतो मूला र आलुको मूल्यमा आएको गिरावटले सर्वसाधारणलाई केही राहत दिएको छ।
सागपातमा रायोको साग प्रतिकिलो ५० रुपैयाँमा उपलब्ध रहँदा चम्सुर, पालुङ्गो र मेथीको साग भने १३० रुपैयाँसम्म पुगेको कालीमाटी बजार समितिले जनाएको छ।