२६ जेठ २०८३, मंगलबार

डिसेम्बरको पलेँटीमा आभासको प्रस्तुति, संसारभर लाइभ हेर्न सकिने

पुस ६, २०८२
काठमाडौं
डिसेम्बरको पलेँटीमा आभासको प्रस्तुति, संसारभर लाइभ हेर्न सकिने

अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जना प्रस्तुत हुने भएका छन् ।

२० वर्ष पहिले शुरू भएको पलेँटी कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन् ।

डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा अभिज्ञा घिमिरे रहनेछन् । अभिज्ञा एक वर्षदेखि पलेँटीसँग संगत गर्दै आएकी नयाँ पुस्ताकी कण्ठ-शिल्पी हुन् ।

यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको छ । आभास आफैं गीत लेखनमा क्रियाशील कलाकार हुन् । तर उनले अन्य गीतकारका रचनामा पनि धुन भर्ने गरेका छन् । साथै अन्य संगीतकारका धुनलाई स्वर दिनेसमेत गरेका छन् ।

नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र गाएका गरेर झन्डै एक दर्जन रचनाकारका शब्द र धुन समेटिएका छन् । त्यसैले यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको हो ।

यो पलेँटीका निम्ति आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेटेका छन् । उनले तयार पारेको सूचीमा संगीतकारहरू अम्बर गुरुङ, भीमबिराग र चन्द्र भण्डारी; गीतकारहरू कालीप्रसाद रिजाल, मञ्जुल, बूँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचना रहेका छन् ।

पलेँटीमा प्रस्तुत गर्नका निम्ति आभासले सीमापारिका नेपाली भाषी सर्जकका गीतलाईसमेत समेटेर अभ्यास गरिरहेका छन् । जसमा दार्जिलिङका पुराना गीतकार नरदेन रुम्बा र कवि सञ्जय बान्तावाका गीतहरू पनि रहेका छन् ।

आभास भन्छन्, ‘गीत, संगीत जीवन्त कला हो । यसले हरदम सर्जकहरूको संगत र सहकार्यको खोजी गरिरहेको हुन्छ । हामीले सञ्चालन गर्दै आएको पलेँटी त्यही खोजको एउटा पाटो हो । यसपालिको पलेँटी पनि त्यही खोजको निरन्तरता हो ।’

सन् २००५ को जनवरी महिनादेखि आरम्भ भएको पलेँटीले यही महिनाबाट आफ्नो २० औं वर्ष पूरा गर्दैछ । आउँदो २०२६ मा पनि पलेँटी निरन्तर रहने आयोजक संस्था नेपालयले जानकारी गराएको छ ।

यो महिनाको पलेँटी कार्यक्रम डिसेम्बर २६ तारिख शुक्रबार र २७ तारिख शनिबार कालिकास्थान स्थित नेपालयको ‘आर’शालामा आयोजना हुनेछ । टिकट लगायत यस कार्यक्रमको सम्पूर्ण जानकारी वेबसाइटमा उपलब्ध छ ।

पलेँटीलाई आर शालामा आएर प्रत्यक्ष अनुभव गर्न असमर्थ संसारभरका संगीत प्रेमीलाई घरमै बसेर फोन वा टिभीमा प्रत्यक्ष अनुभव गर्न, पलेँटीलाई लाइभ हेर्ने व्यवस्था पनि गरिएको छ । पलेँटीकै वेबसाइटमार्फत् पे पर भ्युको अवधारणा अनुरूप यो सेवा प्रयोग गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्