३० असार २०८३, मंगलबार

१७ करोडमा बन्यो १५ शय्याको नगर अस्पताल

पुस ७, २०८२
नवलपुर
१७ करोडमा बन्यो १५ शय्याको नगर अस्पताल

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । 

मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । 

२०७९ मंसिरमा शिलान्यास गरी भवन निर्माण शुरू गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए ।

चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल पुनःनिर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए ।

भवनको आइतबार उद्घाटन गरिएको छ । ४२ कोठासहितको दुई तलको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगर प्रमुख अधिकारीले बताए ।

नवनिर्मित अस्पताल भवनमा बहिरङ्ग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरंग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष रहेका छन् । 

सुविधा सम्पन्न पूर्वाधारको अस्पताल निर्माण भएको र अब गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सेवाहरू थप गर्नेक्रममा रहेको नगर प्रमुख अधिकारीले बताए । 

मध्यविन्दु नगर अस्पतालबाट मध्यविन्दु नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दालाईसमेत स्वास्थ्य सेवा लिन पायक पर्ने नगर प्रमुख अधिकारीले जनाए । 

पन्ध्र शय्याको अस्पताल निर्माण भएसँगै स्वास्थ्य उपचार सेवासमेत विस्तार गरिँदै लैजाने उनले बताए ।

यसै, महिनादेखि एमडिजिपीसहित, दैनिक रूपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्ने गरी काम अगाडि बढाएको नगरप्रमुख अधिकारीले बताए । बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नी लगायतका सेवा प्रदान गर्ने तयारी छ । 

अस्पतालमा आँखा अस्पताल पनि सञ्चालनमा ल्याइएको छ । शल्यक्रियासहितको आँखा उपचार सेवा शुरू गरिएकाले यस क्षेत्रका आँखाका बिरामीले थप लाभ लिन सक्ने उनले बताए । ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रूपमा आफ्नै घर नजिक स्वास्थ्य सेवा लिनका लागि नगर अस्पतालले सहयोग पुग्ने नगर प्रमुख अधिकारी बताउँछन् ।

‘सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुँदा यस क्षेत्रका बासिन्दालाई नजिकै सहज रूपमा स्वास्थ्य उपचार सेवा लिन सहज हुने छ’, नगर प्रमुख अधिकारीले भने । 

मध्यविन्दु नगर अस्पतालमा अहिले दैनिक रूपमा करिब तीन सय बिरामीले उपचार सेवा लिइरहेको अस्पतालका प्रमुख अमरेशचन्द्र साहले जानकारी दिए । अस्पतालले आकस्मिक उपचार सेवासमेत सञ्चालन गरेको प्रमुख साहले बताए ।

पूर्व–पश्चिम राजमार्गसँगै रहेकाले मध्यविन्दु आसपास राजमार्ग क्षेत्रमा सम्भावित दुर्घटनाका घाइतेलाई समयमै उपचार सेवा उपलब्ध गराउनका लागि नगर अस्पतालले सहयोग पुग्ने उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्