०९ साउन २०८३, शनिबार
रोकिएन रुस-युक्रेन युद्ध

युक्रेनको ओडेसा क्षेत्रमा रुसको व्यापक हमला, सामुद्रिक पूर्वाधार जोखिममा

पुस ८, २०८२
काठमाडौं
युक्रेनको ओडेसा क्षेत्रमा रुसको व्यापक हमला, सामुद्रिक पूर्वाधार जोखिममा

रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा आक्रमण तीव्र पारेको छ । पछिल्ला आक्रमणका कारण व्यापक विद्युत् अवरोध भएको छ भने सामुद्रिक पूर्वाधारसमेत जोखिममा परेको छ ।

युक्रेनका उपप्रधानमन्त्री ओलेक्सीय कुलेबाले मस्कोले ओडेसामा ‘व्यवस्थित रूपमा’ आक्रमण गरिरहेको बताएका छन् । गत साता उनले युद्धको केन्द्र ओडेसातर्फ सर्न सक्ने चेतावनी दिएका थिए ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बारम्बार भइरहेका यी आक्रमण युक्रेनको समुद्री यातायात र रसद पहुँच रोक्ने प्रयास भएको बताएका छन् । यसअघि डिसेम्बरको शुरूआतमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कालो सागरमा रुसको ‘छायाँ फ्लीट’का ट्यांकरमाथि ड्रोन आक्रमण भएपछि बदला स्वरूप युक्रेनको समुद्रसम्मको पहुँच काट्ने धम्की दिएका थिए ।

‘छायाँ फ्लीट’ भन्ने शब्दले सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमणपछि पश्चिमी देशहरूले लगाएका प्रतिबन्ध छल्न रुसले प्रयोग गर्दै आएका सयौं ट्यांकरलाई जनाउँछ ।

ओडेसा क्षेत्रका गभर्नरका अनुसार सोमबार साँझ भएको आक्रमणमा बन्दरगाहको पूर्वाधारमा क्षति पुगेको छ भने एउटा नागरिक जहाज पनि प्रभावित भएको छ । यो पछिल्ला दिनहरूमा भएका सयौं आक्रमणमध्ये एक हो, जसका कारण क्षेत्रको विद्युत् आपूर्ति लगातार अवरुद्ध भएको छ र केही मानिसको ज्यानसमेत गएको छ ।

आइतबार राति भएका आक्रमणपछि एक लाख २० हजार मानिस विद्युत्‌विहीन भएका थिए । त्यस्तै, एक प्रमुख बन्दरगाहमा आगलागी हुँदा पीठो र तरकारी बोकेका दर्जनौं कन्टेनर जलेर नष्ट भएका थिए ।

गत साता ओडेसाको पूर्वतर्फ रहेको पिभ्देन्नी बन्दरगाहमा भएको ब्यालेस्टिक मिसाइल आक्रमणमा आठ जनाको मृत्यु भएको थियो भने कम्तीमा ३० जना घाइते भएका थिए । यसअघि हप्ताको शुरूमा भएको अर्को आक्रमणमा तीन सन्तानसँग कारमा यात्रा गरिरहेकी एक महिलाको ज्यान गएको थियो । सो आक्रमणका कारण युक्रेन र मोल्डोभालाई जोड्ने ओडेसा क्षेत्रको एक मात्र पुल पनि अस्थायी रूपमा बन्द भएको थियो ।

जेलेन्स्कीले सप्ताहन्तमा वायुसेनाका कमाण्डर दिमित्रो कार्पेन्कोलाई बर्खास्त गरेपछि ओडेसा क्षेत्रका लागि नयाँ वायुसेना कमाण्डर चाँडै नियुक्त गरिने संकेत दिएका छन् ।

ओडेसा बन्दरगाह युक्रेनको अर्थतन्त्रका लागि सधैँ महत्त्वपूर्ण मानिँदै आएको छ । किभ र खार्किभपछि ओडेसा युक्रेनको तेस्रो ठूलो शहर हो । जापोरिज्झिया, खेरसोन र मिकोलेइभ क्षेत्रका बन्दरगाह रुसी नियन्त्रणमा रहेकाले ओडेसाको रणनीतिक महत्त्व झन् बढेको छ ।

युद्धका बाबजुद युक्रेन विश्वका प्रमुख गहुँ र मकै निर्यातक मुलुकमध्ये एक रहँदै आएको छ । सन् २०२३ को अगस्टदेखि ओडेसाबाट रोमानिया र बुल्गेरियाको तट हुँदै टर्कीसम्म पुग्ने समुद्री मार्ग प्रयोग गरी अन्न निर्यात भइरहेको छ ।

ओडेसाका नागरिकमाथि रुसले ‘अराजकता फैलाइरहेको’ आरोप लगाउँदै आएका जेलेन्स्कीले रुसमाथि दबाब नपरेसम्म उसले आक्रामकता अन्त्य गर्ने कुनै वास्तविक इच्छा नराखेको टिप्पणी गरेका छन् ।

उनको यो अभिव्यक्ति अमेरिकाको नेतृत्वमा मियामीमा सम्पन्न कूटनीतिक प्रयासपछि आएको हो । अमेरिकाले युक्रेन र रुसका प्रतिनिधिमण्डलसँग अलग–अलग भेट गरेको भए पनि युद्ध अन्त्यतर्फ ठोस प्रगति भने देखिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफले युक्रेनका प्रतिनिधि रुस्तेम उमेरोभसँग २० बुँदे शान्ति प्रस्तावमा धारणा मिलाउने काम भएको बताएका छन् । यो प्रस्ताव नोभेम्बरमा अमेरिकाले अघि सारेको र मस्को पक्षधर मानिएको प्रस्तावको विकल्पका रूपमा युक्रेनले प्रस्तुत गरेको हो ।

तर रुसी प्रतिनिधि किरिल दिमित्रिएभ फ्लोरिडाबाट मस्को फर्कनुअघि नै क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले युरोप र युक्रेनले प्रस्तावमा गरेको संशोधनले शान्तिको सम्भावना नबढ्ने बताएका थिए ।

सोमबार रुसी उपविदेशमन्त्री सेर्गेई रियाब्कोभले युरोपेली संघका देशहरूले रुस–अमेरिका सम्भावित सहमति विफल पार्ने प्रयास गरिरहेको आरोप लगाए । उनले युरोपेली मुलुकहरू रुसले आक्रमण गर्न सक्छ भन्ने ‘अतिरञ्जित डर’मा ग्रस्त रहेको पनि बताए ।

रियाब्कोभका अनुसार रुसले युरोपेली संघ वा नाटोमाथि आक्रमण नगर्ने कुरा कानूनी सम्झौतामार्फत् पुष्टि गर्न तयार छ । यसअघि राष्ट्रपति पुटिनले पनि नोभेम्बरमा युरोपमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्