
पछिल्लो समय नेपाली बजारमा केराको अभाव देखिनुका साथै मूल्य पनि आकासिएको छ ।
सबैभन्दा कम केरा खपत हुने हिउँदको सिजनमा पनि केराको अभाव हुँदै मूल्य २०० देखि २५० रूपैयाँसम्म दर्जन पुगेको छ ।
फलफूलको सबैभन्दा ठूलो खपत हुने काठमाडौं उपत्यकाभित्र पछिल्लो एक महिनादेखि सीमित स्थानहमा सीमित केरा मात्रै पाउन थालेका छन् । त्यसबाहेक अधिकांश फलफूल पसलमा केरा नै छैन ।
फलफूल बजार व्यवसायी संघ कुलेश्वरका अनुसार काठमाडौं उपत्यकामा स्वदेशी तथा भारतीय केरा १ प्रतिशत पनि छैन । बजारमा एक महिनादेखि केराको अभाव रहेको फलफूल व्यवसायी संघ कुलेश्वरले जनाएको छ ।
बजारमा केराको अभाव भएको र अभावकै समयमा विभिन्न माध्यममार्फत अवैध रूपमा केराको आपूर्ति भइरहेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानिया बताउँछन् । उपभोक्ता महँगाइमा र किसान मारमा परिरहेको उनको भनाइ छ ।
‘हिउँदको समयमा केराको खपत निकै कम हुन्छ । जस्तै; ६ ट्रक दैनिक खपत अरुबेला हुन्छ भने अहिले १ ट्रक मात्रै हुने हो । तर, बजारमा त्यो एक ट्रक केरा पनि पुर्याउन सकिएको छैन’, उनले भने, ‘भारतीय केरा त असोजदेखि आएको छैन । त्यसबाहेक नेपाली केरा पनि अपुग छ । बजारमा केरा १ प्रतिशतभन्दा कम होला । कहीँ कतै अवैध रूपमा आइरहेका पनि छन् । जुन हाम्रो पहुँचभन्दा बाहिर हुन्छ ।’
बजारको माग भन्दा आन्तरिक उत्पादन कम भएको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्त स्वीकार्छन् । पछिल्लो समय रोग र समयमै भारतीय केरामा रोक नलगाउँदा किसान मारमा परेको उनको भनाइ छ ।
‘महासंघबाट सबै प्रदेशका किसानलाई भारतीय केरा नल्याउनका लागि अनुरोध गरेका थियौं तर पनि दशैंको समयमा भारतबाट केरा आयो । नेपाली किसान घाटामा गए । अहिले हाम्रो उत्पादनले बजार चलाउन सकिँदैन’, उनले भने, ‘अहिलेको समय केरा कम उत्पादन हुने समय हो । बजारको मग अनुसार हामीले पुर्याउन सकेका छैनौं । तर, पूर्वदेखि पश्चिमसम्म नेपाली केरा पसलमा छन् । अहिले किसानले सानै भए पनि बजार पाएका छन् ।’
उनका अनुसार दशैंअघि केही किसानको बारीमा केरा ओइलाउने रोगको टीआर–४ प्रजाति भेटिएको थियो । फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीका कारण केरामा लाग्ने रोग नै पानामाको टीआर–४ प्रजाति हो । विश्वका अन्य मुलुकमा समेत व्यापक रूपमा फैलिइरहेको यो रोग जटिल किसिमको हुने उनको भनाइ छ । नेपालको व्यावसायिक खेतीलाई यस रोगले नष्ट गर्न सक्ने भएको भारतबाट आउने केरा आयातमा रोक लगाउन पटक-पटक प्राकृतिक स्रोत समितिलाई भन्दै आएको उनी बताउँछन् ।
गत असोज २ गतेदेखि प्राकृतिक स्रोत समितिको निर्णय अनुसार अन्तरिम सरकारले प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रमार्फत भारतीय केरा आयातमा रोक लगाएको हो । भारतीय केरा आयातमा रोक लगाउनका लागि अन्तरिम सरकारले क्वारेनटाइनको सबैभन्दा अन्तिम हतियार डिप्लोमेटिक स्तरमा जैविक सुरक्षाको कारण देखाउँदै यो कदम अगाडि बढाएको हो ।
जैविक सुरक्षाको कारण भारतीय केरामा प्लान्ट क्वारेनटाइनबाट रोक लगाइएको प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी प्रकाश पौडेलले जानकारी दिए । क्वारेनटाइनले भारतीय केरा आयातमा रोक नभएर सुरक्षाका सर्तहरू लगाएको उनको भनाइ छ ।
‘केरा आयातमा रोक लगाएको होइन । हामीले रोक लगाउँदैनौं, क्वारेनटाइनले सर्त दिएको छ । जुन जैविक सुरक्षा अन्तर्गत पर्दछ’, उनले भने, ‘भारतबाट जोखिम विश्लेषणका तथ्यांक माग गरेका हौं । त्यसैको आधारमा जोखिम विश्लेषण गरेर सर्त निर्धारण गर्ने हो । ती सर्तहरू पूरा गरेका केरालाई ल्याउन दिने हो ।’
जेनजी आन्दोलनपछि भएको प्राकृतिक स्रोत समितिको बैठकमा किसानका छाता संगठनहरूले भारतीय केराको आयातमा रोक लगाउन एउटा निवेदन दिएका थिए । उक्त निवेदनकै आधारमा अन्तरिम सरकारले डिप्लोमेसीको सबैभन्दा ठूलो र अन्तिम हतियार प्रयोग गरेको हो ।
यो कदम भन्दा अघि थुप्रै विकल्पमार्फत् भारतीय केरा आयातमा रोक लगाउन सकिने कृषि मन्त्रालयका केही कर्मचारी बताउँछन् । अहिले सरकारले लिएको कदम सोच विचार नगरेर हतारोमा गरेको उनीहरूको भनाइ छ ।