२२ असार २०८३, सोमबार

राष्ट्रिय सेवा दलबाट २ हजार २२० जना दीक्षित

पुस १०, २०८२
नवलपरासी
राष्ट्रिय सेवा दलबाट २ हजार २२० जना दीक्षित

नेपाली सेना, राष्ट्रिय सेवा दलमार्फत दोस्रो चरणको सामूहिक क्याम्पमा २ हजार २२० जना छात्रछात्रा दीक्षित भएका छन् । राष्ट्रिय सेवा दलमार्फत सञ्चालित ५१ औं ब्याचको दोस्रो चरणको जुनियर डिभिजन एनसीसी तालिममा सहभागी विद्यार्थी दीक्षित भएका हुन् ।

चालु आर्थिक वर्ष २०८२/८३ मा कुल सात हजार ७१० जना छात्रछात्रा सहभागी थिए । जसमध्ये आज २ हजार २२० जना दीक्षित गरिएको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यमप्रसाद ढकालले बताए ।

चार वटा शिक्षालयमा ७७ जिल्लाका छात्रछात्रा सहभागी हुने उक्त तालिममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ हात्ती खोरमा रहेको राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालयमा ५६३ जना छात्रछात्रा दीक्षित भएका छन् ।

समापन समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यमप्रसाद ढकालले तालिममा सहभागी क्याडेटलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

महानिर्देशक उपरथी ढकालले एनसीसी तालिम नेपालको युवापुस्तालाई अनुशासित, जिम्मेवार र राष्ट्र प्रेमी नागरिक बनाउन महत्वपूर्ण आधार स्तम्भ भएको बताए ।

null

उनले क्याडेटलाई प्राप्त गरेको तालिमलाई आफ्नो व्यक्तिगत जीवन, शैक्षिक यात्रा र समुदाय विकासमा उपयोग गर्न आग्रह गरे ।

उपरथी ढकालले एनसीसी तालिमको स्थापना इतिहास, यसको महत्त्व, राष्ट्रिय सुरक्षा चेतना अभिवृद्धिमा यसको योगदान तथा भविष्यमा विद्यार्थीले पाउन सक्ने अवसरहरूबारे चर्चा गरे ।

यस वर्षको जुनियर डिभिजन तालिमअन्तर्गत मध्य पश्चिम शिक्षालयबाट दोस्रो चरणमा १९ विद्यालयका २८१ छात्र र २८२ छात्रा सहभागी भएको शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईंले बताए ।

तालिममा क्याडेटहरूले शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व विकास, टोली समन्वय, सामाजिक उत्तरदायित्व र राष्ट्रिय सेवासम्बन्धी विभिन्न अभ्यास तथा कक्षाहरू पूरा गरेका थिए ।

समापन समारोहमा शिक्षालयका प्रमुख, प्रशिक्षक, विद्यालयका प्रतिनिधि, स्थानीय सरोकारवाला, अभिभावक तथा क्याडेटहरूको उल्लेख्य उपस्थिति थियो ।

साथै विद्यार्थीहरूले डेमो प्रदर्शन, ब्यान्ड मार्च, सांस्कृतिक प्रस्तुति दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्