
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाको उत्तर–पश्चिमी क्षेत्रमा इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अमेरिकी सेनाले ‘घातक र शक्तिशाली’ आक्रमण गरेको बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै इस्लामिक स्टेटलाई आतंकवादी फोहरको संज्ञा दिएका छन् ।
उनले उक्त समूहले मुख्यतः निर्दोष ख्रिस्टियनहरूलाई लक्षित गर्दै क्रूर रूपमा हत्या गरिरहेको आरोप पनि लगाएका छन् ।
उनका अनुसार अमेरिकी सेनाले धेरै वटा पूर्ण रूपमा सफल आक्रमण गरेको छ । तर ती आक्रमण कहिले र कुन–कुन स्थानमा गरिएको हो भन्नेबारे उनले कुनै विवरण दिएका छैनन् ।
हालसम्म कुन–कुन लक्ष्यमा आक्रमण गरियो र कहिले गरियो भन्ने स्पष्ट छैन । गत नोभेम्बरमा ट्रम्पले नाइजेरियामा सक्रिय इस्लामवादी लडाकु समूहविरुद्ध कारबाहीको तयारी गर्न अमेरिकी सेनालाई निर्देशन दिएका थिए ।
नाइजेरिया सरकारले ती आक्रमणबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन ।
शुक्रबार बिहान ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्, ‘मेरो नेतृत्वमा हाम्रो देशले कट्टर इस्लामिक आतंकवादलाई फस्टाउन दिने छैन ।’
नोभेम्बरमा दिएको चेतावनीका क्रममा ट्रम्पले कुन–कुन हत्याको सन्दर्भ दिएका हुन् भन्ने स्पष्ट पारेका थिएनन् । पछिल्ला महिनाहरूमा अमेरिकाका केही दक्षिणपन्थी समूहहरूमा नाइजेरियामा ख्रिस्टियनहरूमाथि ‘नरसंहार’ भइरहेको दाबी फैलिएको छ ।
तर हिंसा अनुगमन गर्ने संस्थाहरूले नाइजेरियामा मुस्लिमभन्दा ख्रिस्टियन बढी मारिएका छन् भन्ने कुनै प्रमाण नरहेको बताएका छन् । नाइजेरियाको जनसंख्या झण्डै बराबरी रूपमा मुस्लिम र ख्रिस्टियन समुदायमा विभाजित छ ।
त्यतिबेला नाइजेरियाका राष्ट्रपति बोला टिनुबुका सल्लाहकार ड्यानियल ब्वालाले जिहादी समूहविरुद्ध हुने कुनै पनि सैन्य कारबाही संयुक्त रूपमा गरिनुपर्ने बताएका थिए ।
उनले नाइजेरिया एक सार्वभौम देश भएको उल्लेख गर्दै इस्लामवादी विद्रोहीविरुद्ध अमेरिकाको सहयोग स्वीकार्य हुने बताए ।
उनका अनुसार ती जिहादी समूहले कुनै विशेष धर्मका मानिसलाई मात्र लक्षित गरेका छैनन् । उनीहरूले सबै धर्मका, वा कुनै धर्म नमान्ने व्यक्तिहरूको समेत हत्या गरेका छन् ।
राष्ट्रपति टिनुबुले देशमा धार्मिक सहिष्णुता रहेको दाबी गर्दै सुरक्षा चुनौतीले सबै धर्म र क्षेत्रका मानिसलाई असर गरिरहेको बताएका छन् ।
यसअघि ट्रम्पले नाइजेरियालाई ख्रिस्टियन समुदायका लागि अस्तित्वगत खतरा रहेको भन्दै कन्ट्री अफ पार्टिकुलर कन्सर्न घोषणा गरेका थिए । उनले हजारौं ख्रिस्टियन मारिएको दाबी गरे पनि त्यसको कुनै प्रमाण प्रस्तुत गरेका थिएनन् ।
यो वर्गीकरण अमेरिकी विदेश मन्त्रालयले गम्भीर धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने मुलुकहरूमाथि प्रतिबन्ध लगाउन प्रयोग गर्ने व्यवस्था हो ।
यस घोषणापछि राष्ट्रपति टिनुबुले सबै धर्मका समुदायको सुरक्षा सुनिश्चित गर्न अमेरिका र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्लुएपी) जस्ता जिहादी समूहले एक दशकभन्दा बढी समयदेखि नाइजेरियाको उत्तर–पूर्वी क्षेत्रमा हिंसा मच्चाउँदै आएका छन् । राजनीतिक हिंसा विश्लेषण गर्ने संस्था एसीएलईडीका अनुसार ती हिंसामा मारिएका अधिकांश व्यक्ति मुस्लिम छन् ।
केन्द्रीय नाइजेरियामा भने पानी र चरनभूमिको पहुँचलाई लिएर मुस्लिम गोठाला र ख्रिस्टियन किसानबीच बारम्बार झडप हुने गरेको छ । ती आक्रमणमा हजारौं मानिस मारिएका छन् ।
मानव अधिकारवादी संस्थाहरूले ख्रिस्टियन समुदायलाई असमान रूपमा लक्षित गरिएको कुनै प्रमाण नरहेको बताएका छन् ।
यसैबीच, गत साता अमेरिकाले सिरियामा इस्लामिक स्टेटविरुद्ध विशाल आक्रमण गरेको जनाएको थियो । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार लडाकु विमान, आक्रमण हेलिकप्टर र तोपखानाले सिरियाको मध्य क्षेत्रमा ७० भन्दा बढी लक्ष्यमा आक्रमण गरेका थिए । ती आक्रमणमा जोर्डनका विमानसमेत संलग्न थिए ।