
आगामी महाधिवेशनको विषयमा लामो समय गुजार्दै निष्कर्षमा पुगेको नेपाली कांग्रेस पुनः मंसिर १५ को अवस्थामा फर्किएको छ । पुस अन्तिमका लागि महाधिवेशन तालिका सार्वजनिक गरेको कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने बहस फेरि एकपटक सतहमा आएसँगै कांग्रेस पुरानै अवस्थामा फर्किएको हो ।
गत मंसिर १५ मा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसहमतिमा कार्यतालिका घोषणा गर्दै पार्टी महाधिवेशनको मिति तोकेको थियो। उक्त बैठकले पुस १६ गते वडा अधिवेशन शुरू गरेर २६ देखि २८ सम्म राजधानी काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन आउन ५ दिन र केन्द्रीय महाधिवेशन आउन १५ दिन बाँकी छ। पार्टीको तयारी हेर्दा तोकिएको मितिमा पार्टी अधिवेशन नहुने लगभग निश्चित भइरहेको छ ।
हालसम्म क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य नै सम्पन्न भएको छैन ।
निर्वाचन समिति संयोजक खम्मबहादुर खातीका अनुसार क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिले निर्वाचन समितिलाई बुझाएपछि मात्रै महाधिवेशनको कार्य अगाडि बढ्छ । त्यसपछि मात्रै देशभर प्रतिनिधि खटाउने तथा महाधिवेशनका अन्य आवश्यक गतिविधि बढ्ने उनले बताए । 'टाइट सेड्युल'मा जाँदा पनि कम्तीमा एक महिना समय लाग्ने उनी बताउँछन् ।
‘पार्टीको कार्यतालिका अनुसार महाधिवेशन हुन्छ/हुँदैन त्यो मैले भन्ने कुरा होइन,’ उनले भने, ‘तर, क्रियाशीलको फाइनल सूची आएको कम्तीमा एक महिनाभित्र मात्र केन्द्रीय महाधिवेशन गराउन सकिन्छ।’
तालिका अनुसार काम अगाडि नबढ्दा कांग्रेसको पुस मसान्तमा केन्द्रीय महाधिवेशन नहुनेमा सबै नेताहरू ढुक्क देखिएका छन् । यस्तै महाधिवेशनका लागि आवश्यक विधान व्यवस्थापन समिति, महाधिवेशन आयोजक समिति लगायत अन्य आवश्यक काम पनि पार्टीले अघि बढाएकै छैन ।
क्रियाशील व्यवस्थापन समिति संयोजक समेत रहेका महामन्त्री गगन थापा पनि महाधिवेशन नहुने विषयमा निश्चिन्त बनिसकेका छन् । निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि थापाले तीन तहको अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गर्नुपर्ने र पुस अन्तिम मै १५ औं महाधिवेशन गर्नुपर्ने धारणा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राखिसकेका छन् ।
थापालेकार्यतालिकामा १६ गते गर्ने भनिएको वडा अधिवेशन २१ गते गर्ने र २१ र २२ गतेको क्षेत्रीय अधिवेशन २३ गते गरेर पुस २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेका हुन् । उनले बाँकी रहेका गाउँ नगर अधिवेशन, प्रदेशसभा क्षेत्र, जिल्ला, प्रदेश लगायत अन्य संरचनाको अधिवेशन २१ फागुनको निर्वाचनपश्चात गर्न सकिने प्रस्ताव राखेका छन् ।
थापाको प्रस्तावअनुसार पनि पार्टीले अधिवेशन गर्ने तयारी गरेको छैन । सभापति शेरबहादुर देउवा निकट संस्थापन समूहले भने कार्यतालिका अनुसार सबै तहको अधिवेशन गर्दै केन्द्रीय अधिवेशन गर्नुपर्ने मत राख्दै आएको छ। ‘१० पटक कार्यतालिका संशोधन गर्ने कुरा हुँदैन । पूर्णरूपमा सबै तहको अधिवेशन हुने गरी कार्यतालिका ल्याउने र अधिवेशन गर्नुपर्छ,’ नेता एनपी साउद भन्छन्
महामन्त्रीद्वय भन्छन्- अब विशेष महाधिवेशन
कार्यतालिका संशोधन गरेर तीन तहको अधिवेशन नगर्ने भए विशेष महाधिवेशन हुने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको मत छ।
नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको अधिकार सुरक्षित भएको भन्दै उनीहरूले पार्टी अब विशेष महाधिवेशनमा जाने अडान राख्न थालेका छन् ।
शुक्रबार मात्र विशेष महाधिवेशन पक्षधर नेताहरूले नियमित महाधिवेशन नगर्ने भए विशेष महाधिवेशन गर्नुपर्छ भन्दै स्मरण पत्र बुझाएका छन् । यो समूहले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै २ हजार ४८८ जनाले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए ।
४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण देखाउँदै हस्ताक्षर गरेर अधिवेशन माग गरे तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ।
उक्त हस्ताक्षरलाई आधार बनाएर नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशन गर्नुपर्ने धारणा महामन्त्रीद्वयसहित विशेष महाधिवेशन पक्षधरको छ।
‘नियमित महाधिवेशन हुने विश्वस्त आधार देखिएन । नियत थाहा भएन । त्यसैले हामीले मागेको विशेष महाधिवेशनको माग पुष्टि भएको छ,’ नेता देवराज चालिसेले भने, ‘विधान बमोजिम मागिएको विशेष महाधिवेशन होस् भनी स्मरण पत्र बुझाएका छौं ।’
जसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि सहमत भएका छन् ।
‘विशेष महाधिवेशनको प्रस्ताव दर्ता हुँदा नै मंसिरभित्र नियमित महाधिवेशन गरेमा विशेष महाधिवेशनको प्रस्ताव स्वतः निष्क्रिय हुने भनिएको थियो,’ महामन्त्री थापाको मत छ, ‘पुस मसान्तसम्ममा विशेष महाधिवेशन गर्ने विषय हाम्रो ऐच्छिक विषय होइन । अनिवार्य विषय रह्यो, किनभने पुस मसान्तमा नियमित महाधिवेशन नभए पछि विशेष महाधिवेशन हुन्छ।’
अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशन हुने बताउँछन् ।
यता, संस्थापन निकट नेताहरू भने नियमित महाधिवेशनमा पार्टी गइसकेको भन्दै विशेष महाधिवेशन कुनै पनि हालतमा नहुने बताउँछन् ।
सहमहामन्त्री महेन्द्र यादवले आफूले पहिले नै केन्द्रीय समिति बैठकमा वैशाखको कार्यतालिका प्रस्तुत गरेको स्मरण गर्दै पार्टी नियमित महाधिवेशनमा गइसकेको दाबी गरे । सबै तहको अधिवेशन हुँदै आउने भन्दै क्रियाशीलको काम सकेर पार्टी महाधिवेशन हुने उनको भनाइ छ ।
‘प्राक्टिकल कुरा गरौं, क्रियाशील फाइनल नभई अधिवेशन हुँदैन । पहिले क्रियाशील फाइनल भएर हुँदै वडाबाट शुरू भएर केन्द्रीय अधिवेशन हुन्छ,’ सहमहामन्त्री यादव भन्छन्, ‘नियमित महाधिवेशनमा हामी लागेका छौं । विशेष महाधिवेशन हुँदैन, नियमित महाधिवेशन हुन्छ।’