२१ असार २०८३, आइतबार
बुटवल क्याम्पसका पहिलो ‘गोल्ड मेडलिस्ट’

‘गोल्ड मेडलिस्ट’ कमलको दैनिकी : दिनभर जनताको काम, बिहान-बेलुका पढाइ

पुस १२, २०८२
बुटवल
‘गोल्ड मेडलिस्ट’ कमलको दैनिकी : दिनभर जनताको काम, बिहान-बेलुका पढाइ

पाल्पाको तानसेन स्थायी घर भएका कमल पौडेल सानैदेखि पढाइमा अब्बल थिए । विद्यालय तहको पढाइमा पहिलो/दोस्रो हुने उनी पढ्दै जाँदा आफ्नो मेहेनतमा निखारता ल्याउँदै अघि बढिरहे । 

स्नातक तह पूरा गरी पहिलो प्रयासमै निजामती सेवाको अधिकृत तहको सेवामा प्रवेश गरेका कमल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा सर्वोकृष्ट भएर आफ्नो नाम अब्बल विद्यार्थीमा ‘दर्ज’ गराउन सफल भएका छन् । दिउँसो नागरिकलाई सार्वजनिक सेवा दिएर बिहान साँझ अध्ययन गरेका कमल बिहीबार त्रिविको ५१ औं दीक्षान्त समारोहमा अर्थशास्त्र ‘एमए’मा ‘गोल्ड मेडलिस्ट’ बनेर हजारौं विद्यार्थीबीच ३ वटा पदक पदकका साथ पुरस्कृत हुन सफल भएका हुन्  । 

बुटवल बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर (एमए) गरेका उनले ३.७७ जीपीए ल्याएर उत्तीर्ण गरेका थिए । त्यो नै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा सर्वोकृष्ट हुने अंक बन्न पुग्यो ।

कुनै बेला साविक पश्चिमाञ्चलकै धेरै विद्यार्थी अध्ययन गर्ने बुटवल बहुमुखी क्याम्पसबाट कमल पहिलो गोल्ड मेडलिस्ट पाउने विद्यार्थी बनेका पनि छन् । हजारौंको भिडमा अर्थशास्त्र संकायमा अध्ययनरत विद्यार्थीमध्ये सर्वोत्कृष्ट घोषित भएर गलामा गोल्ड मेडल पहिरिँदाको क्षण आफ्ना लागि ‘गोल्डेन’ बन्न पुगेको पौडेल सुनाउँछन् । 

उनले त्रिविबाट तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पदक पनि प्राप्त गरेका छन् । 

तानसेन नगरपालिका–३ भगवती टोलका ३२ वर्षीय कमल सोही ठाउँको पदम पब्लिक नमूना सामुदायिक स्कूलबाट एसएलसीमा ८२ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएका थिए । पाल्पाबाट विज्ञान विषयमा उनले ८० प्रतिशत अंक ल्याएर ‘प्लस टु’ उत्तीर्ण भए भने, स्नातक तह काठमाडौंस्थित पुल्चोक इन्जिनियरिङ कलेजबाट मेकानिकल इन्जिनियरिङमा ८० प्रतिशत अंक ल्याएर पास गरेका थिए ।

‘मैले विद्यालय तह सामुदायिक स्कूलबाट पूरा गरेको हुँ’ कमल भन्छन्, ‘सरकारी सेवा प्रवेशसँगै ‘डिग्री’ पूरा गर्न पाएको थिएन, जागिर बुटवलमा शुरू गरेपछि पढाई पूरा गर्ने चाहना थियो । बुटवल झरेर जागिरसँगै क्याम्पस भर्ना भएर कार्यालय समय सकिएपछि साँझ ‘क्लास’ लिन नजिकैको बुटवल क्याम्पस जान्थेँ । गोल्ड मेडलिस्ट बन्छु भनेर पढेको होइन, रहरले आफ्नो सेवामा समेत सहयोगी बन्न पुगोस् भनेर पढेको थिएँ । सर्वोकृष्ट बनेपछि त म देशभर चिनिने अवसर पाएँ ।’

कमल २०७३ मा पहिलो प्रयासमै मेकानिकल इन्जिनियर सातौं तह (शाखा अधिकृत सरह) मा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेका थिए । उनी अहिले बुटवलस्थित यातायात व्यवस्था विभागअन्तर्गत सवारी परीक्षण कार्यालयमा मेकानिकल इन्जिनियर तथा सूचना अधिकारीको रूपमा कार्यरत छन् । 

‘प्लस टु’सम्म विज्ञान संकाय पढेका उनी स्नातक तहमा इन्जिनियरिङका विद्यार्थी भने । स्नातकोत्तरमा भने, अर्थशास्त्रलाई रोजेका थिए । 

‘अर्थशास्त्रबारे बुझ्ने र ज्ञान लिने रहर थियो’, उनी भन्छन्, ‘बिहान/साँझ फुर्सदका बेला अध्ययन गरेँ, राम्रो नतिजा आयो । यो विषय मान्छेले सामान्य भन्छन्, विद्यालय तहमा पनि यसलाई ऐच्छिक विषयका रूपमा पढाइन्छ । तर, यो विषयलाई अनिवार्य रूपमा पढाउनुपर्ने आवश्यकता मैले पढेर महसुस गरेँ ।’

जागिरसँगै ‘इकोनोमी’ पढेर आफूले प्राप्त गरेको सफलता र ज्ञानलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै अरूलाई पनि सिकाउने कमलको भनाइ छ । ‘

मैले पेशासँगै टाइम निकालेर उपल्लो योग्यता बनाउन पढेँ । कर्मचारीलाई आफ्नो जागिरभन्दा बाहिरको ज्ञान पनि लिन आवश्यक छ । उच्च शिक्षामा स्वअध्ययन ठूलो कुरा हो, नतिजा राम्रो आयो । यस्तो नतिजा आउँदा म गौरवान्वित भएको छु’, उनी भन्छन् । 

कमल सरकारी सेवातर्फ उपल्लो तहका लागि पनि तयारी गरिरहेका छन् । ‘पीएचडी’ कहिले गर्ने ? भन्ने प्रश्नमा कमलले त्यो विषय अहिले नसोचेको बताए । अर्थशास्त्र आर्थिक कारोबारसँगै देशको अर्थतन्त्रको ज्ञान सम्बन्धीको शिक्षा दिने विषय हो । सँगै अर्थशास्त्रले अर्थतन्त्रको विकासको स्वरूप, हाम्रो दैनिकी र काममा समेत प्रभाव पार्दै हामी को हौं भन्ने कुरामा फरक पार्न सक्छ । त्यसैले जो कोहीले पनि अर्थशास्त्र पढ्न आवश्यक रहेको कमलको बुझाइ छ ।

लगनशील भएर पढ्ने हो भने, देशमै ठूलो अवसर र सम्भावना रहेको कमल देख्छन् । युवा पुस्ताले विदेश नभई स्वदेशमै सम्भावना खोज्नुपर्छ । नेपालको भविष्य नेपाली युवा पुस्ता र विद्यार्थीले बनाउन लाग्नुपर्ने कमलको सुझाव पनि छ । 

बुटवल बहुमुखी क्याम्पस अर्थशास्त्र विषयका विभागीय प्रमुख सञ्जय कर्णले कमल क्याम्पसको पहिलो ‘गोल्ड मेडलिस्ट’ विद्यार्थी भएको बताए । क्याम्पसको ५२ वर्षको इतिहासमा अहिले आएर पहिलो गोल्ड मेडल प्राप्त गर्न सफल भएको कर्णको भनाइ छ । 

‘क्याम्पसको उत्पादन सर्वोकृष्ट बन्दा रुपन्देहीसँगै लुम्बिनी प्रदेशको पनि गौरवको विषय हो’, कर्ण भन्छन्, ‘अंक यसअघिका विद्यार्थीहरूको पनि राम्रो आउँथ्यो । कमलको धेरै उत्कृष्ट आयो, जुन अंकले ‘टप’ गर्न सफल भयो ।’ 

कमललाई बुटवल आएपछि क्याम्पसले विशेष समारोह आयोजना गरी सम्मान गर्ने तयारी पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्