१० साउन २०८३, आइतबार

३६ विकेट खसेपछि दोस्रो दिन नै नतिजा आएको ‘बक्सिङ डे’ टेस्टमा इङ्ल्यान्ड विजयी

पुस १२, २०८२
काठमाडौं
३६ विकेट खसेपछि दोस्रो दिन नै नतिजा आएको ‘बक्सिङ डे’ टेस्टमा इङ्ल्यान्ड विजयी

दुवै टोलीको गरेर कुल ३६ विकेट खसेपछि दोस्रो दिन नै नतिजा आएको ‘बक्सिङ डे’ टेस्टमा भ्रमणकारी टोली इङ्ल्यान्डले अस्ट्रेलियालाई चार विकेटले हराएको छ ।

चौथो खेलमा इङ्ल्यान्डको जितपछि पाँच टेस्टको परम्परागत टेस्ट शृंखलामा अस्ट्रेलिया ३–१ ले अगाडि छ । अघिल्ला तीनवटै टेस्टमा भने घरेलु टोली अस्ट्रेलियाले इङ्ल्यान्डलाई हराएको थियो ।

‘बक्सिङ डे’ टेस्टमा एक सय ७५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले ६ विकेट गुमाएर जित हासिल गरेको हो ।

दोस्रो पालीमा इङ्ल्यान्डका लागि ज्याकब बेथेलले सर्वाधिक ४० रन बनाए । ओपनर ज्याक क्रावलीले ३७ र अर्का ओपनर बेन डकेटले ३४ रन जोडे ।

अस्ट्रेलियाका बलर मिचेल स्टार्क, झेय रिचर्डसन र स्कट बोल्यान्डले दुई/दुई विकेट लिए । त्यसअघि, अस्ट्रेलियन टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ३२ रन बनाउँदै अलआउट भएको थियो ।

अस्ट्रेलियाका लागि दोस्रो पालीमा ओपनर ट्राभिस हेडले सर्वाधिक ४६ रन बनाएका थिए । कप्तान स्टिभ स्मिथले अविजित २४ र क्यामरन ग्रिनले १९ रन जोडे ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डका बलर ब्राइडन कार्सले चार, बेन स्टोक्सले तीन, जोस टङले दुई र गस एटकिन्सनले एक विकेट लिए ।

चौथो टेस्टको पहिलो दिन शुक्रबार दुवै टोलीको गरेर कुल २० विकेट खसेको थियो । टस हारेपछि ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया पहिलो पालीमा एक सय ५२ रन बनाउँदै अलआउट भयो ।

अस्ट्रेलियाका ब्याट्सम्यानहरू इङ्ल्यान्डका बलरसामू निरीह बनेका थिए । अस्ट्रेलियन टोली ४५.२ ओभरमै अलआउट भएको थियो ।

पहिलो पालीमा पनि अस्ट्रेलियाका कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । माइकल नेसरले सर्वाधिक ३५ रन बनाए । उस्मान ख्वाजा २९ रन बनाउँदै पेभेलियन फर्किए ।

विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले २० रन जोडे । क्यामर ग्रीन पनि १७ रनभन्दा अगाडि बढ्न सकेनन् । ओपनर ट्राभिस हेड १२ रनमै आउट भए ।

अस्ट्रेलियाले आफ्ना अधिकांश ब्याट्सम्यानले बनाएभन्दा बढी रन अतिरिक्त रुपमा पाएको थियो । अस्ट्रेलियाले अतिरिक्त रूपमा १३ रन पायो ।

इङ्ल्यान्डका बलर जोस टङ्ले पाँच विकेट लिए । गस एटकिन्सनले पनि दुई विकेट हात पारे । ब्राइडन कार्स र बेन स्टोक्सले पनि एक/एक विकेट लिए ।

त्यसपछि, जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली इङ्ल्यान्ड पनि आफ्नो पहिलो पालीमा केवल एक सय १० मै अलआउट भएको थियो । इङ्ल्यान्डको टोली २९.५ ओभरमै समेटिएको हो ।

इङ्ल्यान्डका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ह्यारी ब्रुकले सर्वाधिक ४१ रन बनाए । पाँचौं नम्बरमा क्रिज समाल्न आएका उनले ३४ बलमा दुई छक्का र दुई चौका हिर्काए ।

कप्तान बेन स्टोक्स ३८ बलमा एक चौकाको मद्दतले १६ रन बनाउँदै आउट भए । नवौं नम्बरका ब्याट्सम्यान गस एटकिन्सनले ३५ बलमा एक छक्का र तीन चौकाको मद्दतले २८ रन जोडे ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डले १६ रनमै चार विकेट गुमाएको थियो । ओपनर ज्याक क्रावली पाँच र बेन डकेट दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

ज्याक बेथेल पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । अनुभवी ब्याट्सम्यान जो रुटले त खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान जामी स्मिथ पनि दुई रनमै आउट भए ।

अस्ट्रेलियाका बलर माइकल नेसरले चार विकेट लिए । स्कट बोल्यान्डले पनि तीन विकेट हात पारे । मिचेल स्टार्कले दुई विकेट कुम्ल्याए । क्यामरन ग्रीनले एक विकेट लिए ।

अस्ट्रेलियाले पहिलो पालीमा ४२ रनको अग्रता लियो । त्यसपछि, दोस्रो पाली खेल्न आएको घरेलु टोली अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदासम्म कुनै विकेट नगुमाइ चार रन बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्