
दुवै टोलीको गरेर कुल ३६ विकेट खसेपछि दोस्रो दिन नै नतिजा आएको ‘बक्सिङ डे’ टेस्टमा भ्रमणकारी टोली इङ्ल्यान्डले अस्ट्रेलियालाई चार विकेटले हराएको छ ।
चौथो खेलमा इङ्ल्यान्डको जितपछि पाँच टेस्टको परम्परागत टेस्ट शृंखलामा अस्ट्रेलिया ३–१ ले अगाडि छ । अघिल्ला तीनवटै टेस्टमा भने घरेलु टोली अस्ट्रेलियाले इङ्ल्यान्डलाई हराएको थियो ।
‘बक्सिङ डे’ टेस्टमा एक सय ७५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले ६ विकेट गुमाएर जित हासिल गरेको हो ।
दोस्रो पालीमा इङ्ल्यान्डका लागि ज्याकब बेथेलले सर्वाधिक ४० रन बनाए । ओपनर ज्याक क्रावलीले ३७ र अर्का ओपनर बेन डकेटले ३४ रन जोडे ।
अस्ट्रेलियाका बलर मिचेल स्टार्क, झेय रिचर्डसन र स्कट बोल्यान्डले दुई/दुई विकेट लिए । त्यसअघि, अस्ट्रेलियन टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ३२ रन बनाउँदै अलआउट भएको थियो ।
अस्ट्रेलियाका लागि दोस्रो पालीमा ओपनर ट्राभिस हेडले सर्वाधिक ४६ रन बनाएका थिए । कप्तान स्टिभ स्मिथले अविजित २४ र क्यामरन ग्रिनले १९ रन जोडे ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डका बलर ब्राइडन कार्सले चार, बेन स्टोक्सले तीन, जोस टङले दुई र गस एटकिन्सनले एक विकेट लिए ।
चौथो टेस्टको पहिलो दिन शुक्रबार दुवै टोलीको गरेर कुल २० विकेट खसेको थियो । टस हारेपछि ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया पहिलो पालीमा एक सय ५२ रन बनाउँदै अलआउट भयो ।
अस्ट्रेलियाका ब्याट्सम्यानहरू इङ्ल्यान्डका बलरसामू निरीह बनेका थिए । अस्ट्रेलियन टोली ४५.२ ओभरमै अलआउट भएको थियो ।
पहिलो पालीमा पनि अस्ट्रेलियाका कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । माइकल नेसरले सर्वाधिक ३५ रन बनाए । उस्मान ख्वाजा २९ रन बनाउँदै पेभेलियन फर्किए ।
विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले २० रन जोडे । क्यामर ग्रीन पनि १७ रनभन्दा अगाडि बढ्न सकेनन् । ओपनर ट्राभिस हेड १२ रनमै आउट भए ।
अस्ट्रेलियाले आफ्ना अधिकांश ब्याट्सम्यानले बनाएभन्दा बढी रन अतिरिक्त रुपमा पाएको थियो । अस्ट्रेलियाले अतिरिक्त रूपमा १३ रन पायो ।
इङ्ल्यान्डका बलर जोस टङ्ले पाँच विकेट लिए । गस एटकिन्सनले पनि दुई विकेट हात पारे । ब्राइडन कार्स र बेन स्टोक्सले पनि एक/एक विकेट लिए ।
त्यसपछि, जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली इङ्ल्यान्ड पनि आफ्नो पहिलो पालीमा केवल एक सय १० मै अलआउट भएको थियो । इङ्ल्यान्डको टोली २९.५ ओभरमै समेटिएको हो ।
इङ्ल्यान्डका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ह्यारी ब्रुकले सर्वाधिक ४१ रन बनाए । पाँचौं नम्बरमा क्रिज समाल्न आएका उनले ३४ बलमा दुई छक्का र दुई चौका हिर्काए ।
कप्तान बेन स्टोक्स ३८ बलमा एक चौकाको मद्दतले १६ रन बनाउँदै आउट भए । नवौं नम्बरका ब्याट्सम्यान गस एटकिन्सनले ३५ बलमा एक छक्का र तीन चौकाको मद्दतले २८ रन जोडे ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डले १६ रनमै चार विकेट गुमाएको थियो । ओपनर ज्याक क्रावली पाँच र बेन डकेट दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
ज्याक बेथेल पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । अनुभवी ब्याट्सम्यान जो रुटले त खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान जामी स्मिथ पनि दुई रनमै आउट भए ।
अस्ट्रेलियाका बलर माइकल नेसरले चार विकेट लिए । स्कट बोल्यान्डले पनि तीन विकेट हात पारे । मिचेल स्टार्कले दुई विकेट कुम्ल्याए । क्यामरन ग्रीनले एक विकेट लिए ।
अस्ट्रेलियाले पहिलो पालीमा ४२ रनको अग्रता लियो । त्यसपछि, दोस्रो पाली खेल्न आएको घरेलु टोली अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदासम्म कुनै विकेट नगुमाइ चार रन बनाएको थियो ।