
पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित प्रतिवादी रहेको टेरामक्स प्रणाली खरिद प्रकरणमा विशेष अदालतले यसअघि सर्वोच्च अदालतबाट भएको आदेशको प्रमाणित प्रतिलिपि मगाउन आदेश गरेको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले आइतबार सर्वोच्चको आदेशको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
‘आरोप पत्रमा उल्लिखित दाबीको टेराम्क्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट भएको २०७६ वैशाख २० गतेको निर्णयविरुद्ध प्रतिवादी मध्येका भेनराइज सोलुसन्स (ओफशोर) ले सम्मानित सर्वोच्च अदालतमा २०७६ जेठ २० मा दायर गरेको ०७५-wo-१२३५ नम्बरको उत्प्रेषण रिट निवेदनमा सम्मानित सर्वोच्च अदालतबाट ०७८ वैशाख १४ गते भएको आदेशको प्रमाणित प्रति र प्रस्तुत विषयसँगै सम्बन्धित देखिएको ०६९-wo-०२६८ नम्बर को रिट निवेदनमा भएको आदेशको प्रमाणित प्रतिलिपि सर्वोच्च अदालतबाट मगाउनू,’ आदेशमा उल्लेख छ ।
त्यसैगरी टेरामक्स प्रणाली खरिद प्रक्रियासँग सम्बन्धित विषयको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नियुक्त टेलिकम्युनिकेशन विज्ञ केशव ज्ञवालीलाई बुझ्नुपर्ने भएकोले उनलाई अदालतमा उपस्थित गराउन आदेश भएको छ ।
आयोगबाट विशेष सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत भौतिक रूपमा वा श्रव्य दृश्य माध्यममार्फत ज्ञवालीलाई उपस्थित गराई बकपत्रका लागि इजलास समक्ष पेस गर्न आदेशमा भनिएको छ ।
