
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक वार्ता ‘अन्तिम चरणमा’ पुगेको बताएका छन् ।
आइतबार फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई स्वागत गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।
आइतबार दुवै नेता पत्रकारहरूसँग कुरा गर्दै नयाँ शान्ति प्रस्तावबारे छलफल गर्न तयारी अवस्थामा देखिएका थिए ।
ट्रम्पले करिब चार वर्षदेखि चलिरहेको युक्रेन युद्ध अन्त्य गर्न आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षदेखि सक्रिय प्रयास गरिरहेको बताए । उनले युद्ध अन्त्य कठिन रहेको स्वीकार गर्दै जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
‘हामी अन्तिम चरणमा छलफल गरिरहेका छौं जस्तो लाग्छ । यदि यसो भएन भने यो युद्ध लामो समयसम्म चल्न सक्छ र अझै लाखौं मानिस मारिन सक्छन्’, ट्रम्पले भने । उनले वार्ताका लागि कुनै निश्चित समयसीमा भने तोकिएको नरहेको स्पष्ट गरे ।
ट्रम्पले युक्रेनका लागि मात्र होइन, सबै पक्षका लागि उपयोगी सम्झौताका आधार तयार भएको दाबी गरे । युक्रेनको सुरक्षाका लागि युरोपेली देशहरू संलग्न रहने गरी बलियो सम्झौता हुने उनको भनाइ छ।
‘हामीसँग दुई इच्छुक पक्ष छन् । युक्रेन र रूसका जनता दुवै यो युद्ध अन्त्य चाहन्छन् र दुवै देशका नेताहरू पनि यही चाहन्छन्’, ट्रम्पले भने ।
फ्लोरिडा बैठकअघि रुसले युक्रेनको राजधानी कीभमा आक्रमण तीव्र पारेको थियो ।
ट्रम्पसँगै उभिएका जेलेन्स्कीले बैठकमा भू–भागसम्बन्धी सम्भावित सम्झौताबारे छलफल हुने बताए । भू–भागको विषय अहिलेसम्म युक्रेनका लागि ‘रेड लाइन’ रहँदै आएको छ । उनले दुवै पक्षका वार्ताकारहरूले चरणबद्ध रूपमा शान्तितर्फ कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिसकेको र त्यो प्रक्रिया आइतबार पनि जारी रहने बताए ।
हालैका वार्तामा अमेरिकाले युक्रेनलाई नाटो सदस्य राष्ट्रहरूलाई दिइने जस्तै सुरक्षागत प्रत्याभूति दिने प्रस्ताव गरेको छ । जेलेन्स्कीले युक्रेनले नाटो सदस्यताबाट पछि हट्न तयार रहेको संकेत पनि दिएका छन् । तर, यसका लागि भविष्यमा रुसी आक्रमणबाट जोगाउने नाटोजस्तै सुरक्षा ग्यारेन्टी खोजेका छन् ।
युक्रेनी थिंक ट्यांक ‘युक्रेनी प्रिज्म’का विश्लेषक ओलेक्सान्द्र क्राइएभले अमेरिकी मध्यस्थतामा भइरहेको वार्ताप्रति युक्रेनी जनता शंकालु रहेको बताए ।
‘२०१५, २०१६ र २०१७ मा पनि यस्तै प्रयास भएका थिए, तर प्रत्येक पटक रूसले युद्धविरामसमेत तोड्यो’, उनले अल जजिरालाई भने । उनका अनुसार युक्रेन अहिले शान्ति सम्झौतिभन्दा पहिले युद्धविरामलाई प्राथमिक सर्तका रूपमा लिइरहेको छ ।
यसैबीच, जेलेन्स्की फ्लोरिडा प्रस्थान गर्ने बेला कीभमा फेरि ठूलो रुसी बमबारी भएपछि युरोपमा पुटिनको नियतप्रति शंका थपिएको छ । जेलेन्स्की फ्लोरिडा पुग्नुअघि ट्रम्पले पुटिनसँग एक घण्टाभन्दा बढी फोन वार्ता गरेका थिए र त्यसपछि पुनः कुरा गर्ने योजना रहेको बताएका थिए । यसले युक्रेनी पक्षलाई आश्चर्यमा पारेको अल जजिराका संवाददाता शिहाब रत्तान्सीले जनाएका छन् ।
क्रेमलिनले भने ट्रम्प–पुटिन वार्ताको व्याख्या गर्दै केवल युद्धविरामले द्वन्द्व लम्ब्याउने दाबी गरेको छ र युक्रेनले भू–भागमा सम्झौता गर्नुपर्ने अडान दोहोर्याएको छ ।
जेलेन्स्कीले गत साता युद्ध अन्त्य योजनाअन्तर्गत युक्रेनको पूर्वी औद्योगिक क्षेत्रमा रहेका सैनिक फिर्ता लिन सकिने संकेत दिएका थिए, यदि रुस पनि पछि हटे र त्यो क्षेत्र अन्तर्राष्ट्रिय निगरानीमा असैन्य क्षेत्र बनाइएमा ।
पुटिनले भने चार प्रमुख क्षेत्र र सन् २०१४ मा अवैध रूपमा गाभिएको क्रिमिया प्रायद्वीपलाई रुसको भू–भागका रूपमा मान्यता दिनुपर्ने माग गर्दै आएका छन् । उनले रुसी नियन्त्रणमा नआएका पूर्वी युक्रेनका केही क्षेत्रबाट पनि युक्रेनी सेना हट्नुपर्ने अडान लिएका छन् । युक्रेनले यी सबै माग अस्वीकार गरिसकेको छ ।
ट्रम्प भने पुटिनका केही सर्तप्रति लचक देखिँदै आएका छन् । उनले डोनबास क्षेत्रका केही भू–भाग युक्रेनले छोडे र पश्चिमी मुलुकहरूले रुसलाई विश्व अर्थतन्त्रमा फर्कन प्रोत्साहन दिएमा युद्ध अन्त्य सम्भव हुने तर्क गर्दै आएका छन् ।