२६ जेठ २०८३, मंगलबार

आवेगमा श्रीमतीको हत्या, अनुसन्धानबाट जोडिन अनेक ‘नाटक मञ्चन’ !

पुस १५, २०८२
काठमाडौं
आवेगमा श्रीमतीको हत्या, अनुसन्धानबाट जोडिन अनेक ‘नाटक मञ्चन’ !

कालिकोटको शुभकालिका गाउँपालिका– ४ घुघुरेडाँडामा श्रीमतीको हत्या गरेका श्रीमानले अपराधबाट जोगिन गरेको नाटकको फेहरिस्त फेला परेको छ ।

घटना गत मंसिर ११ गतेको भए पनि गत साता मात्रै जिल्ला सरकारी वकिल कार्यालय कालिकोटले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । कालिकोटका परेकबहादुर शाहीले श्रीमती प्रकृति शाहीलाई ढुंगाले हानेर तथा नाम्लोको बरियोले घाँटी कसेर हत्या गरेको दाबीसहित अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो । परेकविरुद्ध बहुविवाह मुद्दा समेत दर्ता भएको छ ।

घटना विवरण

दुई छोराका बुवा परेकले शाहीलाई थाहै नदिई परस्त्री (सितला बम भन्ने नमूना बम)सँग सम्बन्ध गाँस्छन् । विवाह गरेर भगाई भारतको गुजरातमा लगेर दुई महिनासम्म सँगै बस्छन् । विस्तारै प्रकृतिले आफ्नो श्रीमान परेक र नमूनाको सम्बन्धबारे थाहा पाउँछिन् । अनि शुरू हुन्छ घरमा कलह । भारतमा एक वर्ष बसेपछि परेकले नमूनालाई गुजरातबाट सुर्खेतमा ल्याएर राख्छन् । प्रकृति र नमूनाबीच फेसबूक म्यासेन्जरमा पटक–पटक भनाभन भइरहन्छ । प्रकृतिबाट आजित बनेकी नमूनाले परेकलाई ‘तेरो श्रीमतीले मलाई गाली गरेर तनाव दिन्छे, त्यसलाई साइड लगा’ भनेर दबाब दिन थाल्छिन् । परेक कालिकोटस्थित घर जान्छन् ।

पारिवारिक तनाव बढ्दै गएपछि छोरीको घर मिलाउनुपर्‍यो भन्दै प्रकृतिका बुवा पनि त्यहाँ पुग्छन् । त्यहाँ परेक र प्रकृतिबीच लामै झगडा चल्छ । कुरा मिल्दैन । राति ११ बजे प्रकृति कान्छो छोरा च्यापेर घुघुरेडाँडामा रहेको नयाँ घरमा जान्छिन् । मंसिर ८ गते प्रकृतिले परेकलाई मुद्दा हाल्छु भन्दै धम्की दिन्छिन् । योजनाअनुसार प्रकृति मान्मा बजार पुग्छिन् ।

परेकले उक्त कुरा थाहा पाएपछि प्रकृतिलाई फोन गरेर ‘कि तँ मर्छेस्, कि म मर्छु’ भनेर घर बोलाउँछन् । मंसिर ११ मा प्रकृति घर पुग्छिन् । साँझ साढे ६ बजे परेक पनि प्रकृतिलाई खोज्दै घर जान्छन् । परेकले आफू भोलि वन रक्षकको फारम भर्न सुर्खेत जानु छ भनेलगत्तै प्रकृति रिसाउँछिन् । ‘तँ वन रक्षकको फारम भर्न होइन, तेरी कान्छी नमूनालाई भेट्न जान लागेको होस्’ भनेर प्रकृतिले सातो लिन्छिन् । प्रकृतिले थप्छिन्, ‘तँ सुर्खेत जानुभन्दा पहिला तेरो र मेरो सम्बन्धको बारेमा छिनोफानो लगाएर मात्रै जा ।’

त्यो दिन रातको साढे ८ बजेसम्म प्रकृति र परेकबीच झगडा चलिरहन्छ । परेकले प्रकृतिलाई पुरानो घरमा जान आग्रह गर्छन् । प्रकृति मान्दिनन् । प्रकृतिलाई फकाउन परेकले कुनै कसर बाँकी राख्दैनन् । पुरानो घर पुगेर पुन: घुघुरेडाँडा नयाँ घरमा आउँछन् ।

फेरि प्रकृतिले नमूनाकै कुरा झिकेर ‘म जिउँदै विधवा हुनुपर्‍यो, अबदेखि म तेरो स्वास्नी होइन, तेरो नामको चुरा पोते लगाउँदिन’ भन्दै चुरा फुटाएर, पोते चुँडालेर फाल्छिन् । झगडा राति १० बजेसम्म चल्छ । दुवै थाकेर सुत्छन् । भोलिपल्ट मंसिर १२ गते बिहान चार बजे परेक सुर्खेतका लागि हिँड्न तयार हुन्छन् । प्रकृतिले ‘पहिला छिनोफानो गरेर जा’ भन्दै परेकको बाटो छेक्छिन् । परेकले प्रकृतिलाई धकेलिदिन्छन् । ढोकामा ठोक्किएर प्रकृतिको हात र गालामा चोट लाग्छ । अनि प्रकृतिले चिच्याउँदै ‘भोलि देख्लास्, तेरो के हालत हुन्छ’ भन्दै घरबाट बाहिरिन्छिन् ।

null

परेकले प्रकृतिको पिछा गर्छन् । जिल्ला सरकारी वकिल कार्यालय कालिकोटसँगको बयानमा परेकले भनेका छन्, ‘सधैँभरि झगडा गरेपछि अब प्रकृतिलाई नमारी हुँदैन भनेर म उसको पिछा गर्न थालेँ । बाँसपाटा जंगलमाथि भिरालो बाटोमा पिट्ने प्रयास गर्दा उनी उम्किइन् । लखेट्दै जाँदा भेटिएपछि ढुंगाले टाउकोमा हानेर भीरबाट तल खसालिदिएँ ।’

भीरबाट खसालेपछि पनि तल झरेर परेकले प्रकृतिलाई कुट्न छाड्दैनन् । बिहान पाँच बजेतिर परेकले भाइ नरेन्द्रलाई फोन गरेर हँसिया, डोको र नाम्लो ल्याउन अह्राउँछन् । नरेन्द्र बाँसपाटाकै भिरालो जंगलमा पुग्छन् । त्यहाँ उनले भाउजू (प्रकृति) छटपटाइरहेको देखेपछि उपचार गर्न लौजाऊँ भनेर परेकलाई भन्छन् । तर, परेकले उल्टै प्रकृतिलाई नाम्लोको बरियोले घाँटीमा बेरेर लात्तीले छातिमा टेकेर घाँटी कसिदिन्छन् । प्रकृति बेहोश हुन्छिन् । परेक र नरेन्द्र मिलेर प्रकृतिलाई बोकी गुराँसको फेदमा ल्याएर अड्याउँछन् । अनि परेकले घाँस काट्छन् । डोको र नाम्लो अनि हँसिया प्रकृतिको शव नजिकै राखिदिन्छन् । त्यसपछि उनीहरू घर फर्किन्छन् ।

‘प्रकृति घाँस काट्न जाँदा आफैँ लडेर मृत्यु भएको देखाउन मैले घाँस काटेर प्रकृतिको छेउमै राखिदिएको हुँ,’ परेकले बयानमा भनेका छन्, ‘अनि स्थानीयलाई खबर गरिदिनु भनेर म भागेर लेखतर्फको जंगलमा गएको हुँ ।’

सरकारी वकिल कार्यालयले नरेन्द्रलाई पनि प्रतिवादी बनाएको छ । नरेन्द्रले बयानमा भनेका छन्, ‘हामीले दाजुलाई बालबच्चाको भविष्य बिग्रिन्छ भनेर पटक–पटक सम्झाएका थियाैँ, नमूनासँग सम्बन्ध नराख भनेका थियौँ, तर उनी मानेनन् ।’

नरेन्द्रले आफूलाई दाजु परेकले डोको, हँसिया र नाम्लो लिएर जंगलमा बोलाएपछि आफू गएको तर, आफू पुग्दा भाउजू अचेत अवस्थामा रहेको बताएका छन् । उनले भाउजू बितेको कुरा आफूले नै घरका सदस्यलाई खबर गरेको कुरा बयानमा उल्लेख गरेका छन् ।

सरकारी वकिल कार्यालयले नमूनालाई पनि प्रतिवादी बनाएको छ । नमूनाले बयानमा प्रकृतिले बालबच्चालाई टुहुरो नबनाइदेऊ भनेर खुट्टा समातेपछि भद्रभलादमीको रोहबरमा आफू सुर्खेतमा एक्लै डेरा लिएर बस्न थालेको उल्लेख गरेकी छिन् । एक्लै बसे पनि परेक र नमूनाबीच भने फेसबूक म्यासेन्जरमा कुरा भइरन्थ्यो । त्यो कुरा प्रकृतिले थाहा पाएपछि आफूलाई ‘आमाचकारी’ गाली गर्ने गरेको कुरा नमूनाले बयानमा उल्लेख गरेकी छिन् । सुर्खेतमै बस्दा प्रकृतिको मृत्यु भएको कुरा आफूले थाहा पाएको नमूनाले बताएकी छिन् । प्रहरी अनुसन्धानमा आफू समेत जोडिने भएपछि उनले मोबाइलको सिम फालेकी थिइन् । प्रारम्भिक बयानमा परेकले आफूसँग नमूनाको मोबाइल नम्बर नभएको बताएपनि पछि ततिम्बा बयानमा उनले अपराधबाट जोगिन झुटो बोलेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार परेक, उनका भाइ नरेन्द्र र परेककी कान्छी श्रीमती नमूना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्