२२ जेठ २०८३, शुक्रबार
बहुविवाहले उजाडियो परिवार

एउटा क्रुर अपराधको फेहरिस्त : श्रीमतीको हत्या लुकाउन श्रीमानले गरे यस्तो 'भीर नाटक', भाइ मतियार

पुस १६, २०८२
काठमाडौं
एउटा क्रुर अपराधको फेहरिस्त : श्रीमतीको हत्या लुकाउन श्रीमानले गरे यस्तो 'भीर नाटक', भाइ मतियार

कालिकोटको शुभकालिका गाउँपालिका–४ घुघुरेडाँडामा श्रीमतीको हत्या गरेका श्रीमानले अपराधबाट जोगिन गरेको नाटकको फेहरिस्त फेला परेको छ । घटना गत मंसिर ११ गतेको भए पनि गतसाता जिल्ला सरकारी वकिल कार्यालय कालिकोटले जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि अपराधको फेहरिस्त सार्वजनिक भएको हो ।

कालिकोटका परेकबहादुर शाहीले श्रीमती प्रकृति शाहीलाई ढुंगाले हानेर र बरियोले घाँटी कसेर हत्या गरेको दाबीसहित अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो । परेकाविरुद्ध बहुविवाह मुद्दासमेत दर्ता भएको छ ।

प्रहरीका अनुसार दुई छोराका बाबु परेकले श्रीमती प्रकृतिलाई थाहै नदिई परस्त्रीसँग (शान्ति बम- परिवर्तित नाम)सँग सम्बन्ध गाँस्छन् । विवाह गरेर भगाई भारतको गुजरातमा लगेर दुई महिनासम्म सँगै बस्छन् । विस्तारै प्रकृतिले आफ्नो श्रीमान परेक र शान्तिको सम्बन्धबारे थाहा पाउँछिन् । अनि शुरू हुन्छ घरमा कलह ।

भारतमा एक वर्ष बसेपछि परेकले शान्तिलाई गुजरातबाट सुर्खेत ल्याएर राख्छन् । प्रकृति र शान्तिबीच फेसबुक म्यासेन्जरमा पटक–पटक भनाभन हुन्छ । प्रकृतिबाट आजित बनेकी शान्तिले परेकलाई ‘तेरो श्रीमतीले मलाई गालीमात्रै गरेर तनाव दिन्छे, त्यसलाई साइड लगा’ भनेर दबाब दिन थाल्छिन् । अनि परेक कालिकोटस्थित घर जान्छन् ।

पारिवारिक तनाव बढ्दै गएपछि छोरीको घर मिलाउनुपर्‍यो भन्दै प्रकृतिका बाबु परेकको घर पुग्छन् । त्यहाँ परेक र प्रकृतिबीच लामै झगडा चल्छ । कुरा मिल्दैन । राति ११ बजे प्रकृति कान्छो छोरा च्यापेर घुघुरेडाँडामा रहेको नयाँ घरमा जान्छिन् । मंसिर ८ गते प्रकृतिले परेकलाई मुद्दा हाल्छु भन्दै धम्की दिन्छिन् । योजनाअनुसार प्रकृति मान्म बजार पुग्छिन् । परेकले उक्त कुरा थाहा पाएपछि प्रकृतिलाई फोन गरेर ‘कि तँ मर्छेस्, कि म मर्छु’ भनेर घर बोलाउँछन् । मंसिर ११ गते प्रकृति घर पुग्छिन् ।

साँझ साढे ६ बजे परेक पनि प्रकृतिलाई खोज्दै घर जान्छन् । आफू भोलि वन रक्षकको फारम भर्न सुर्खेत जानु छ भनेलगत्तै प्रकृति रिसाउँछिन् । ‘तँ वन रक्षकको फारम भर्न होइन, तेरी कान्छी शान्तिलाई भेट्न जान लागेको होस्’ भनेर प्रकृतिले सातो लिन्छिन् । प्रकृतिले थप्दै भन्छिन्, ‘तँ सुर्खेत जानुभन्दा पहिला तेरो र मेरो सम्बन्धको बारेमा छिनोफानो लगाएर मात्रै जा।’ त्यो दिन रातको साढे ८ बजेसम्म प्रकृति र परेकबीच झगडा चल्छ । परेकले प्रकृतिलाई पुरानो घरमा जान आग्रह गर्छन् । प्रकृति मान्दिनन् । प्रकृतिलाई फकाउन परेकले कुनै कसुर बाँकी राख्दैनन् ।

पुरानो घर पुगेर पुन: घुघुरेडाँडा नयाँ घरमा आउँछन् । फेरि प्रकृतिले शान्तिकै कुरा झिकेर ‘म जिउँदै विधुवा हुनुपर्‍यो, अबदेखि म तेरो स्वास्नी होइन, तेरो नामको चुरा पोते लगाउँदिनँ’ भन्दै चुरा फुटाएर पोते चुँडालेर फाल्छिन् । झगडा राति १० बजेसम्म चल्छ । दुवै थाकेर सुत्छन् ।

भोलिपल्ट मंसिर १२ गते बिहान चार बजे परेक सुर्खेतका लागि हिँड्न तयार हुन्छन् । प्रकृतिले ‘पहिला छिनोफानो गरेर जा’ भन्दै परेकको बाटो छेक्छिन् । परेकले प्रकृतिलाई धकेल्न्छन् । ढोकामा ठोक्किएर प्रकृतिको हात र गालामा चोट लाग्छ । अनि प्रकृृतिले चिच्याउँदै ‘भोलि देख्लास्, तेरो के हालत हुन्छ’ भन्दै घरबाट बाहिरिन्छिन् ।

परेकले ‘अब यसलाई नमारी हुँदैन’ भनरे प्रकृतिको पिछा गर्छन् । जिल्ला सरकारी वकिल कार्यालय कालिकोटको बयानमा परेकले भनेका छन्, ‘सँधैभरि झगडा गरेपछि अब प्रकृतिलाई नमारी हुँदैन भनेर म उसको पिछा गर्न थालेँ, बाँसपाटा जंगलमाथि भिरालो बाटोमा पिट्ने प्रयास गर्दा उनी उम्किइन्, लखेट्दै जाँदा भेटिएपछि ढुंगाले टाउकोमा हानेर भीरबाट तल खसाली दिँए ।’

भीरबाट खसालेपछि पनि परेकले प्रकृतिलाई कुट्न छाड्दैनन् । बिहान पाँच बजेतिर परेकले भाइ नरेन्द्रलाई फोन गरेर हसिया, डोको र नाम्लो ल्याउन अह्राउँछन् । नरेन्द्र बाँसपाटाकै भिरालो जंगलमा पुग्छन् । त्यहाँ उनले भाउजू (प्रकृति) छटपटाइरहेको देखेपछि उपचार गर्न लौजाउँ भनेर परेकलाई भन्छन् । तर, परेकले उल्टै प्रकृतिलाई नाम्लोको बरियोले घाँटीमा बेरेर लात्तीले छातीमा टेकेर घाँटी कसिदिन्छन् । प्रकृति बेहोस् हुन्छिन् । परेक र नरेन्द्र मिलेर प्रकृतिलाई बोकी गुराँसको फेदमा ल्याएर अड्याउँछन् । अनि परेकले घाँस काट्छन् । डोको र नाम्लो अनि हँसिया प्रकृतिको शव नजिकै राखिदिन्छन् । उनीहरू घर फर्किन्छन् ।

‘प्रकृति घाँस काट्न जाँदा आफैं लडेर मृत्यु भएको देखाउन मैले घाँस काटेर प्रकृतिको छेउमै राखिदिएको हुँ,’ परेकले बयानमा भनेका छन्, ‘अनि स्थानीयलाई खबर गरिदिनु भनेर म भागी लेकतर्फको जंगलमा गएको हुँ ।’

सरकारी वकिल कार्यालयले नरेन्द्रलाई पनि प्रतिवादी बनाएको छ । नरेन्द्रले बयानमा भनेका छन्, ‘हामीले दाजुलाई बालबच्चाको भविष्य बिग्रन्छ भनेर पटक–पटक सम्झाएका थियौं, शान्तिसँग सम्बन्ध नराख भनेका थियौँ, तर उनी मानेनन् ।’

नरेन्द्रले आफूलाई दाजु परेकले डोको, हसिया र नाम्लो लिएर जंगलमा बोलाएपछि आफू गएको तर, आफू पुग्दा भाउजू अचेत अवस्थामा रहेको बताएका छन् । उनले भाउजू वितेको कुरा आफूले नै घरका सदस्यलाई खबर गरेको कुरा बयानमा उल्लेख गरेका छन् ।

सरकारी वकिल कार्यालयले शान्तिलाई पनि प्रतिवादी बनाएको छ । शान्तिले बयानमा प्रकृतिले बालबच्चालाई टुहुरो नबनाइदेउ भनेर खुट्टा समातेपछि भद्रभलाद्मीको रोहबरमा आफू सुर्खेतमा एक्लै डेरा लिएर बस्न थालेको उल्लेख गरेकी छिन्। एक्लै बसे पनि परेक र शान्तिबीच भने फेसबुक म्यासेन्जरमा कुरा भइरन्थ्यो । त्यो कुरा प्रकृतिले थाहा पाएपछि आफूलाई प्रकृतिले आमाचकारी गाली गर्ने गरेको कुरा शान्तिले बयानमा उल्लेख गरेकी छिन् ।

सुर्खेतमै बस्दा प्रकृतिको मृत्यु भएको कुरा आफूले थाहा पाएको शान्तिले बताएकी छिन् । प्रहरी अनुसन्धानमा आफूसमेत जोडिने भएपछि उनले मोबाइलको सीम फालेकी थिइन् । प्रारम्भिक बयानमा परेकले आफूसँग शान्तिको मोबाइल नम्बर नभएको बताए पनि पछि ततिम्बा बयानमा उनले अपराधबाट जोगिन झुटो बोलेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार परेक, उनका भाइ नरेन्द्र र परेककी कान्छी श्रीमती शान्तिलाई पक्राउ गरिएको छ । उनीहरू पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्