
मुलुकमा भएको पछिल्लो 'जेन–जी' आन्दोलनको माग राजनीतिक दलको पुरानो नेतृत्व र कार्यशैलीको परिवर्तन हो ।
सबैजसो पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस अघि बढिरहेका बेला नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको चुनावका लागि पुरानै अनुहारलाई उम्मेदवार बनाउने गरी जिल्ला–जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ ।
नयाँ पुस्ताले चुनावी नेतृत्व सम्हाल्ने अपेक्षा भए पनि कांग्रेसका क्षेत्रीय समितिबाट प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि सिफारिसमा परेका उम्मेदवारहरू तीन दशकदेखि चुनावी प्रतिस्पर्धा गरेकाहरू नै देखिएका छन् ।
विघटित प्रतिनिधिसभाका ठूलो दलले परिवर्तनको मागलाई आत्मसाथ गरी नयाँ अनुहारभन्दा एकछत्र उम्मेदवार हुँदै आएका नेता–कार्यकर्तालाई प्राथमिकता दिएर सिफारिस गरेको हो ।
अधिकांश क्षेत्रमा पुरानै नेताको बोलवाला
स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई उम्मेदवार सिफारिस नगर्न भनिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । झण्डै साढे तीन दशकदेखि रूपन्देहीमा उम्मेदवार बन्दै आइरहेका बालकृष्ण खाँण रूपन्देही क्षेत्र नम्बर– ३ मा प्रतिनिधिसभातर्फ एक नम्बरमा सिफारिसमा परेका छन् ।
भुटानी शरणार्थी काण्डमा मुछिएर जेलबाट छुटेका पूर्वगृहमन्त्री खाँणसँगै यो क्षेत्रबाट ५ जनाको नाम क्षेत्रीय समितिले सिफारिस गरेको हो । खाँणको मुद्दा अन्तिम किनारा लागेर उम्मेदवार बन्न पाउने अवस्था आए रूपन्देही– ३ बाट उनीबाहेक सिफारिसमा परेका रमेश खनाल, सुशील गुरुङ लगायतले टिकट पाउने सम्भावना एकदमै न्यून देखिन्छ ।
तीनपटक जीत र दुईपटक पराजित कांग्रेस नेता भरतकुमार शाह रूपन्देही– ५ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल सिफारिस भएका छन् । पूर्व अर्थराज्यमन्त्री तथा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका शाहले सर्वसम्मत सिफारिस भएपछि चुनावमा टिकट पाउने पक्का जस्तै छ ।
उनी वि.सं. २०५० को दशकदेखि यही क्षेत्रबाट राजनीति गर्दै आएका छन् । पुरानै ढर्रा र शैलीका शाहबाहेक कांग्रेसले अरूलाई उम्मेदवार देखेन । शाहलाई एकल सिफारिस गर्नका लागि संस्थापन इतर समूहलाई कुनै जानकारी नदिएको भन्दै विष्णु पोखरेल लगायतका युवा नेताहरूले छुट्टै नाम पठाएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर–२ बाट देवेन्द्रराज कँडेल एकल सिफारिस भएका छन् । एकल सिफारिस भएका उनले आगामी चुनावमा टिकट पाए सातौंपटक चुनाव लड्नेछन् ।
पूर्व गृहराज्यमन्त्री कँडेल अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानसँग पराजित भएका थिए ।
रूपन्देही क्षेत्र नम्बर– १ मा पनि कांग्रेसले बहालवाला प्रदेशसभा सदस्य अब्दुल रज्जाक गद्दीलाई एक नम्बरमा नाम राखेर उम्मेदवार सिफारिस गरेको छ ।
दुईपटक प्रतिनिधिसभामा यही क्षेत्रबाट उम्मेदवार बन्दै आएका पूर्व संघीय खानेपानी राज्यमन्त्री रज्जाकको स्वास्थ्य अवस्था पनि त्यति राम्रो छैन । त्यस्तै, पाल्पा– २ बाट पनि कांग्रेसले बहालवाला प्रदेश सांसद वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
बर्दिया–१ बाट तीनपटक सांसद भइसकेका सञ्जय गौतमलाई एक नम्बरमा राखेर चार जनाको नाम सिफारिस गरिएको छ । एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका वामदेव गौतमलाई पराजित गरेपछि चर्चामा आएका गौतम फेरि उम्मेदवार हुनेमा ढुक्क देखिन्छन् ।
बर्दिया–२ बाट कांग्रेस नेतृ आरजु राणा देउवा सिफारिस भएकी छन् । राणासँगै किशोरसिंह राठौर लगायतका उम्मेदवारको नाम पनि पार्टीले सिफारिस गरेको छ ।
कपिलवस्तु– ३ बाट प्रत्यक्षतर्फ नेता वीरेन्द्रकुमार कनोडियाको एकल नाम सिफारिस गरेको छ । कनोडिया पूर्वमा जिल्ला विकास समिति उपसभापति, सांसद, प्रदेशसभा सदस्य र राज्यमन्त्रीको भूमिका निर्वाह गरेका र उखु उद्योगी हुन् ।
प्यूठानबाट यसअघिका उम्मेदवार तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेललाई एक नम्बरमा राखेर ३ जनाको नाम सिफारिस भएको छ ।
टिकट वितरणमा ध्यान पुग्नुपर्ने
कांग्रेस युवा नेतृ तथा प्रदेश सांसद निमा गिरीले सिफारिसमा जुन नेता परे पनि टिकट वितरणमा ध्यान पुग्नुपर्ने बताउँछिन् । 'कार्यसमितिले गरेको निर्णयलाई सम्मान गरिनुपर्छ,' गिरी भन्छिन्, 'सिफारिस जो–जो भए पनि टिकट दिने कुरा म्याटर हो । जेनजी मुभमेन्टको प्रतिनिधित्व गर्न सक्नेले टिकट पाउनुपर्छ ।'
'अहिलेको चुनावमा स्थानीय तह र प्रदेशका जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने भनेको छ । यसले गर्दा प्रदेश र स्थानीय तहमा राम्रो गरेको युवा पुस्ताका नेताहरू ७ वर्ष पछि पर्ने भए,' निमाले भनिन् ।
लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ २६ वटा निर्वाचन क्षेत्र पर्छन् ।
रूपन्देहीमा ५, कपिलवस्तु, दाङ, बाँकेमा ३–३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बर्दिया, गुल्मी, पाल्पामा २–२ र रूकुमपूर्व, रोल्पा, प्युठान, अर्घाखाँचीमा एक–एक निर्वाचन क्षेत्र छन् ।
राष्ट्रिय व्यक्तित्व केन्द्रमा जान आवश्यक
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले राष्ट्रिय व्यक्तित्व पटक–पटक चुनाव जितेर केन्द्रमा जान आवश्यक रहेको तर्क गरे ।
'सबै पुस्ता र समयको माग बुझ्न सक्ने, तिनका समस्याको समाधान खोज्ने, टीम बनाउन सक्ने क्षमता भएका नेताहरू सिफारिस भएका हुन्,' सभापति पुन भन्छन्, 'यसअघि उम्मेदवार भएकाहरू अहिले हुनुहुँदैन भन्ने कुरा सही होइन । राजनीति उमेरले होइन, विचार र क्षमताका आधारमा हुने कुरा हो ।'
कांग्रेसमा चुनावअघि महाधिवेशन गर्नुपर्ने दबाब पनि छ ।
जेनजी आन्दोलनपछि पार्टी सभापति देउवा राजनीतिमा फर्किँदैनन् भनिए पनि उनी पुनः सक्रिय हुन थालेका छन् । यसले फेरि कांग्रेससँगै प्रमुख राजनीतिक दलमा पुस्तान्तरण र रूपान्तरणको विषय गौण बन्दै गएको राजनीतिक क्षेत्रका जानकार माधव पौडेल बताउँछन् ।
'अन्ततः पुरानै शैली, सोच, दृष्टिकोण र रणनीति पार्टीहरूले नछाड्ने जस्तो देखियो, साथै, युवाले पनि हस्तक्षेप गर्न सकेनन्,' पौडेल भन्छन्, 'फेरि पुरानै नेताको वरिपरि राजनीति घुम्ने जस्तो देखिन्छ । पार्टीमा पनि युवा पुस्ताले कडा आवाज उठाउन सकेको देखिएन ।'
पछिल्लो समय राजनीतिक दलको कार्यशैलीले नागरिक स्तरमा निराशा देखिन्छ । एउटा व्यक्तिलाई लामो समयसम्म हेरिरहँदा जनतामा कस्तो वातावरण बन्छ, त्यो नेताहरूले बुझेनन् ।
'समाजको मागअनुसार सिफारिस भएको देखिएन'
प्राध्यापक जीवनारायण अधिकारीले समाजको मागअनुसार र पछिल्लो मुभमेन्टअनुसार उम्मेदवार सिफारिस भएको नदेखिएको बताए । 'हुन यो पार्टीको आन्तरिक विषय होला,' प्राध्यापक अधिकारीले भने, 'अहिलेको माग नयाँ चेहरा र विशिष्ट क्षमता हासिल गरेका युवा पंक्ति आउन् भन्ने थियो । तर, पुरानै अनुहार हावी भएर सिफारिस भएको देखिन्छ ।'
अधिकारीले थपे, 'पहिले दुई–तीनवटा पार्टीबाट नागरिकमा अरू विकल्प देखेका थिएनन् । अहिले नयाँ पार्टीको उदयले समाजले खोजेका उम्मेदवार अघि सार्न नसक्दा घाटा वा नोक्सान त्यही दललाई नै हुने हो । नेतृत्वका लागि युवाले क्षमता देखाउनुपर्छ, आफैं तयार हुनुपर्छ । तर अहिलेको अवस्था हेर्दा चुनावबाट पनि नेतृत्व परिवर्तनको मौका टर्दै जान्छ कि भन्ने देखिन्छ ।'
कांग्रेसले केन्द्रमा उम्मेदवार सिफारिसमा केही खासै फरक दृश्य देखाउन सकेन । प्रजातन्त्र प्राप्तिपछि भएको पहिलो निर्वाचनदेखि उम्मेदवार बनेकाहरू अहिले पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने गरी लोभ देखाइरहेका छन् ।