
इन्भेस्कोको प्रतिवेदनले सन् २०२६ मा विश्वव्यापी वित्तीय बजारहरू निरन्तर लाभतर्फ उन्मुख हुने उल्लेख गरेको छ। निजी क्षेत्रका सुदृढ वित्तीय अवस्था र बजार नेतृत्व व्यापक बन्दै जानु यसका मुख्य आधार हुन्।
इन्भेस्को स्ट्राटेजी एन्ड इन्साइट्सको प्रतिवेदनअनुसार, भूराजनीतिक चुनौतीका बीच पनि जारी सुधार र अमेरिका–भारत सम्बन्धप्रतिको आशावादका कारण सन् २०२६ का लागि भारतको आर्थिक दृष्टिकोण सुधारिएको छ।
'२०२६ वार्षिक लगानी दृष्टिकोण: रेजिलियन्स एन्ड रिब्यालेन्सिङ' शीर्षकको प्रतिवेदनमा, भूराजनीतिक तनावका कारण शेयर बजार अपेक्षाअनुसार नबढे पनि जारी सुधार, स्थिरताका संकेत र अमेरिका–भारत सम्बन्धमा सुधारको सम्भावनाका कारण २०२६ मा भारतप्रति शतर्क आशावाद रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा भनिएको छ, 'हामीले भारतीय रिजर्भ बैंक (आरबीआई)को ब्याजदर कटौतीसँगै आर्थिक वृद्धि केही तीव्र हुँदै भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने ठूलो अर्थतन्त्रका रूपमा रहने अपेक्षा गरेका छौं। दीर्घकालीन लचिलोपन र प्रवृत्तिगत वृद्धि बढाउन घरेलु आर्थिक सुधार अत्यन्त महत्वपूर्ण छन्। राजनीतिक सीमितताका कारण सुधारमा क्रमिक प्रगति हुने हाम्रो अनुमान छ।'
यद्यपि, उदाउँदा बजार (इमर्जिङ मार्केट) शेयरको सन्दर्भमा इन्भेस्कोको प्रतिवेदनले अन्य क्षेत्रको तुलनामा यी बजारका मूल्यांकन आकर्षक भए पनि देशअनुसार ठूलो भिन्नता रहेको जनाएको छ।
'हामी चिनियाँ शेयरहरूले राम्रो प्रदर्शन जारी राख्ने अपेक्षा गर्छौं भने भारतले केही संघर्ष गर्न सक्छ,' प्रतिवेदनमा भनिएको छ। अमेरिकी डलर कमजोर हुनु र अमेरिकाबाहिरको आर्थिक वृद्धि राम्रो हुनु गैर–अमेरिकी सम्पत्ति, विशेषगरी उदाउँदा बजारका शेयर र ऋणपत्रको प्रदर्शनमा सहयोगी हुने अपेक्षा गरिएको छ।
प्रतिवेदनले सन् २०२६ मा विश्वव्यापी वित्तीय बजारमा थप लाभको सम्भावना औंल्याएको छ। निजी क्षेत्रका बलिया वित्तीय अवस्था र बजार नेतृत्वको दायरा विस्तार हुनु यसका आधार हुन्।
अमेरिकामा नीतिगत ब्याजदर घट्नु, साथै युरोप, जापान र चीनमा सार्वजनिक खर्च बढ्नुले आगामी वर्ष विश्व आर्थिक वृद्धिको गति सुधार्ने र शेयर बजारलाई उकास्ने प्रतिवेदनको निष्कर्ष छ।
धेरैजसो प्रमुख केन्द्रीय बैंकहरू यथास्थितिमा रहेकाले अमेरिकी फेडरल रिजर्भको ब्याजदर कटौतीले डलर नरम रहने वातावरण सिर्जना गर्ने प्रतिवेदनले जनाएको छ। अमेरिकी डलर जोखिम हेजिङको लागत घट्दै जाँदा लगानीकर्ताहरूले हेज अनुपात बढाउने सम्भावना रहेको र यसले डलरमाथि दबाब पर्ने उल्लेख गरिएको छ।
समग्रमा, प्रतिवेदनले लगानी अवसरहरू पुनर्सन्तुलनतर्फ गइरहेको संकेत गर्छ।
अमेरिकी शेयर, विशेषगरी ठूला प्रविधि तथा कृत्रिम बौद्धिकतासँग सम्बन्धित कम्पनीका शेयर अझै महँगा रहे पनि, गैर–अमेरिकी बजार, साना पुँजीकरणका शेयर र चक्रात्मक क्षेत्रहरूमा आकर्षक मूल्यांकन देखिएको इन्भेस्कोको निष्कर्ष छ। विश्वव्यापी आर्थिक गतिविधि बढेमा बजारमा व्यापक सहभागिता बढ्ने र ठूला प्रविधि कम्पनीमा केन्द्रित जोखिम घट्ने अपेक्षा गरिएको छ।