
इरानका पूर्वसर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्तिम शवयात्रा सोमबार बिहानदेखि राजधानी तेहरानमा शुरू भएको छ। आफ्ना दिवंगत नेतालाई अन्तिम श्रद्धाञ्जली दिन बिहानैदेखि तेहरानका सडकहरूमा लाखौँ मानिस निस्किएका छन् ।
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभी र समाचार एजेन्सी तस्निमका अनुसार, यो शवयात्रा इरानको आधुनिक इतिहासकै सबैभन्दा ठुलो सार्वजनिक जमघट हो।
खामेनीको अन्तिम यात्रा सोमबार बिहान तेहरानको ऐतिहासिक इमाम हुसेन स्क्वायरबाट इरानको राष्ट्रिय धुन बजाएर औपचारिक रूपमा शुरू गरिएको थियो। उनको पार्थिव शरीरलाई ग्रान्ड मोसल्लाबाट अन्तिम यात्राका लागि अगाडि बढाइएको छ।
यो ऐतिहासिक शवयात्रा तेहरानका प्रमुख मार्गहरू हुँदै करिब १० किलोमिटर लामो गुड्ने छ । अत्यधिक भीडभाड र विशाल जनसहभागिताका कारण यो यात्रा पूरा हुन १० देखि १२ घण्टासम्म लाग्ने अनुमान गरिएको छ । संवेदनशील अवस्थालाई ध्यानमा राख्दै पूरा मार्गभरि सुरक्षाको अत्यन्तै कडा प्रबन्ध मिलाइएको छ।

ऐतिहासिक तथा दुःखद क्षणमा इरानका शीर्ष धार्मिक नेताहरू, उच्च सरकारी अधिकारीहरू, सेनाका वरिष्ठ कमान्डरहरूका साथै ठुलो सङ्ख्यामा सर्वसाधारण नागरिक सडकमा उत्रिएका छन् । खामेनीको ताबुत (शवपेटिका) गुडिरहँदा इरानी नागरिकहरू भावुक बनेका देखिन्छन् ।
अन्तिम संस्कारमा सहभागी हुन देशका विभिन्न भाग तथा विदेशबाट आउने श्रद्धालु एवं उच्चस्तरीय प्रतिनिधिमण्डलको सहजताका लागि इरानी प्रशासनले विशेष व्यवस्था गरेको छ । तेहरानको इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै १९३ वटा विशेष बसहरू तैनाथ गरिएका छन्, जसले पाहुनाहरूलाई समारोह स्थलसम्म पुर्याउन मद्दत गरिरहेका छन्।
तेहरानमा १० किलोमिटर लामो यात्रा र आवश्यक प्रक्रिया पूरा भएपछि खामेनीको पार्थिव शरीरलाई अगाडिको धार्मिक विधि र रीतिका लागि इरानको पवित्र धार्मिक सहर कोम लगिनेछ। त्यहाँ थप धार्मिक अनुष्ठान गरेपछि उनको अन्तिम संस्कार सम्पन्न गरिनेछ।