
विश्व फुटबलमा एउटा रमाइलो घटना भएको छ । खेलकुदमा हार वा जीत स्वभाविक प्रक्रिया हो । तर, कुनै प्रतियोगितामा हार भोगेकै कारण आफ्नै सरकारले खेलाडी र सिङ्गो टोलीमाथि प्रतिशोध साँध्छ भने त्यो स्वाभाविक घटनामा सीमित रहँदैन ।
यस्तै घटना अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताका क्रममा भएको छ । आफ्नो टोली अफ्रिका कप अफ नेसन्सको समूहगत चरणबाटै बाहिरिएको भन्दै गाबोन सरकारले आफ्नो राष्ट्रिय फुटबल टोलीलाई निलम्बन गरेको छ ।
गाबोन सरकारले राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर पियर–एमरिक औबामेयाङ र ब्रुनो इकुएल मंगामाथि प्रतिबन्ध पनि लगाएको छ । विश्व फुटबलकै चर्चित खेलाडीमध्येका एक पियर–एमरिक हाल फ्रान्सेली क्लब मार्सेलीबाट ब्यवसायीक फुटबल खेल्छन् ।
३६ वर्षीय पियर–एमरिक एसी मिलान, मोनाको, आर्सनल, बार्सिलोना, चेल्सीलगायत चर्चित क्लबबाट ब्यवसायीक फुटबल खेलिसकेका खेलाडी हुन् ।
गाबोन सरकारले आफ्नो टोली अफ्रिका कप अफ नेसन्सको समूहगत चरणबाटै बाहिरिएपछि राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक थिएरी मोउमालाई पनि पदबाट बर्खास्त गरेको छ ।
समूहगत चरणको अन्तिम खेलमा आफ्नो टोली आइभरी कोस्टसँग २–३ गोलले पराजित भएपछि गाबोनका खेलकुदमन्त्री सिम्प्लिस–डिजायर माम्बौलाले यस्तो निर्णय लिएका हुन् ।
प्रतियोगिताको समूह ‘एफ’ मा रहेको गाबोनले तीनवटै खेलमा हार भोगेको थियो । गाबोनको टोली पहिलो खेलमा क्यामरुनसँग ०–१ गोलले र दोस्रो खेलमा मोजाम्बिकसँग २–३ गोलले हारेको थियो ।
‘अफ्रिका कम अफ नेसन्समा प्यान्थर्सको लज्जास्पद प्रदर्शनलाई ध्यानमा राखी सरकार प्रशिक्षक, खेलाडी, कर्मचारीलगायतको बारेमा अप्रिय निर्णय लिन बाध्य भएको हो । अर्को सूचना जारी नभएसम्म राष्ट्रिय टोलीलाई पनि निलम्बन गरिएको छ,’ खेलकुदमन्त्रीले भनेका छन् ।
पियर–एमरिक समूहगत चरणको अन्तिम खेलमा मैदानमा ओर्लिएका थिएनन् । उनको तिघ्रामा चोट लागेकाले उनी उपचारका लागि फ्रान्स फर्किएका थिए ।