१० साउन २०८३, आइतबार
रुपन्देहीमा सल्टिएको एमाले विवाद

त्यो ७ घण्टा– त्यसपछि वासुदेवले फेरे मन, विष्णु पौडेलको 'चुनावी कमान्डर' बन्ने

पुस १८, २०८२
बुटवल
त्यो ७ घण्टा– त्यसपछि वासुदेवले फेरे मन, विष्णु पौडेलको 'चुनावी कमान्डर' बन्ने

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विशेष पहलकदमीपछि नेकपा एमालेका निवर्तमान सांसद वासुदेव घिमिरे पार्टी काममा फर्किन सहमत भएका छन् ।

मंगलबार फेसबूकमा स्टाटस लेख्दै पार्टीबाट अलग भएको घोषणा गरेका घिमिरे बिहीबार उपाध्यक्ष पौडेलसँग ७ घण्टा लामो छलफलपछि पार्टीमै रहन सहमत भएका हुन् ।

‘पुराना राजनीतिक दलको मुख्य नेतृत्वले आमजनताको इच्छा र चाहनालाई सम्बोधन गर्न सक्ने अवस्था नदेखिएकाले आजैका दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु,' घिमिरेले फेसबूकमा लेखेका थिए ।

रुपन्देही क्षेत्र नम्बर ५ मा कांग्रेसका प्रभावशाली नेता भरतकुमार शाहलाई झण्डै १० हजार मतान्तरले हराएका तथा तिलोत्तमा नगरपालिकाको मेयर छँदा राम्रो काम गरेर चर्चामा आएका घिमिरेले पार्टी छाड्ने घोषणा गरेपछि स्थानीय पार्टीपंक्ति तरंगित बनेको थियो ।

व्यावसायिक पृष्ठभूमिका नेता समेत रहेका घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जाने र रुपन्देही २ मा विष्णु पौडेलसँगै प्रतिस्पर्धा गर्ने चर्चा पनि भयो ।

एमालेले आफ्नो आधार क्षेत्र मान्ने रुपन्देहीमा पार्टी नेताहरूले एकपछि अर्को गर्दै छाड्न थालेपछि उपाध्यक्ष पौडेल बिहीबार गृहजिल्ला रुपन्देही झरे ।

पौडेल रुपन्देही आउने थाहा समेत नपाएको घिमिरेलाई जिल्लाका नेताहरूले छलफलका लागि तिलोत्तमाका पार्टी कार्यकर्ता कमल पौडेलको घरमा पुर्‍याएका थिए ।

शुरूमा जिल्ला नेताहरूसँग उनको छलफल भयो । त्यसपछि उपाध्यक्ष पौडेलले नेता घिमिरेको असन्तुष्टि र चित्त दुखाइ बुझे । ७ घण्टा लामो छलफलपछि घिमिरेको असन्तुष्टि एक हदसम्म सम्बोधन भयो अनि मिलनबिन्दु खोजियो ।

त्यसपछि उपाध्यक्ष पौडेलले जिल्लाका नेताहरू, आफू र वासुदेव घिमिरेसँगै रहेको तस्वीर पोस्ट गर्दै फेसबूकमा लेखे- 'हामी सँगै छौं' ।

‘पार्टीमा उचित जिम्मेवारी दिने विश्वास दिलाएपछि उहाँ एमालेमा रहन र काम गर्न सहमत हुनुभयो,’ बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने, ‘विष्णु पौडेलसँगको कुरापछि मुस्कानसहित घिमिरेले कार्यकर्ताको मागअनुसार पार्टीमै रहन्छु भन्नुभयो ।’

null

अबको चुनावमा घिमिरे विष्णु पौडेलको चुनावी कमान्डर बन्ने अर्का एक नेताले बताए ।

‘सम्भवत: फागुन २१ को चुनावमा घिमिरे उम्मेदवार बन्नुहुन्न, अर्को चुनावमा मात्र उम्मेदवार बन्नुहुन्छ । अब उहाँ विष्णु पौडेलको चुनावी कमान्डर बन्नुहुन्छ ।’

'भदौ २३ र २४ को घटनाको तत्कालीन सरकारले नैतिक जिम्मेवारी लिनुपर्छ र एमालेको नेतृत्व पुस्तान्तरण हुनुपर्छ भन्ने विषय उठाउँदा उनलाई अवसरवादी र पदलोलुप' भनेर आरोप लागेको थियो । सो कुराबाट घिमिरेले चित्त दुखाएका थिए ।

एमाले रुपन्देहीका पूर्व सचिवालय सदस्य तथा छलफलमा सहभागी नेता देवी वाग्लेले घिमिरे पार्टीमा रहनु समग्र जिल्ला र तिलोत्तमाका लागि सुखद कुरा भएको बताइन् ।

‘तिलोत्तमास्थित कमल पौडेलको घरमा बसेर छलफल गरेका हौं,’ वाग्लेले भनिन्, ‘सबैले कुनै हालतमा तपाईं हामीलाई टुहुरो बनाएर जान हुँदैन भनेपछि उहाँ पनि भावुक हुनुभयो । कार्यकर्ताको भावनाभन्दा बाहिर जादिनँ भन्ने कुरामा मञ्जुर हुनुभयो । मलाई कुनै पद र अवसर चाहिँदैन, एमालेमै रहन्छु भन्नुभयो । दिउँसो १ बजेदेखि ७ बजेसम्म बसेका थियौ ।’

घिमिरे हालै सम्पन्न एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार थिए । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलको टीमबीच प्रतिस्पर्धा हुँदा पौडेलका सारथि घिमिरे ओलीको टीममा पर्न सकेनन् । उनी पराजित भए ।

अर्कातिर रुपन्देही ५ पनि उनका लागि पक्का थिएन । अघिल्लोपटक उम्मेदवार बन्नबाट वञ्चित भएका खिमलाल भट्टराई यसपटक उम्मेदवार बन्ने चर्चा छ ।

यसअघिको चुनावमा पार्टी अध्यक्ष ओलीले घिमिरेको टिकट खोसेर भट्टराईलाई थमाएका थिए । एउटै पार्टीको पत्रमा दुई जनाको उम्मेदवारी दर्ता भएपछि शुरूमा दर्ता भएको आधारमा घिमिरेको उम्मेदवारी सदर भयो ।

उम्मेदवार बन्नकै लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका भट्टराई यत्तिकै थन्किन पुगे । सोही कारण पनि रुपन्देही ५ मा यसपटक भट्टराईले टिकट पाउने सम्भावना प्रबल छ ।

रुपन्देही २ मै उम्मेदवार बन्नेछन् विष्णु पौडेल

विष्णु पौडेल आउँदो फागुन २१ गतेको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट नै उम्मेदवार बन्ने भएका छन् । उनी पाल्पाबाट चुनाव लड्ने चर्चा चले पनि पौडेलले आफू रुपन्देही–२ छाडेर कतै नजाने निकटस्थहरूलाई बताइसकेका छन् ।

'विकासप्रेमी नेताको माग जताततैबाट हुन्छ । माग भयो भन्दैमा आफूले साढे तीन दशकदेखि राजनीति गर्दै आएको र चारपटक चुनाव जितिसकेको क्षेत्र छाडेर अन्यत्र जाने कुरा हुँदैन, नागरिकमा फेरि परीक्षण हुनुहुन्छ,' पौडेल निकट एक नेताले लोकान्तरसँग भने ।

पौडेलले २०६४, २०७०, २०७४ र २०७९ मा रुपन्देही क्षेत्र नम्बर २ बाट निरन्तर चुनाव जितेका छन् ।

योपटक घिमिरे स्वयंले भने आफू उम्मेदवार नबन्ने बताएका छन् । अझै पनि चुनाव लड्छु भनेमा रुपन्देही ३ मा उम्मेदवार बनाउने पौडेलको तयारी छ ।

क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका घनश्याम भुसाल पार्टीमा छैनन् । तिलोत्तमा नगरपालिकामा राम्रो पहिचान बनाएका घिमिरेलाई सोही नगरपालिका समेत पर्ने क्षेत्र भएकाले ३ सहज पनि छ ।

एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेले विष्णु पौडेलको पहलकदमी र सबैसँगको छलफलपछि नेता घिमिरे पार्टीमै सक्रिय हुने बताए ।

यद्यपि, रुपन्देहीबाट पार्टीमा लामो योगदान गरेका नेताहरू समानुपातिक सूचीमा नपरेको र दाङबाट ४ जना समेटिएको विषयले जिल्लामा व्यापक असन्तुष्टि भने कायम छ ।

जिल्ला नेता तथा कार्यकताहरू केन्द्रीय नेतृत्वसँग रुष्ट छन्  ।

रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र र १६ वटा स्थानीय तह छन् । गएको निर्वाचनमा रुपन्देही १ बाट सचिव छविलाल विश्वकर्मा, २ बाट पौडेल र ५ बाट घिमिरे निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर ३ मा पनि एमालेले सघाएका राप्रपा नेता स्व. दीपक बोहोराले जितेका थिए भने क्षेत्र नम्बर ४ मा सर्वेन्द्रनाथ शुक्ला विजयी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्