
ललितपुरको विशंखु नारायणस्थित एक रिसोर्टमा म्यूजिकल पार्टीमा लागुऔषधको कारोबार एवं सेवन गर्ने विदेशी नागरिकसहित ९ जनलाई प्रहरीले पक्राउ गरेको छ ।
‘महामाया मन्त्र इभेन्ट’ नाम दिइएको ७२ घण्टासम्म चल्ने म्यूजिकल पार्टीमा लागुऔषध कारोबार हुने सूचना पाएपछि प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा भारतको केरलाका केभिन जोसेफ, हैदरावादका अभिराज कुथाडी, केरलाका सदिक, अश्विन अन्तु, वैष्णव के शजु, ग्रीसका दिमिट्रिअस कतुस, नेपाली नागरिक चितवनका पुष्पराज परियार, विराटनगरका मनसुन न्यौपाने र काठमाडौं नक्सालका आदित्य अर्याल छन् ।
उनीहरूबाट प्रहरीले लागुऔषध एलएसडी ६ पिस, २२ ग्राम गाँजा, ६१ ग्राम चरेस, एमडिएमए एक पिस, म्याजिक मस्रुम ४ ग्राम बरामद गरेको ब्यूरोले जनाएको छ ।
एसपी शाहीका अनुसार दक्षिण एसियाका विभिन्न मुलुकमा आयोजना हुने अन्डरग्राउण्ड म्यूजिकल पार्टी नेपालमा पनि हुँदै गरेको सूचना पाएपछि प्रहरीले सूक्ष्म निगरानी बढाएर यो समूहलाई पक्राउ गरेको हो ।