
संखुवासभाको खाँदबारी बजारमा रात छिप्पिँदै थियो । बाहिर चिसो स्याँठ चलिरहेका बेला जिल्ला अस्पतालको शल्यक्रिया कक्षभित्र भने एउटा जीवन–मरणको युद्ध चलिरहेको थियो ।
आन्द्रा फुटेर छट्पटाइरहेकी एक महिलाको शरीरबाट अत्यधिक रगत बगिसकेको थियो । ढिलाइ भएको भए उनको प्राण उड्न बेर लाग्ने थिएन । तर, त्यहाँ एउटा यस्तो हात थियो, जसमा सीप मात्र होइन, सेवाको दृढ संकल्प पनि थियो । ती हात थिए– डा. सन्तोष देवका ।
करिब एक घण्टाको अथक प्रयासपछि शल्यक्रिया सफल भयो । जब डाक्टर देव ओटीबाट बाहिर निस्किए, बिरामीका आफन्तका आँखामा आँसु र ओठमा कृतज्ञताको भाव थियो । यही खुसी र आशीर्वाद नै ती ऊर्जा हुन्, जसले उनलाई यो दुर्गम पहाडमा पनि वर्षौँदेखि टिकाइराखेको छ ।
मोरङको रंगेलीमा हुर्किएका सन्तोषको बाल्यकाल हस्पिटलकै सुगन्ध र बिरामीको चित्कारबीच बित्यो । उनका बुबा अहेव थिए । बुवाले बिरामीको सेवा गरेको र उनीहरूको दु:खमा सारथि बनेको देखेरै सन्तोषमा सानैदेखि ‘डाक्टर’ बन्ने सपना बीजारोपण भयो ।
पढाइमा उनी यति तीक्ष्ण थिए कि २०६२ सालको एसएलसीमा रंगेली सेन्टरका ४ हजार विद्यार्थीमध्ये उनी एक्लो ‘डिस्टिङ्सन’ ल्याउने विद्यार्थी बने । ८३ प्रतिशत अंकसहित टप गरेपछि उनको यात्रा काठमाडौंको युनाइटेड एकेडेमी हुँदै छात्रवृत्तिमा एमबीबीएस पढ्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (सम्म पुग्यो ।
उनले चाहेको भए शहरका सुविधायुक्त निजी अस्पतालमा लाखौँको जागिर खान वा सुखद् भविष्य खोज्दै विदेश पलायन हुन सक्थे, तर, उनले सरकारी सेवाको कठिन बाटो रोजे र आफ्नो सीपलाई गाउँका गरिबका लागि समर्पण गर्ने निधो गरे ।
उनको कार्य अनुभव कुनै रोमाञ्चक उपन्यासभन्दा कम छैन । वीर अस्पतालको भीडभाडदेखि मुस्ताङको ठिहीसम्म र ओखलढुङ्गाका भिरपाखादेखि संखुवासभाका कुनाकाप्चासम्म उनको सेतो कोटले धेरैको आँसु पुछेको छ । मुस्ताङमा काम गर्दा उनले भौगोलिक विकटताका अनेकौँ चुनौती सामना गरे । हिमाली भेगमा ‘माउन्टेन सिकनेस’का बिरामीहरूसँग जुध्नु उनको दैनिकी थियो । त्यहाँ कुनै निजी क्लिनिक थिएनन् ।
बिरामीका लागि अन्तिम आश जिल्ला अस्पताल र त्यहाँका डाक्टर हुन्थे । मुस्ताङको एक वर्षले उनलाई डाक्टर मात्र होइन, एक कुशल प्रशासक बन्न पनि सिकायो । जब देश संघीयतामा गयो, उनको समायोजन कोशी प्रदेशको ओखलढुङ्गामा भयो । कोभिड–१९ को महाब्याधि चलिरहेका बेला उनलाई ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु गरी तीन जिल्लाको कोभिड कमाण्डरको जिम्मेवारी दिइयो ।

अक्सिजन अभाव, बिरामीको मृत्युको डर र अनिश्चितताबीच उनले जसरी अग्रपंक्तिमा उभिएर काम गरे, त्यो ती तीन जिल्लाका बासिन्दाका लागि बिर्सन नसकिने गुन बनेको छ ।
हाल संखुवासभा जिल्ला अस्पतालमा कन्सल्टेन्ट जनरल सर्जन तथा कार्यालय प्रमुखका रूपमा कार्यरत डा. देवका चुनौतीहरू पहाडजस्तै अग्ला र अप्ठ्यारा छन् । संखुवासभाको भोटखोला जस्तो दुर्गम हिमाली क्षेत्रबाट बिरामीलाई खाँदबारी आइपुग्नै दुई–तीन दिन लाग्छ । बिरामी जब अस्पताल आइपुग्छन्, उनीहरूको अवस्था निकै नाजुक भइसकेको हुन्छ । ‘हामीसँग अत्याधुनिक उपकरण छैनन्, समयमा गाडीको डेलिभरी र सामान ढुवानी हुँदैन, तर बिरामीको अवस्था यस्तो हुन्छ कि हामीले हुँदैन भन्नै मिल्दैन,’ उनी भन्छन् । अस्ति भर्खरै उनले एउटा जटिल ट्युबल प्रेग्नेन्सी र एपेन्डिक्सको सफल शल्यक्रिया गरें । महिनामा कम्तीमा ४० देखि ५० पटक उनले बिरामीबाट ‘डाक्टर साब, तपाईंले गर्दा मेरो मान्छे बाँचे’ भन्ने कृतज्ञता पाउँछन् ।
कहिलेकाहीँ त खल्तीमा एक सुको नभएका बिरामी आउँछन्, जोसँग घर फर्कने गाडी भाडासमेत हुँदैन । त्यस्तो बेला उनले अस्पतालको सामाजिक सेवा इकाइमार्फत् नि:शुल्क उपचार मात्र गराउँदैनन्, आफ्नो व्यक्तिगत पहलमा उनीहरूको घर फिर्तीको समेत प्रबन्ध मिलाउँछन् ।
तर, यो सेवाको बाटो सधैँ गुलाबको ओछ्यानजस्तो छैन । डा. देवको स्वरमा अलिकति तीतोपन र राज्यप्रति गुनासो पनि सुनियो । दक्ष डाक्टर र नर्सहरू धमाधम विदेश पलायन हुने समस्याले उनलाई चिन्तित तुल्याउँछ । सरकारले तोकेको ५२–५३ हजारको तलबले एउटा विशेषज्ञ चिकित्सकले आफ्नो परिवार पाल्न र थप वृत्तिविकास गर्न कति कठिन हुन्छ भन्ने यथार्थ उनले भोगिरहेका छन् ।

दुर्गममा काम गर्ने विशेषज्ञ चिकित्सकका लागि प्रदेश सरकारले ‘प्रोत्साहन प्याकेज’को कुरा गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदा धेरैको मनोबल गिरेको उनी बताउँछन् । तैपनि, उनी हार मान्ने पक्षमा छैनन् । उनी अहिले संखुवासभामा दूरबिन प्रविधिबाट शल्यक्रिया डायलाइसिस र आँखा उपचार सेवा विस्तार गर्ने योजनामा अहोरात्र खटिएका छन् ।
डाक्टरको काम केवल ओछ्यानमा सुतेका बिरामीको नाडी छाम्नु मात्र होइन, कहिलेकाहीँ त ज्यानकै जोखिम मोलेर सुरक्षाको लडाइँ लड्नु पनि हो । सरकारी अस्पतालमा राति १२ बजे रक्सीले मातेर आउने समूहले डाक्टरलाई थर्काउँदा वा आक्रमणको प्रयास गर्दाको असुरक्षा उनले धेरैपटक महसुस गरेका छन् ।
अस्पतालमा सुरक्षा गार्ड र प्रहरीको उचित व्यवस्था नहुँदा एउटा सर्जनले हातमा औजार समात्नु कि आफ्नो सुरक्षाको चिन्ता गर्नु ? यो प्रश्नले उनलाई बेलाबेला झस्काउँछ । तर, जब बिहान भएपछि निको भएका बिरामी हाँस्दै घर फर्कन्छन्, ती सबै पीडा र थकाइ बिर्सिएर उनी फेरि अर्को शल्यक्रियाका लागि तयार हुन्छन् ।
डा. सन्तोष देव केवल एक सर्जन मात्र होइनन्, उनी संघीयताको कठिन कार्यान्वयनका एक साक्षी र पहाडका गरिबका सारथि पनि हुन् । सीमित बजेट, जनशक्ति अभाव र भौगोलिक विकटताबीच पनि उनी जसरी मुस्कुराउँदै सेवामा तल्लीन छन्, त्यसले मानवता अझै मरेको छैन भन्ने बलियो प्रमाण दिन्छ ।
उनको कथाले राज्यलाई एउटा गम्भीर प्रश्न गर्छ– के डाक्टरको निस्वार्थ ‘सेवा भाव’ मात्रले मुलुकको स्वास्थ्य प्रणाली सधैँ धानिएला ? कि राज्यले पनि उनीहरूको उचित सम्मान, सुरक्षा र सुविधामा ध्यान दिने समय आयो ? खाँदबारीको चिसो रातमा डा. देवको सेतो कोटले दिने न्यानोपन धेरैका लागि जीवनको नयाँ घाम बनेको छ । डा. देवहरू जस्ता समर्पित चिकित्सकहरू पहाडका कुनाकाप्चामा रहुन्जेल, कम्तीमा गरिबले उपचार नपाएर अकालमा ज्यान फाल्नु पर्दैन भन्ने आशा जीवितै रहन्छ । यही आशा नै हाम्रो स्वास्थ्य प्रणालीको सबैभन्दा ठूलो पुँजी हो ।