२८ जेठ २०८३, बिहीबार
महाधिवेशनको किचलो

कांग्रेसमा एकअर्कालाई गलाउने रणनीतिमा संस्थापन र गगन-विश्व, भेटिएला मध्यबिन्दु ?

पुस २०, २०८२
काठमाडौं
कांग्रेसमा एकअर्कालाई गलाउने रणनीतिमा संस्थापन र गगन-विश्व, भेटिएला मध्यबिन्दु ?

‘विशेष कि नियमित’ महाधिवेशन भनेर महिना दिन बढी समय केन्द्रीय समिति बैठकमा बिताएको नेपाली कांग्रेसभित्र यतिबेलाको बहस हो- कांग्रेस फुटबाट कसरी जोगिन्छ ?

कांग्रेसभित्र यतिबेला तीन समूह छन् । पहिलो, सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको नियमित महाधिवेशन पक्षधर । दोस्रो, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेतृत्वको विशेष महाधिवेशन पक्षधर । र, तेस्रो नेता शेखर कोइराला नेतृत्वको मझधारमा रहेको समूह ।

कांग्रेसभित्र अहिले भइरहेको बहस २७ र २८ पुसमा विशेष महाधिवेशन हुन्छ कि हुँदैन भन्ने हो । आमकार्यकर्ता र तल्ला तहका नेताहरूमा विशेष महाधिवेशन भए पार्टी एक ढिक्का रहँदैन कि भन्ने चिन्ता छ ।

संस्थापन पक्ष शुक्रबारको कार्यसमिति बैठकमा बहुमतले पारित गरेको मिति (वैशाख २८-३१ )मा नियमित महाधिवेशन गर्ने पक्षमा छ । गगन-विश्व समूह २७ र २८ पुसमा विशेष महाधिवेशन गर्ने पक्षमा छ ।

शनिबार मात्र आफू निकटलाई भेला गरेर नेता शेखर कोइराला र उनको समूहले मध्यमार्गी बाटो खोज्नुपर्ने बताएको छ । विशेष महाधिवेशन पक्षधरको भावना र मागलाई सम्बोधन गर्दै पार्टीलाई विभाजन हुन दिन नहुने पक्षमा यो समूहले धारणा बनाएको केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल बताउँछन् ।

null

के गर्दैछ विशेष महाधिवेशन पक्षधर समूह?

अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेर विशेष महाधिवेशन पक्षधर नेताहरू महाधिवेशन प्रतिनिधिहरूसँग सम्पर्क गर्न लागिपरेका छन् ।

विशेष महाधिवेशनको ‘डकुमेन्ट’मा महामन्त्री गगन थापाले काम गरिरहेका छन् । अन्य व्यवस्थापकीय जिम्मेवारी विश्वप्रकाश शर्माले सम्हालेका छन् । केही युवाहरू आइतबार आयोजना स्थल भृकुटीमण्डप पुगेर हलको व्यवस्थापनलगायत कार्यमा अघि बढेका छन् ।

विशेष महाधिवेशन पक्षधर नेता डिल्ली सुवेदीका अनुसार आन्तरिक र प्राविधिक तयारी व्यापकरूपले अघि बढेको छ । अर्का नेता मनोजमणि आचार्यका अनुसार फरक-फरक समूहमा छलफल गर्ने काम भइरहेको छ ।

खासगरी प्रदेशगत छलफल गर्ने र जिम्मेवारी तोकेर सम्बन्धित प्रदेशका महाधिवेशन प्रतिनिधिहरूलाई फोन गर्ने, युवा, महिला, जेनजी, दलितजस्ता क्लस्टर छुट्याएर छलफल गर्ने काम भइरहेको छ ।

‘हामी वार्मअप तयारीमा छौं,’ आचार्यले भने ।

नियमित महाधिवेशन नभएको अवस्थामा विशेष महाधिवेशन सभापति शेरबहादुर देउवाले नै उद्घाटन दाबी आचार्य गर्छन् ।

केन्द्रीय कार्यसमितिले निर्णय गरेर २७ र २८ मा विशेष महाधिवेशन हुनेमा आफूहरू आशावादी रहको उनले बताए ।

यो समूहमा पनि विशेष महाधिवेशनले पार्टीलाई दुर्घटनामा पुर्‍याउने डर भने विद्यमान छ । अझै पनि संस्थापनसँग छलफल हुन्छ र मध्यबिन्दु खोजिन्छ भन्नेमा केही नेता आशावादी देखिन्छन् ।

 ‘लर्तादै हामीले यहाँसम्म ल्याइपुर्‍याएका छौं । विभाजनसम्म पुग्छ कि भन्ने डर हामीलाई पनि छ,’ समूहका एक नेता भन्छन् ।

समूहका एक नेता मध्यबिन्दुको खोजीमा दुवै पक्षका नेताहरू लाग्नुपर्ने धारणा राख्छन् । मध्यबिन्दु भनेको नीति, विधान र संस्थागत संरचना परिवर्तनको बहस हुने भन्ने समूहभित्रको बुझाइ रहेको ती नेता बताउँछन् ।

‘भीड र परिस्थितिले कहाँ पुर्‍याउँछ भन्ने डर छ । पार्टी कमजोर हुने र विभाजनसम्मको भारी पनि बोक्नुपर्ने डर पनि छ,’ ती नेता भन्छन्, ‘मध्यबिन्दु खोज्नै पर्‍यो । यसमा शेरबहादुर दाइहरू पनि सजग हुनुहुन्छ ।’

null

महामन्त्री गगन थापा विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने दाबी गर्छन् । विशेष महाधिवेशन विधानको धारा १७(२) को अधिकार भएको भन्दै उनी विधान कार्यान्वयन गर्दा पार्टी विभाजन नहुने दाबी गर्छन् ।

 ‘म अर्को महामन्त्री (विश्वप्रकाश शर्मा) को समेत ग्यारेन्टी लिएर भन्छु पार्टी फुट्दैन, हामी पार्टी फुट्न दिँदैनौं,’ महामन्त्री थापा भन्छन् ।

यता, शनिबार मात्र भेला गरेर नेता शेखर कोइराला समूहले पनि महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनको मागका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ, आगामी आमनिर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरेको छ ।

‘स्पष्ट छ, पार्टीले कल गरे मात्र विशेष महाधिवेशनमा हामी जान्छौं,’ शेखर निकट एक पदाधिकारी भन्छन् ।

उनी अहिलेको अवस्थामा विशेषको मतलाई समेत मूल्यांकन र आत्मसाथ गरेर मध्यबिन्दुमा पुग्ने कसरत भइरहेको बताउँछन् ।

‘विशेष पक्षधर नेताहरूले यसलाई मिलाउनुपर्‍यो, मध्यमार्गी बाटोमा जानुपर्छ भन्न थाल्नुभएको छ,’ अर्का एक नेता भन्छन्, ‘चिन्ता र चासो सबैलाई छ । मध्यमार्गको खोजी भइरहेको छ ।’

संस्थापन पनि तनावमा- बोलाइयो केन्द्रीय कार्यसम्पादन

यो विषयले संस्थापन समूहभित्र पनि तनावकै वातावरण सिर्जना भएको छ ।

वैशाख अन्तिममा महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरे पनि विशेषको तयारी तीव्र गतिमा अघि बढेपश्चात तनाव संस्थापनमा पनि शुरू भएको हो ।

सभापति शेरबहादुर देउवाले यो बीचमा कार्यवाहक सभापति तथा निकट नेताहरूसँग पटक-पटक छलफल गरेका छन् । यस्तै, उनले आइतबार मात्र आफूनिकट पदाधिकारी, पूर्व पदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् ।

छलफलपश्चात कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले दिएको जानकारी अनुसार विशेष महाधिवेशनलाई पार्टी कार्यसम्पादन समितिले स्पष्ट रूपमा रोकेकाले देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन अनुरोध गर्ने निर्णय भएको छ ।

‘काठमाडौं नआउन र निर्वाचनमा होमिन अनुरोध गर्ने कुरा भयो,’ उनले भने ।

निधिको भनाइलाई आधार मान्दा संस्थापनले विशेष महाधिवेशन पक्षधरलाई गलाउने रणनीति लिएको छ । समूहकै अर्का नेता सहमहामन्त्री महेन्द्र यादव विशेष महाधिवेशनको औचित्य नै पुष्टि नहुने दाबी गर्छन् ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकले नै वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरेपश्चात विशेष महाधिवेशन औचित्यहीन बनिसकेको भनाइ उनको छ ।

null

कांग्रेस नफुट्ने र एक ढिक्का हुने दाबी यादवले गरे । विशेष महाधिवेशन पक्षधरको भेलालाई उनी गुट भेलाको संज्ञा दिन्छन् ।

 ‘पार्टीले विशेष नगर्ने निर्णय गरेको छ । उहाँहरूको भेला भए त्यसलाई पार्टीले चिन्दैन,’ यादव भन्छन्, ‘गुटले भेला गर्न पाइयो नि ! कसैले आफ्नो तागत देखाउन गर्ने भेलालाई पार्टीले चिन्दैन ।’

यसैबीच, संस्थापनपक्षीय नेताहरूको आइतबारको छलफलपश्चात सोमबार दिउँसो १ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठकमा पनि मध्यबिन्दुको खोजी हुने र विशेषलाई कसरी रोक्ने भन्ने विषयमा छलफल हुने एक नेता बताउँछन् ।

लामो रस्साकस्सीपश्चात् १५ मंसिरमा बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ सम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो । तर, कार्यतालिका अनुसार पार्टी अघि बढ्न सकेन । हालसम्म क्रियाशील सदस्यता नै पार्टीमा फाइनल हुन सकेको छैन । यस्तो अवस्थामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख २६ देखि २९ सम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई चित्त नबुझाएका महामन्त्रीद्वय र केही कार्यसम्पादन समिति सदस्यहरूले विशेष महाधिवेशन गर्ने भन्दै नोट अफ डिसेन्ट लेखेका छन् । तीन महिनाअघि २ हजार ८४४ जनाले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए ।

यही पुस मसान्तसम्म त्यो विशेष महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ । १० पटक संशोधन भएको नेपाली कांग्रेसको विधानको धारा १७(२) मा विशेष माग राखेर ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरमा विशेष महाधिवेशन बोलाउन पाउने व्यवस्था छ ।

माग भएको तीन महिनाभित्र विशेष बोलाउनुपर्ने विधानको व्यवस्था कार्यान्वयन गर्नुपर्ने भन्दै पार्टीसँग आस्थावान् कानूनविद्हरूले पनि तर्क राख्दै आएका छन् ।

अर्कातिर भने विशेष महाधिवेशन गरे पार्टी फुट्छ भन्ने पनि बहस कांग्रेसभित्र छ । संस्थापन र विशेष पक्षधर एकअर्कालाई गलाउने रणनीतिमा व्यस्त रहेका बेला कांग्रेसका मध्यबिन्दुको खोजी समेत भइरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्